आजभोलि बहस चलिरहेको छ– चीन विश्वको महाशक्ति बनेर उदाउँदै छ र उसले विश्व शक्ति संरचनाबाट अमेरिकालाई विस्थापित गर्दैछ। कोभिड–१९ महामारीका कारण बढ्दो विश्वव्यापी आर्थिक संकटबाट चीन दृढतापूर्वक बाहिर निस्केको छ। गएको चार वर्षमा डोनाल्ड ट्रम्पले नेटो गठबन्धनका आफ्नै सहयोगीहरुबाट समेत एक्लिने नीति लिए। जसका कारण चीनले अमेरिकालाई विस्थापित गरेको भाष्य अझ बलियो बन्यो।
चीन यसअघि नै आर्थिक रुपले विश्वव्यापी महाशक्ति बनिसकेकोमा कुनै सन्देह छैन। सन् २०२८ सम्ममा अमेरिकालाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने अपेक्षा गरिएको छ। सैन्य शक्तिका हिसाबले चीन अमेरिकाभन्दा पछाडि नै छ। तैपनि हतियार–प्रविधिमा बढ्दो खर्च र अनेकौँ गुप्त हतियारको विकास गरेर ऊ अमेरिकालाई उछिन्ने बाटोमा छ।
ढिलोचाँडो चीनले अमेरिकाको भन्दो बलियो आर्थिक र सैन्य शक्ति हासिल गरिछाड्ने छ। यसमा कुनै शंका छैन। तर, के कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको चीन कहिल्यै अमेरिकाजस्तो अजेय र पूर्ण महाशक्ति बन्न सक्ला? गत आठ दशकदेखि अमेरिका विश्वको महाशक्ति रहँदै आएको छ। शीतयुद्धको समयमा पनि सोभियत संघले महाशक्तिको ताज खोस्न अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो। गठबन्धन निर्माण र सैन्य शक्तिका हिसाबले सोभियत संघले अमेरिकाकै बराबरी शक्ति हासिल पनि गरेको थियो। तर, आफ्नो शक्ति चरमोत्कर्षमा पुगेको बेला पनि सोभियत संघ आर्थिक वा सांस्कृतिक हिसाबले अमेरिकाको बराबरी आउन सकेन।
अमेरिकाकै हाराहारीको महाशक्ति बन्नुभन्दा अगाडि विगतमा सोभियत संघले जस्तै अहिले चीनले अनेकौँ भूराजनीतिक र सांस्कृतिक चुनौती सामना गरिरहेको छ। यदि चीनको आर्थिक र सैन्य शक्तिले अमेरिकालाई उछिन्यो भने पनि उसले विश्वभर उस्तै सम्मान र स्वीकार पाउन सक्दैन। वैचारिक, राजनीतिक र सांस्कृतिक रुपले कम्युनिस्ट चीनको तुलनामा लोकतान्त्रिक अमेरिका जहिले पनि श्रेष्ठ रहनेछ।
चीनले शानदार रुपमा वृद्धि हुने ठिमाहा अर्थव्यवस्था विकास गरेको छ। तथापि यो एक दलीय कम्युनिस्ट मुलुक हो। राजनीतिक रुपले चीन पहिलेभन्दा बढी बन्द र केन्द्रीकृत बनेको छ। चिनियाँ कम्युनिस्ट पार्टीले यसैवर्ष एक सयौँ वर्षगाँठ मनाउँदैछ। सन् २०११ मा सो पार्टी स्थापनाको ९०औँ वर्षगाँठ मनाइँदै गर्दा सांघाईस्थित चाइनिज पोलिटिकल साइन्स एसोसियसनमा मलाई पनि निम्त्याइएको थियो। त्यसबेला थुप्रै शीर्ष चिनियाँ राजनीतिशास्त्रीहरुले चीन बहुदलीय निर्वाचन प्रणालीमा जानसक्ने सम्भावनाबारे खुल्लमखुल्ला छलफल गरेका थिए। अहिले सी चिनफिङ नेतृत्वको चीनमा त्यस्तो छलफल कल्पनामा पनि गर्न असम्भव छ।
चीन निकै बलियो दलीय कर्मचारीतन्त्र भएको शक्तिशाली राज्य हो। तर, यसको राजनीति सम्भवतः निकै नाजुक छ। बन्द व्यवस्था भएकाले चीनमा कहिले राजनीतिक उथलपुथल हुन्छ भनेर अनुमान लगाउन असम्भव छ। यो त्यस्तो मुलुक हो, जहाँ इन्टरपोलका प्रमुख वा विश्वभर प्रख्यात अर्बपति बिनाकुनै आधिकारिक जानकारी बेपत्ता हुनसक्छन्। सयौँ चिनियाँ करोडपतिहरु भविष्यका अनिश्चतताबाट आफ्नो सम्पत्ति बचाउन विदेशमा बसिरहेका छन्।
