राजनीति


प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै

नेपालखबर
साउन ३, २०७८ आइतबार ९:५६,

प्रधानमन्त्री शेरबहादुुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। 

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। 

संसद सचिवालय स्रोतका अनुसार सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ। 

सर्वाेच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्ति गरेकी हुन्।

देउवा एमालेको माधव नेपाल तथा जसपाको उपेन्द्र यादव पक्षका समेत बहुमत १४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। तर अहिले उनले बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पद स्वतः खारेज हुन्छ र कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनेछन्। 

देउवा सरकार गठनका अन्तिम उपधाराबाट प्रधानमन्त्री बनेकाले अब उनी विश्वासको मत लिन असफल भए उनैले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ।  

तर आन्तरिक विवादका बाबजुद एमालेको नेपाल तथा जसपाको यादव पक्ष आफ्नो पहिलेकै अडानमा अडिग रहेकाले देउवाले विश्वासको मत पाउने सम्भावना प्रबल देखिएको छ।  

प्रतिनिधि सभामा बहुमत सांसदबाट विश्वासको मत पाए भने देउवाले प्रतिनिधि सभाको पूरा कार्यकाल (५ वर्षको बाँकी) नियमित सरकारको नेतृत्व गर्न पाउनेछन्।

यस हिसाबले ओलीले झन्डै साढे ३ वर्ष सरकार चलाइसकेकाले बाँकी डेढ वर्ष देउवाले निरन्तरता पाउनेछन्। त्यसपछि त स्वतः चुनाव हुने नै छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad