राजनीति


को बन्ला परराष्ट्रमन्त्री?

को बन्ला परराष्ट्रमन्त्री?

प्रशान्त लामिछाने
असार ३१, २०७८ बिहिबार १५:८,

आफूसहित पाँच सदस्यीय प्रारम्भिक मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य मन्त्रालय बाँडफाँटको टुंगो लगाइसकेका छैनन्। 

महत्त्वपूर्ण मन्त्रालय मानिएको गृहमा आफ्ना विश्वासपात्र बालकृष्ण खाँणलाई पठाएका देउवा मन्त्रिमण्डलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र जनार्दन शर्माले अर्थ मन्त्रालय सम्हालेका छन्। 

कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की कानुन मन्त्री छन् भने माओवादी केन्द्रका पम्फा भुसाल उर्जा मन्त्री छन्। 

अर्को प्रमुख सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) सरकारमा गइसकेको छैन। जसपा भित्रको विवादको विषयमा निर्णय गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ। सम्भवत साउन ३ गते इजलासले निर्णय सुनाउने छ।

जसपाले सरकारमा को को पठाउने भन्ने विषयमा आयोगको निर्णय कुरिरहेको छ। अर्को सत्ताको सारथी राष्ट्रिय जनमोर्चाले तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ भने एमालेको माधव नेपाल समूह सरकारमा सहभागी हुने अहिले निश्चित छैन।

महत्त्वपूर्ण मन्त्रालयमा पार्टी र त्यसका नेताहरुले आँखा लगाउनु स्वभाविक हो। नेपालको भूराजनीतिक अवस्थाका कारण परराष्ट्र मन्त्रालयमा को जान्छ भन्ने विषयले विशेष महत्व राख्छ। 

कांग्रेस नेताहरूका अनुसार प्रधानमन्त्री देउवा परराष्ट्रमा उत्तर – दक्षिण अर्थात् चीन र भारतसँग विश्वासमा काम गर्न सक्ने सक्ने व्यक्तिलाई पठाउन चाहन्छन्। ती नामहरुको बारे आन्तरिक र बाह्यरुपमा समेत चर्चा भइरहेको छ।  

प्रधानमन्त्री देउवाको सत्तारोहणसँगै उत्तर – दक्षिण भूराजनीतिक सन्तुलन मिलाउने एउटा प्रमुख चुनौति पनि छ। 

नेपालमा प्रधानमन्त्री नियुक्त हुनासाथ बधाई ज्ञापन दिन हतार गर्ने दुई छिमेकी चीन र भारतबाट औपचारिकरुपमा देउवाले बधाई प्राप्त गरिसकेका छैनन्। 

यस अघि चौथो पटक देउवा प्रधानमन्त्री हुँदा भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन र समाजिक संजालमार्फत उनलाई बधाई दिएका थिए। तर यो पटक भने भारतीय राजदूत विनय मोहन क्वात्र देउवा निवासमा पुगेर वधाई दिएपनि मोदीबाट पहिलेजस्तो बधाई आइसकेको छैन। 

भूराजनीतिक अवस्थाका कारण परराष्ट्र मन्त्री को बन्नछ भन्ने चासो काठमाडौंमा बढी हुनु स्वभाविक हो। यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक परराष्ट्रबाट प्रदीप ज्ञवालीलाई हटाएर व्यापारिक पृष्ठभूमिका रघुवीर महासेठलाई ल्याएका थिए। तर अदालतको आदेशका कारण त्यो धेरै दिन टिक्न सकेन। 

देउवा मन्त्रिमण्डलमा पनि अर्बपती बिनोद चौधरीदेखि, जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता डा. नारायण खड्कासम्मको परराष्ट्र मन्त्रीमा चर्चा छ। 

चौधरीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहेको मानिन्छ। भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समयमा पनि चौधरीले भारतका धार्मिक गुरु रवीशंकर मार्फत् प्रधानमन्त्री मोदीलाई भेटेर कुराकानी गरेका थिए। 

अहिले पनि मोदीको नेतृत्वमा रहेको भारत सरकारसँग सम्बन्ध सुमधुर बनाउने देउवाको चाहना छ। त्यसका लागि चौधरी उपयुक्त हुनसक्ने देउवाको ठम्याई रहेको निकट स्रोतहरु बताउँछन्। 

कांग्रेस सांसद चौधरी निकट स्रोतहरूका अनुसार उनले सकेसम्म अर्थ र त्यो नभए परराष्ट्र मन्त्रालयमा जान आफ्नो तर्फबाट प्रयास गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत राम्रो सम्बन्ध भएका चौधरीले अर्थमा जनार्दन शर्मा आएपछि परराष्ट्र ताकेका हुन्।    

उता नेपाली कांग्रेस भित्रको एउटा खेमाको भने डा. नारायण खड्कालाई परराष्ट्रमा लैजानु पर्ने मत छ। बौद्धिक नेताको छवी बनाएका खड्काले परराष्ट्रमा सन्तुलन मिलाउन सक्ने उनीहरुको मत छ। तर कांग्रेसभित्रकै अर्को पक्ष भने अमेरिकासँग राम्रो सम्बन्ध भएको मानिएका खड्काले भारतको मोदी सरकारसँग सम्बन्ध सुधार गर्न नसक्ने ठान्छ।      

यता जसपा अध्यक्ष उपेन्द्र यादवले पनि उपप्रधानसहित परराष्ट्रमा जाने चाहना राखेका छन्। तर उनलाई परराष्ट्र भन्दा भौतिक योजना मन्त्रालय दिने तयारी देउवाले गरिरहेको बताइन्छ। 

दक्षिणसँगको समबन्ध सुमधुर बनाएर अघि बढ्ने अवसरको रुपमा यादवले परराष्ट्रलाई हेरिरहेको उनी निकट नेताहरु बताउँछन्।  
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .