यही मंगलबार मोरङको उर्लाबारी नगरपालिका-१ चारघरेस्थित झारसाँदीमा भेटिएको हिउँ चितुवालाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा राखिएको छ।
समुन्द्री सतहबाट २,००० देखि ६,००० मिटर उचाइमा पाइने हिउँचितुवा मोरङको उर्लाबारीमा भेटिएपछि वन्यजन्तुविद् र संरक्षणकर्मीले आश्चर्य व्यक्त गरेका थिए। मोरङको उर्लाबारी समुद्री सतहबाट १४६ मिटर उचाइमा छ। जहाँ चर्को गर्मी हुन्छ।
मंगलबार दिउँसो मोरङको उर्लाबारीमा भेटिएको भाले हिउँ चितुवालाई चिडियाखानामा राखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी एवम् वरिष्ठ इकोलोजिस्ट श्याकुमार सिंहले बताएका छन्।
वरिष्ठ इकोलोजिस्ट सिंहले उर्लाबारीको बाँसझ्याङमा भेटिएको उक्त हिउँ चितुवाको पछाडिको बाँया खुट्टा टेक्न असहज भएको अवस्थामा भेटिएको बताए।
उनका अनुसार चितुवाको बाहिरी कुनै किसिमको चोट छैन। चितुवाको अवस्था समान्य छ। सिंहले पाटे बाघको बासस्थान रहने उचाइमा हिउँ चितुवा देखिनु अस्वभाविक र अनुसन्धानको विषय बनेको बताएका छन्।
कहाँ पाइन्छ?
नेपालमा हिउँ चितुवा पूर्व कन्चजंघादेखि पश्चिम अपि नम्पा संरक्षण क्षेत्रसम्मका हिमाली क्षेत्रमा पाइन्छ।
नेपाल लगायत मध्य तथा दक्षिण एसियाका १२ वटा देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य श्रृंखलाको उच्च तहमा रहेको प्रजाति हो।
विश्वमा ५००० मिटर देखि ५८०० मिटरको उचाइमा हिउँ चितुवा बस्छ। नेपालमा हिउँ चितुवा २ हजार मिटरदेखि ६ हजार मिटरसम्मको उचाइमा पाइएको सिंहले बताए।
हिमाली क्षेत्रका १२ वटा संरक्षित क्षेत्रहरू तथा आसपासका भूगोलमा रहेको करिब १२,८१५ वर्ग किलोमिटर हिउँ चितुवाको सम्भावित बासस्थान हो।
विश्वमा यसको अनुमानित संख्या ३९२१ देखि ६२९० रहेको सिंहले बताए। नेपालमा हिउँ चितुवा ३०१ देखि ४०० सम्म रहेको अनुमान गरिएको उनले बताए। हिउँ चितुवा विश्व र नेपालमा पनि संरक्षित जंगली जनावरमा पर्छ।
Shares
प्रतिक्रिया