नेपालगञ्ज अहिले एकदमै अस्तव्यस्त छ। संक्रमण पुष्टि भएकाहरुलाई भएकाहरुलाई व्यवस्थापन गर्न नपाउँदै अर्को रिजल्ट आउँछ। यति धेरै संख्यामा आउँछ कि २३ वटै वडामा खटिएका हाम्रा स्वास्थ्यका कर्मचारीहरुलाई भ्याइनभ्याइ हुन्छ।
रेकर्ड निकाल्दै गर्दा कुन बिरामी कति गम्भीर हुनुहुन्छ भन्ने थाहा हुँदैन। गम्भीर बिरामीलाई तुरुन्त अस्पताल पठाउनु पर्ने हुन्छ। तर, अस्पतालमा ठाँउ नहुँदा पर्खिनु पर्ने अवस्था छ।
कतिपय अवस्थामा पर्खिंदापर्खिंदै संक्रमितको ज्यान गएको छ। समयमा उपचार नपाउँदा धेरैको ज्यान गइसकेको छ। भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजका बेडले पुगिरहेको छैन।
बिरामीहरु अस्पताल पुग्दा कोही मर्ला र मलाई बेड देलान् भन्नुपर्नेसम्मको अवस्था सिर्जना भएको छ। पहिले एकले दुईलाई सार्थे भने अहिले एकले १० लाई सारिरहेको अवस्था छ। संक्रमण समुदायस्तरसम्म फैलिइसकेको छ।
अहिले परीक्षण गरेका ९३ प्रतिशतमा कोरोना देखिइरहेको छ। यो खालको विकराल अवस्था छ। हामीसँग जे जति स्रोत, साधन र जनशक्ति थियो, त्यसले पुगेको छैन।
२० दिन पहिलेसम्म अवस्था सामान्य नै थियो। अस्पतालहरुले बिरामी धान्न सक्ने स्थिति थियो। तर, त्यसपछि संक्रमितको संख्या १० बाट २०, २० बाट ३० हुँदै दिनदिनै थपिन थाल्यो। हामीले जिल्लामा छलफल गर्यौँ। त्यतिबेला भारतका धेरै ठाउँमा कोरोना संक्रमण भयावह भइसकेको थियो। सीमा–नाकाको कुरा पनि त्यतिबेला हाम्रो छलफलमा उठ्यो। त्यतिबेला नै हामीले भएका स्रोतसाधनले थेग्न नसक्ने अवस्था आउन सक्छ, त्यसो भयो भने हामीले संघ र प्रदेशलाई नै गुहार्ने हो भनेर ध्यानाकर्षण पत्र पठाएका हौँ। तर उहाँहरुले वास्ता गर्नु भएन।
हामीले सक्नेसम्म थेग्दै गयौँ, तर एक हप्ता अगाडिबाट हामीले थेग्न सकेनौँ र स्थिति विस्फोट भएको हो।
पहिले एकजना पोजिटिभ देखिएपनि कन्ट्याक ट्रेसिङमा परेका थोरैमा मात्रै संक्रमण देखिन्थ्यो। तर अहिले ट्रेसिङमा परेका सबैजसोमा संक्रमण देखिइरहेको छ। पहिले गम्भीर बिरामी परेकालाई पनि रेम्डिसिभिर दिएर, अक्सिजन र प्लाज्मा दिएर उपचार गर्दा सन्च भएर घर फर्किने स्थिति थियो। त्यतिबेला उपचारले पनि काम गरेको थियो। तर, अहिले यस्ता उपचारले पनि काम गरिरहेको देखिँँदैन।
रेम्डिसिभिरले पनि काम गरिरहेको छैन, प्लाज्माले पनि काम गरिरहेको छैन। पहिले २ प्लस एन्टिबडी भएपछि प्लाज्मा दिने गरिन्थ्यो र त्यसले काम पनि गर्थ्यो। तर अहिले यसले काम नगरेपछि अस्पतालहरुले एन्टिबडी ५ नहुँदासम्म प्लाज्मा नदिने भन्न थालेका छन्। चिकित्सकहरुले रेम्डिसिभिरको कामै छैन भन्न थालिसके।
अस्ति स्वास्थ्य मन्त्रालयबाट विशेषज्ञ टोली आएको थियो। उहाँहरुलाई हामीले क्षमताभन्दा बढी प्रयास गरिरहेका छौँ, तैपनि केही प्रभाव देखिएको छैन भन्यौँ। हामीले रोग लाग्न नदिने पाटोमा काम गर्ने हो। रोग लागिसकेपछि हामीले सक्दैनौँ। तपाईंहरुको विज्ञता देखाउनुस् भनेर अनुरोध गर्यौँ।
अहिले स्थानीय प्रशासन, स्थानीय तह सबै पहिलेभन्दा बढी खटेका छन्। पहिले यही टिमले काम गर्दा प्रभाव देखिइरहेको थियो, अहिले छैन।
यसअघि नेपालगञ्ज उपमहानगरपालिकासहित ७ वटै पालिकाले अक्सिजनसहितको ८० बेडको आइसोलेसन वार्ड तयार गरेका थिए। यहाँका उद्योगी, व्यापारी र नगरपालिका मिलेर अर्को पनि ८० वार्डको कोभिड वार्ड बनाइएको छ। यी दुई वटा वार्ड अहिले प्रयोग भइरहेको छ। हामीले बनाएको बेड १४० वटा थियो। यसले पनि नपुगेपछि अस्पतालले थपेर २०० बेडमा उपचार गराइरहेको छ।
तर, जनशक्ति कम छ। पहिले ४०–५० जना जति मात्रै थिए। मन्त्रालयले अहिले फेरि दिन्छौँ भनेको छ।
देशका अन्य कुनै पनि अस्पतालमा एक सयभन्दा बढी कोभिड वार्डका लागि छुट्याएर उपचार गरेको अवस्था छैन। तर यहाँ भेरी अस्पतालमा २ सय र मेडिकल कलेज कोहलपुरमा अढाई सय गरेर साढे चार सय बेडको कोभिड वार्ड सञ्चालनमा छन्। तर त्यसले पनि पुगिरहेको छैन।
यहाँ स्रोतसाधन पर्याप्त मात्रामा देखिन्छ। तर, बिरामीको संख्या अत्यधिक भएकाले व्यवस्थापनमा समस्या भइरहेको छ।
अस्पतालमा भएका सबै बेड अक्सिजनसहितकै हुन्। तर, अक्सिजन चाहिने अवस्थाका थुप्रै बिरामीले भर्ना पाउन सकेका छैनन्।
अस्ति जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठक बसेर प्रत्येक पालिकाले २० देखि ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउने भन्ने निर्णय भएको छ। अहिले बाँके जिल्लामा ३ सय बेडको आइसोलेसन बनाउने क्रममा छौँ। नेपालगञ्ज उपमहानगरपालिकाले पनि अक्सिजनसहितको ५० बेडको आइसोलेसन वार्ड बनाउँदैछ। हामीले सिलिन्डर नपाएका कारण समस्या भएको हो। नभए हामीले पहिले नै सुरु गथ्र्यौं। हिजो हामीलाई एउटा संस्थाले २० वटा सिलिण्न्डर खरिद गरेर हस्तान्तरण गरेको छ। हामीले अन्य ठाउँबाट पनि सहयोग मागिरहेका छौँ। हामीलाई जे चाहिने त्यो बजारमा पनि पाइरहेका छैनौँ। अक्सिजन पर्याप्त मात्रामा छ, तर सिलिन्डर छैन।
सिलिन्डर भएपछि आइसोलेसनका बिरामीलाई पनि अक्सिजन दिन्छौँ। अक्सिजनबाहेकको उपचार गर्नु पर्यो भनेचाहिँ अस्पतालसँग समन्वय गरेर अस्पताल पठाउँछौं। अक्सिजनबाहेकको उपचार आवश्यक नपर्नेलाई पालिकाका वार्डमा सार्ने र उपचार आवश्यक पर्नेलाई अस्पतालमा भर्ना गर्ने गरी निर्णय भएको छ।
सीमा–नाकामा हेल्थडेस्क र होल्डिङ सेन्टर सञ्चालनमा छन्। त्यहाँ भारतबाट आउने सबैको स्वास्थ्य जाँचबुझ गर्छौं। ज्वरो नाप्ने र स्वास्थ्यमा कुनै समस्या छ छैन भनेर सोध्ने, यदि कसैलाई समस्या देखियो भने त्यहीँ एन्टिजेन्ट टेस्ट गर्छौं। कुनै समूहको एक जनालाई पोजिटिभ देखियो भने सबैको परीक्षण गर्छौं।
त्यहाँ पोजिटिभ देखियो भने नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा राख्छौं। जसको पोजिटिभ देखिँदैन उहाँहरुलाई यातायात व्यवसायीसँग समन्वय गरेर आफ्नो जिल्लातर्फ पठाउँछौं। नाकामा कडाइ छ, प्रत्येक व्यक्तिको डाटा लिने काम पनि अगाडि बढिरहेको छ।
जब हाम्रोमा एक्कासि ४० जना बिरामी देखिएका थिए, त्यतिखेर नै हामीले केन्द्र र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थियौँ। तर उहाँहरुले त्यतिबेला ध्यान दिनु भएन। जब यहाँ हाहाकार भयो अनि बल्ल उहाँहरुको कानमा हाम्रो कुरा पुग्यो। अनि उहाँहरु आउनु भयो र केही बजेट पनि निकासा गरिदिनु भएको छ। नगरपालिकालाई हेल्थ डेस्क सञ्चालन गर्ने भनेर १५ लाख रुपैयाँ दिनु भएको छ।
अस्पताललाई जनशक्ति व्यवस्थापनका लागि थप रकम दिनु भएको छ। अरु पनि सहयोग गर्छौं भनेर आश्वासन दिनु भएको छ, अहिलेसम्म प्राप्त भइसकेको चाहिँ छैन।
आइसोलेसनमा राखेको बिरामीको प्रत्येक व्यक्तिबराबर दुई हजार रुपैयाँको दरले सहयोग गर्छौं भनेर पत्र पठाउनु भएको छ। स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठसहितको टोलीले हामीलाई यी सबै आश्वासन दिएर गएको छ।
पछिल्लो चरणमा सहयोग भइरहेको छ। यो सहयोग सुरुमै गरिदिएको भए अहिलेको अवस्था आउने थिएन। अहिलेचाहिँ उहाँहरु पनि तात्तिएको देखिन्छ।
यहाँको अवस्था अहिले पनि नियन्त्रण उन्मुख छैन। त्यसको कारण खोजी गर्न जरुरी छ। एक हप्ता अगाडि हामीले नेपालगञ्जमा मात्रै निषेधाज्ञा लागू गर्यौँ। तर, अवस्था नियन्त्रणउन्मुख नभएपछि अहिले जिल्लाभर नै निषेधाज्ञा जारी भएको छ। यसले संक्रमणको चेन ब्रेक गर्छ कि भन्ने अपेक्षा छ।
(नेपालगञ्जकी उपमेयर उमा थापा मगरसँग उजिर कार्कीसँगको कुराकानीमा आधारित)
Shares
प्रतिक्रिया