राजनीति


नेकपा सचिवालय बैठक सम्पन्न : के-के गर्‍याे निर्णय?

नेकपा सचिवालय बैठक सम्पन्न : के-के गर्‍याे निर्णय?

नेपालखबर
असोज २९, २०७६ बुधबार ५:३,

पार्टी एकता प्रक्रियालाई पूर्णता दिन तथा मन्त्री हेरफेर विषयमा छलफल गर्न बालुवाटारमा जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक केहीबेरअघि सकिएको छ।

बैठकले पार्टीको संगठन विभागमा तीन जना थप गरेको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले दिएको जानकारीअनुसार बैठकले संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी थप गरेको हो।

यसअघि संगठन विभागमा प्रमुख वामदेव गौतम र उपप्रमुख जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए। तीन सदस्य थपिएसँगै नेकपाको संगठन विभाग ५ सदस्यीय बनेको छ। यसले पूर्णता पाउन अझै बाँकी रहेको प्रवक्ता श्रेष्ठले बताए।

यस्तै नेकपा सचिवालय बैठकले पार्टीले आगामी मंसिरमा हुने प्रनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्रस्तरको कमिटी र जिल्ला कमिटीसँग परामर्श गरी ३ जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिइएको हो।

निर्वाचन क्षेत्रिय कमिटी नबनेका स्थानमा जिल्ला कमिटीले सिफारिस गर्ने तथा प्रदेशसभाको सदस्यको हकमा पनि त्यही कुरा लागू गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘नेकपा स्थानीय नगरपालिका वा गाउँपालिकाहरूको मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष उम्मेदवारका लागि भने सम्बन्धित गाउँ वा नगर कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ,’ उनले भने।

यस्तै वडाको हकमा सम्बन्धित वडा कमिटी वा गाउँ नगरकमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने गरी बैठकले निर्णय गरेको उनले बताए।

तर मन्त्री हेरफेरका विषयमा के छलफल भयो भन्नेबारे भने प्रवक्ता श्रेष्ठले केही खुलाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad