आज तिहारको लक्ष्मीपूजा। गाउँदेखि सहरसम्म फूल र बत्तीले हरेक घर सजाइएको छ। दीपावलीले काठमाडौं उपत्यकालगायत प्रमुख सहर झिलिमिली बनेको छ।
सहरका व्यापारिक कम्प्लेक्स झिलिमिली बत्तीबाट सजिएका छन्।उज्यालोले घरबाहिरको वातावरण नै आज उल्लासमय बनेको छ।
व्यापारिक क्षेत्रमा तिहारको किनमेलका लागि सर्वसाधरणको घुइँचो लागेको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ।
सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रुपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन्।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको छ। घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरिएका छन्।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाँड यमपञ्चक अर्थात् तिहार मङ्गलबारदेखि सुरु भएको हो। चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ।





















Shares

प्रतिक्रिया