विचार


चीनका लागि अवसर हो अमेरिकाको गडबडी

चीनका लागि अवसर हो अमेरिकाको गडबडी

गिडियन राकमन
माघ ६, २०७७ मंगलबार १२:३१,

२० जनवरी १९६१ मा जोन एफ केनेडीले अमेरिकाको सबैभन्दा कान्छो राष्ट्रपतिको रुपमा पदभार सम्हाले। शपथग्रहणका दिन क्यापिटल भवनको सिँढीबाट उनले उद्घाटन भाषण दिएका थिए। त्यसको ठिक ६० वर्षपछि अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपतिका रुपमा जो बाइडेनले सोही स्थानमा शपथ लिँदैछन्। जहाँ केही दिनअघि भीडले आक्रमण गरेको थियो।

उद्घाटन भाषणमा केनेडीले ‘मसाल नयाँ पुस्तामा सरेको’ घोषणा गरेका थिए। बाइडेन चाहिँ पुरानो पुस्ताका प्रतिनिधि हुन्। उनको पुस्ता यतिबेला त्यो मसाल निभ्ने भयले ग्रस्त छ।

केनेडीको भाषण अहिले फेरि हेर्ने हो भने थाहा हुन्छ– त्यो अमेरिकी जनतालाई भन्दा बढी सोभियत संघका नेताहरुलाई गरिएको सम्बोधन थियो। केनेडी शीतयुद्धको चरमोत्कर्षमा बोलिरहेका थिए। केनेडीले विश्वभर ‘स्वतन्त्रताको अस्तित्व र सफलताका लागि जुनसुकै मूल्य चुकाउने र जुनसुकै बोझ उठाउने’ बाचा गरेका थिए। यतिबेला पनि अमेरिका दोस्रो शीतयुद्धको संघारमा पुगेको अधिकांश अमेरिकी सम्भ्रान्तहरुको ठम्याइ छ। तर, अहिले बाइडेन केनेडीले जस्तै बाचा गर्न सक्दैनन्।

बाइडेन र उनका सल्लाहकारहरुलाई राम्ररी थाहा छ– उनीहरुको सबैभन्दा महत्वपूर्ण काम भनेको अमेरिकामै स्वतन्त्रताको अस्तित्व र सफलता सुनिश्चित गर्नु हो। महामारी र ट्रम्पको जुम्ल्याहा असरबाट अमेरिका असन्तुलित बनेको छ। त्यस्तै, सामाजिक र आर्थिक समस्या पनि गहिरिँदो छ।

अमेरिकाको गडबडी चीनका लागि अवसर हो। चीनलाई धक्का दिने योजनाअनुसार बाइडेनले विश्वका लोकतान्त्रिक मुलुकहरुको शिखर सम्मेलन आयोजना गर्ने योजना बनाएका थिए। तर, आफ्नै मुलुकमा राष्ट्रपतिले नै कू को प्रयास गरेपछि त्यस्तो सम्मेलन आयोजना गर्ने साख अमेरिकाले गुमाएको छ। त्यसैले सम्मेलनको सट्टा बेलायतले आयोजना गर्ने १० लोकतान्त्रिक मुलुकको बैठकमै बाइडेनले चित्त बुझाउने सम्भावना बढी छ।

चीनसँग अमेरिकाको संघर्ष चर्किंदैछ। त्यसको एउटा ठूलो हिस्सा विश्वभर आर्थिक प्रभाव विस्तार गर्ने होडले ओगटेको छ। सन् २०१९ को अन्त्यमा नै विश्वका १९० मध्ये १२८ देशले अमेरिकासँगभन्दा बढी चीनसँग व्यापार गर्न थालिसकेका थिए। विश्वको व्यापारिक प्रणालीको केन्द्र हो चीन। त्यो यो वर्ष झनै बढ्नेछ। किनभने विश्व बैंकको प्रक्षेपणअनुसार यो वर्ष चीनको अर्थतन्त्र ८ प्रतिशतको हाराहारीमा वृद्धि हुनेछ। अमेरिकाको अर्थतन्त्र भने ३.५ प्रतिशतका दरले बढ्ने अनुमान गरिएको छ।

विश्व अर्थतन्त्रलाई प्राविधिक मापदण्ड र नियमहरुले सञ्चालन गर्छ। त्यस्ता मापदण्ड र नियम कस्तो हुने भन्ने विषयमा पनि अमेरिका र चीनबीच संघर्ष जारी छ।

तर, पपुलिजम र संरक्षणवादको उदयले चिन्तित भएको बाइडेनको टोलीले तत्कालै अमेरिकाले कुनै व्यापार सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट पारिसकेको छ। जसले अमेरिकी प्रभाव विस्तारलाई झनै कठिन तुल्याउनेछ।

