पहिले कार्यदलको बैठक बोलाएर सहमतिको प्याकेज ल्याउने कि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने भन्ने विषयमा एमालेका दुई समूहबीच कुरा मिल्न सकेको छैन।
प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गराएपछि निष्क्रिय बनेको एमाले कार्यदलको बैठक बोलाएर समस्या समाधानको पहल थाल्नुपर्ने नेपाल समूहको अडानमा ओली समूह सहमत हुन सकेको छैन।
ओली समूहले भने पहिले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचमा संवाद भएपछि मात्रै कार्यदलको बैठक बोलाउन सकिने बताएको छ।
आइतबार रातिको भेटवार्तामा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री ओलीसँग कार्यदललाई सक्रिय बनाएर बैठक बोलाउन आग्रह गरेका थिए। तर प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिएपछि मात्रै अरू विषयमा सोच्न सकिने जवाफ दिएका थिए।
‘भीम रावलसँगको भेटमा पनि प्रधानमन्त्रीले त्यही हस्ताक्षरको कुरा निकाल्नुभएछ, त्यसबाहेकका विषयमा कार्यदलमै बसेर प्याकेजमा सहमति खोजौं भन्ने हाम्रो प्रयास हो,’ नेपाल समूहका एक नेताले नेपालखबरलाई बताए।
आइतबार साँझ ओलीसँग कुराकानीपछि एमाले उपाध्यक्ष रावल वरिष्ठ नेता नेपाल भेट्न सोमबार बिहान उनकै निवास (कोटेश्वर) पुगेका थिए। नेपाल र रावलबीच पहिले कार्यदलले सहमतिको प्याकेज ल्याएपछि मात्रै ओली र नेपालबीच भेटवार्ता हुन सक्ने विषयमा छलफल भएको थियो।
‘उहाँहरूले केपीजी र माधवजीका बीचमा छलफल भएपछि मात्रै कार्यदलको बैठक बोलाउनुपर्ने सर्त राख्नुभएको छ, कार्यदलले सहमतिको प्याकेज तयार पारेपछि मात्रै शीर्ष नेताहरूलाई जुटाऔं भन्ने हाम्रो राय हो,’ नेपालनिकट स्रोतले नेपालखबरस्रँग भन्यो, ‘कार्यदलको बैठक पहिले बस्ने कि नेता द्वयलाई जुटाउने भन्नेमा कुरा मिलेको छैन।’
ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेपाल र ओलीबीच संवाद गराउने प्रयास आज पनि जारी रहेको जानकारी दिए।
‘हिजो (आइतबार) बिहान गएर माधव कमरेडलाई भेटियो, साँझ प्रधानमन्त्री र भीमजीका बीचमा कुरा भयो, अहिले पनि हामीहरूका बीचमा बाक्लै टेलिफोन कुराकानी भइरहेको छ,’ नेम्वाङले भने, ‘नेताद्वय कि त बस्नुहुन्छ या फोनमा कुरा गर्नुहुन्छ,त्यसपछि मात्रै कार्यदलको बैठक बोलाउन सकिन्छ।’
पार्टी एकीकरणका लागि भन्दै वैशाख अन्तिम साता बनेको कार्यदल प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गराएपछि स्वतः निष्क्रिय भएको थियो। लगत्तै ओलीले नेपाल पक्षबाट कार्यदलका सदस्य भीम रावललाई कारबाही गरेपछि कार्यदल भाँडिएको थियो।
Shares

प्रतिक्रिया