चीन धनी बनेको छ। यो मुलुकले शिक्षामा निकै ठूलो खर्च गरिरहेको छ। तर प्रत्येक वर्ष करिब ६ लाख चिनियाँ विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान्छन्। चीनको अर्थतन्त्र दशकौँदेखि वृद्धि भइरहेको छ। तर, रोजगारीकै लागि एक करोड चिनियाँ विदेशमा छन्। जबकि विश्वभरबाट पाँच करोडभन्दा बढी मानिस राम्रो काम र राम्रो जीवनस्तरको खोजीमा अमेरिका बसाइँ सरेका छन्।
अमेरिकामा अहिले राजनीतिक समस्या देखिएको छ। त्यति हुँदाहुँदै पनि अमेरिकी राजनीतिक व्यवस्था निकै दरिलो छ। यसले जस्तोसुकै आक्रमण थेग्न सक्छ। चीनको राजनीतिक व्यवस्थाप्रति यसरी विश्वास गर्न सकिन्न। चीन लामो समयदेखि राजनीतिक रुपमा स्थिर रहँदै आएको छ। तैपनि अमेरिकी व्यवस्थाप्रति अमेरिकीहरुको जस्तो विश्वास छ, चिनियाँ राजनीतिक व्यवस्थाप्रति चिनियाँहरु त्यत्तिकै विश्वस्त छैनन्। यसले विश्वव्यापी महाशक्ति बन्ने प्रतिस्पर्धामा चीनलाई अन्य मुलुकको सम्मान प्राप्त गर्न सघाउँदैन।
भूराजनीतिले पनि अमेरिकालाई जस्तो चीनलाई साथ दिँदैन। अमेरिकाभन्दा विपरीत चीन अनेकौँ शक्तिशाली र प्रतिस्पर्धी मुलुकले घेरिएको छ। त्यसमध्ये पनि कम्तीमा दुई मुलुक– रुस र भारत महाशक्ति बन्ने सपना देख्छन्। यी दुई मुलुकविरुद्ध चीनले युद्ध पनि लडिसकेको छ। उनीहरुबीच अझै पनि अनेकौँ स्थानमा सीमा विवाद छ। चीन छिमेकमै पूर्ण रुपले सुरक्षित छैन। त्यसैले अमेरिकाजस्तै सबै चिन्ताबाट मुक्त भएर विश्वको अन्य हिस्सामा राजनीतिक र सैन्य परियोजनामा लाग्न चीन सक्दैन।
अप्ठेरो अवस्थितिका अलावा चीनलाई विश्वासिलो र शक्तिशाली सहयोगीको पनि अभाव छ। एकातर्फ लोकतान्त्रिक अमेरिकाले बेलायत, जर्मनी, जापान र अस्ट्रेलियाजस्ता क्षेत्रीय रुपमा शक्तिशाली मुलुकहरुसँग शीतयुद्ध कालदेखि नै बलियो राजनीतिक र सैन्य सहकार्य स्थापना गरेको थियो। ती सहयोगी मुलुकलाई अमेरिकाले अझै आफूसँगै राखेको छ भने भारतजस्ता नयाँ सहयोगी पनि बनाएको छ। अर्कोतिर, विश्वमा चीनको एक मात्र महत्वपूर्ण सहयोगी राष्ट्र भनेको रुस नै हो। तर, त्यो गठबन्धनमा अनेकौँ विरोधाभाष छन्। त्यो मित्रताको परीक्षण पनि भएको छैन। त्यसैले अमेरिका र उसका सहयोगी मुलुकहरुको संयुक्त शक्तिका सामुन्ने भविष्यमा चीन सैन्य, आर्थिक र राजनीतिक हिसाबले बढी शक्तिशाली बन्नसक्छ भन्ने कल्पना गर्न कठिन छ।
अमेरिका विश्वको सांस्कृतिक महाशक्ति रहँदै आएको छ र रहिरहनेछ। उसको त्यो स्थानलाई चीनले चुनौती दिने सम्भावना अत्यन्त कम छ। अमेरिकाको लोकतन्त्र र स्वतन्त्रताले उसलाई वैचारिक श्रेष्ठता त प्रदान गर्छ नै, चलचित्र, सञ्चारमाध्यम, संगीत र साहित्यका माध्यमबाट विश्वभर उसको सांस्कृतिक प्रभाव पनि फैलिन्छ। अमेरिका आप्रवासीहरुको मुलुक हो। त्यसैले यो मुलुकले विश्वभरका संस्कृतिको प्रतिनिधित्व गर्छ र तिनलाई अझ समृद्ध पार्छ। तर, चीन लामो समयदेखि बन्द मुलुक रहँदै आएको छ। त्यस्तै, अंग्रेजी विश्वभाषाका रुपमा कायम छ। चिनियाँ मन्दारिनले त्यो स्थान लिन सम्भव छैन।
चीन सधैँ अमेरिकालाई भेट्टाउन र एक नम्बरको महाशक्ति बन्न संघर्षरत रहनेछ। सोभियत संघको जस्तै चीनको महाशक्तिको दर्जा सिमित हुनेछ। अर्थात् केही पक्षमा मात्र चीन महाशक्ति बन्नेछ। यदि अमेरिकाले गएको चार वर्षमा गरेका आत्मघाती कार्यलाई दोहो¥याइरहेन भने अझै लामो समय ऊ यो प्रतिस्पर्धामा अगाडि रहनेछ।
(द प्रिन्टबाट। अशोक स्वाइन स्वीडेनस्थित उप्साला युनिभर्सिटीका प्राध्यापक हुन्)
Shares
प्रतिक्रिया