यसको विपरीत चीनले भने हालै दुई ठूला व्यापार सम्झौता गरेको छ। ईयू–चीन लगानी सम्झौता डिसेम्बरमा टुंगिएको थियो। जापान, दक्षिण कोरियासहित एसियाका १५ मुलुकबीचको रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसीप नोभेम्बरमा टुंगो लागेको थियो।

हालै वासिङ्टनमा देखिएका दृश्यले प्रभाव र प्रतिष्ठा अर्थात् ‘सफ्ट पावर’ का लागि अमेरिका र चीनबीच चलिरहेको लडाइँलाई पनि प्रभावित तुल्याउनेछ। अमेरिकी संस्थापनको सबैभन्दा गतिला उदाहरण हुन्– काउन्सिल अन फरेन रिलेसन्सका अध्यक्ष रिचर्ड हास। अमेरिकी संसदमा हमला भएको दिन उनले निराशापूर्वक ट्विट गरे– ‘संसारका कसैले पनि आइन्दा अमेरिकालाई उस्तै नजरले हेर्ने र सम्मान गर्ने छैन। कोही पनि अमेरिकासँग उसैगरी डराउने वा निर्भर रहने छैन। अमेरिकापछिको युग सुरुवातको कुनै मिति छ भने त्यो निश्चित रुपमा आजै हो।’

कोरोना भाइरस महामारी तथा भारत र अस्ट्रेलियाप्रतिको आक्रमकताका कारण गएको वर्ष चीनको आफ्नै प्रतिष्ठा र लोकप्रियता पनि नराम्ररी घटेको छ। गत साता ह्युमन राइट्स वाचले चीनका लागि अघिल्लो वर्ष ‘सन् १९८९ को तियानमेन नरसंहारयताकै सबैभन्दा अँध्यारो अवधि’ भएको रिपोर्ट प्रकाशित ग¥यो। सो रिपोर्टले हङकङमा विपक्षीहरुमाथिको दमन, सिन्जियाङको नजरबन्द र असन्तुष्टिप्रतिको बढ्दो दमनलाई उजागर गरेको छ।

विदेशमा चीन लोकप्रिय नभएपनि ऊ अमेरिकाको तुलनामा आत्मविश्वासपूर्ण र सबल देखिन्छ। चीनको यो छविलाई यो वर्ष खुब चम्काइनेछ। किनकि यही वर्ष चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकी मनाइँदै छ।

वर्तमानमा चीन र अमेरिकाबीच देखिएको फरकले ओसामा बिन लादेनको नमिठो वचनको याद दिलाउँछ। लादेनले भनेका थिए– ‘मानिसहरुले एउटा बलियो घोडा र एउटा कमजोर घोडा देखे भने उनीहरुले स्वभाविक रुपमा बलियो घोडालाई मन पराउँछन्।’

थुप्रै उदारवादीहरु सर्वसत्तावादी महाशक्तिको उदयबाट त्रसित भएर चिनियाँ घोडा जति बलियो देखिन्छ, त्योभन्दा निकै कमजोर भएको तर्क गर्छन्। यो सत्य पनि हुनसक्छ। तर, त्यो दृष्टिकोणमा उनीहरुको कामना पनि लुकेको छ। निष्पक्ष भएर संसार जस्तो छ, त्यस्तै मूल्यांकन गर्ने हो भने अमेरिका अहिले निकै ठूलो संकटमा छ भन्ने निष्कर्षमा पुगिन्छ। र, त्यसको फाइदा उठाउने ठाउँमा चीन छ।

केनेडीले निकै चर्को रुपमा उठाएको राजनीतिक स्वतन्त्रताको सिद्धान्तमाथि अहिले चीनमा मात्र होइन, विश्वभरमै संकट आएको छ। रुसी विपक्षी नेता अलेक्सेइ नवल्नी केही दिनअघि मात्र मस्को फर्किंदै गर्दा पक्राउ परे। राष्ट्रपति भ्लादिमिर पुटिन कति दण्डहीन महसुस गर्छन्, यसैले देखाउँछ।

राष्ट्रपति डोनाल्ड ट्रम्प पुटिन र अरुले गरेको मानवअधिकार उल्लंघनको विरोधमा बोल्न अनिच्छुक देखिँदै आएका छन्। बाइडेन त्यसैगरी मौन त नबस्लान्। तर, बाइडेनको आवाजमा ६० वर्षअघिको जोन एफ केनेडीको उद्घोषकै दम भने हुने छैन।

(फाइनान्सियल टाइम्सबाट)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad