विचार


‘टाढाबाट’ नयाँ प्रधानमन्त्रीलाई चिठी : देशले ‘काबिल–ए–तारिफ’ उपलब्धि हासिल गरोस्

नेपालका ४ समस्या, १० चुनौती
‘टाढाबाट’ नयाँ प्रधानमन्त्रीलाई चिठी : देशले ‘काबिल–ए–तारिफ’ उपलब्धि हासिल गरोस्

सन्जय घिमिरे
चैत १३, २०८२ शुक्रबार २०:३७, टेक्सस, अमेरिका

प्रधानमन्त्रीज्यू,
बधाई छ।

तपाईंलाई अझ दोब्बर बधाई छ। दोब्बर बधाई यस कारण कि यो उमेरमा नेपालजस्तो पुरातन देशको तपाईं नयाँ प्रधानमन्त्री बन्नुभएको छ।

एउटा अस्वाभाविक घटना भएको छ नेपालको इतिहासमा। सायदै कसैले सोचेको थियो होला कि तपाईं यत्ति छिट्टै नेपाल देशको प्रधानमन्त्री बन्नुहुनेछ।

छिटो भयो।

छिटोसम्म त ठीकै हो, अलि हतारमा भयो कि भन्ने मलाई लागिरहेको छ। हुन त, सबै हतारहरू खराब हुँदैनन्।

हतार भन्ने शब्द र यो शब्दले बोक्ने जोखिमको व्याख्या मैले भन्दा बढी समयले गर्नेछ। कहिले हतारमा हिँड्दा दुर्घटनामा परिन्छ, कहिले हतारमा हिँड्दा दुर्घटनाबाट जोगिन्छ। यो हतार दुर्घटना टार्नका लागि हो कि दुर्घटनामा पर्न? अहिले न मलाई थाहा छ, न तपाईंलाई।

समय पर्खिऊँ।

प्रधानमन्त्रीज्यू,
यो पत्र लेख्दै गर्दा म आज अलि अन्यमनस्क अवस्थामा छु।

अन्यमनस्कता यस कारण पनि भयो कि– चुनावअघि मैले तपाईंका प्रधानमन्त्रीय गुणहरूमाथि केही प्रश्न उठाएको थिएँ। मलाई थाहा छैन– तपाईंले पढ्नुभयो वा भएन!

यो नठान्नुहोला कि ती पुराना सबै प्रश्नहरूबाट मुक्त भएर आज म यो पत्र लेख्दैछु। आज पनि ममा तपाईंका प्रधानमन्त्रीय गुणहरूमाथि उत्तिकै प्रश्न छन्।

देश बनाउने तपाईंको हुटहुटी, आँट र इमान्दारीमाथि प्रश्न होइन। प्रश्न हो– ज्ञानको, अनुभवको, परिपक्वताको र शैलीको।

कहिलेकाहीँ समय, घटना र परिवेशले पनि अनेक प्रश्न उत्पन्न गराउँछ।

समस्या मेरो चेतनाको वा मेरो कल्पनातीत अपेक्षाको पनि हुन सक्छ– म आजका दिनमा नेपालका लागि जस्तो वा जुन चेतसहितको प्रधानमन्त्री खोजिरहेको थिएँ र छु, त्यो तपाईं नहुन पनि सक्नुहुन्छ। अन्यथा नलिनुहोला।

हाललाई भने तपाईंलाई प्रशस्त शंकाको सुविधा छ। यो सुविधाको राम्ररी उपयोग गर्नुहोला। पोखरीमा फालिएपछि बच्चाले पनि तैरिन सिक्छ। तपाईंले पनि सिक्नुहोला भन्ने मेरो अपेक्षा छ।

प्रधानमन्त्रीज्यू,
तपाईंले व्यक्तिगत रूपमा प्राप्त गरेको उपलब्धि ‘काबिल–ए–तारिफ’ छ। जुन समय, कारण वा लहरले तपाईंलाई व्यक्तिगत रूपमा यो उपलब्धि दिलायो, त्यस्तै उपलब्धि देशले पनि प्राप्त गरोस्, मेरो कामना छ।

तपाईं, देश र जनताले चाहेको उपलब्धि प्राप्त गर्न त्यति सजिलो भने छैन। म अक्सर लेख्ने वा भन्ने गर्छु– नेपालले चाहेजस्ता उपलब्धि गर्न नसक्नुका मुख्य चार ‘स’ जिम्मेवार छन्।

एक– सोच
दुई– संस्कार
तीन– संयन्त्र
र चार– साउथ।

आज म यी चार ‘स’को व्याख्या गर्नतिर लाग्दिनँ, आफैँ मनन गर्नुहोला। यी चार ‘स’ भित्रै रहेर आजका दिनमा र पछिसम्म पनि तपाईंका मुख्य चुनौतीहरू के हुन्, यो भने भन्नेछु।

टाढाबाट तपाईंका लागि खासगरी दस चुनौतीहरू म देखिरहेको छु।

एक– नेपाली समाजको राजनीतिक/सामाजिक चेत, आनीबानी र अपेक्षा।

दुई– आत्मविश्वास नभएको, ‘कम्फर्ट जोन’ मा बसिरहेको, कति पनि सिर्जनात्मक चेत र आँट नभएको प्रशासनिक संयन्त्र।

तीन– सीमित स्रोत र साधन।

चार– राष्ट्रिय स्वतन्त्र पार्टी स्वयं र त्यहाँभित्रका कतिपय बिटुलिइसकेका र कतिपय रंगीन चेतहरू। रास्वपाभित्रै कोही अति आदर्शवान् बन्ने ध्याउन्नमा छन्, कोही ज्ञान भएर पनि दासत्व स्वीकार गर्न तयार।

पाँच– तपाईंकै मन्त्रिमण्डलका सदस्यहरू। म किन तिनको नाम लिऊँ?

छ– पुराना भनिएका दलहरू, जो आज पनि सक्रिय खेलाडी हुन्। दनादन गोल गर्नेगरी यिनले यसै गोलपोस्ट खाली गरिदिनेवाला छैनन्।

सात– मौका पर्खेर बसेको राजतन्त्र। फागुन २१ को चुनावपछि सबैभन्दा बिलखबन्द र घाइते कोही छ भने त्यो हो ‘फर्केला’ भनेर पर्खेर बसेको राजतन्त्र। सोचिरहेको छु– पूर्वराजाले आउनै लागेको नयाँ वर्षमा दिने सन्देशमा अब के भन्ने होलान्?

आठ– हामीले पनि राजनीतिक भूमिका खेल्न सक्छौँ भन्ने बुझिसकेको र स्वाद पाइसकेको नेपाली सेना।

नौ– पुराना र नयाँ बिचौलियाहरू। यो नठान्नुहोला कि बिचौलिया सकिए। जसरी सरकार नयाँ बन्यो, बिचौलियाहरू पनि नयाँ बन्नेछन्। यो सब बनाउने समाजले हो, समाजको चेतले हो। समाज आज पनि उही हो।

दस– जमिन र आकाशका मुख्य तीन छिमेकी र तीसँगका सम्बन्धहरू।

यी दस तपाईंको नेतृत्वको सरकारका मुख्य चुनौतीहरू हुन्। यी चुनौतीहरूलाई समयक्रममा तपाईं कसरी सम्हाल्नुहुन्छ, त्यसमा तपाईं र देशको उपलब्धि निर्भर हुनेछ।

यो बाहेक कतिपय तपाईंको आफ्नै शैली पनि प्रश्नको घेरामा छ। भगवानले कृपा गरेर राम्रो हुँदै गए, देश राम्रो बन्दै गए म पनि तपाईंले गाएको, तपाईंले लाएको, तपाईंले खाएको, हिँडेको, कम बोलेको, कहिलेकाहीँ बढी लेखेको, जेको पनि वाही–वाही गरौँला। अहिलेलाई यो वाही–वाही ‘हेर्दा–हेर्दै’ मा राखेको छु।

कतिपय त हिजैदेखि नै, महफिल सुरु नहुँदै बढ्तै ‘वाह–वाह’ गरिरहेका छन्। ती ‘वाह–वाह’ कति गहिरा वा सतही छन्, त्यसको ख्याल तपाईंले नै अलि बेसी गर्नुहोला। हत्तेरी भन्ने अवसर नदिनुहोला। अलि फरक हुने वा देखिने ‘पपुलिज्मको फर्मुला’ पछ्याउँदै गर्दा यति बेसुरको पनि नहुनुहोला– कतै ठूलो ठक्कर लागोस्।

यसो हेर्दा सतहमा, नेपालका आजका मुख्य समस्या भ्रष्टाचार र कुशासन मात्रै हो भने जस्तो देखिन्छ। एक–दुईलाई ठेकान लगायो, लालपुर्जा/पासपोर्ट/राष्ट्रिय परिचयपत्र/सवारी चालक अनुमतिपत्र छिटो र सरल रूपमा उपलब्ध गरायो, स्वास्थ्य उपचारमा अलि सरल व्यवस्था गराउन सकियो भने सबै ठीक हुन्छ भन्ने बुझाइ छ।

समयक्रममा थाहा हुनेछ– नेपालमा अरू पनि थुप्रै जटिलताहरू छन्।

भदौ २३/२४ मा भाग लिने र आत्मसात गर्नेहरूको अपेक्षा पनि अलि फरक र अर्कै छन्। ती सामाजिक भन्दा पनि बढ्ता व्यक्तिगत छन्, जुन चुनी–चुनी पूरा गर्न सम्भव छैन।

विकासका हकमा ‘कस्तो विकास’ भन्ने बहसमा त नेपाल आजसम्म प्रवेश गरेकै छैन। यसैले अहिले नै धेरै उद्वेलित नहुनुहोला।

प्रधानमन्त्रीज्यू,
यो पत्र लेख्दै गर्दा मेरा टेबलमा दुई पुस्तक छन्।

एउटा पुस्तक– भारतीय दार्शनिक कृष्णमूर्ति को ‘रिफ्लेक्सन्स अन दि सेल्फ’ र अर्को पुस्तक– टिम मार्सलको ‘प्रिजनर्स अफ जियोग्राफी’।

यी दुवै पुस्तक तपाईंले पनि पढ्नुपर्ने खालका छन्। समय निकालेर पनि पढ्नुहोला। अरू कसैले पढिदेलान् र सुनाऊलान् भन्ने पर्खाइमा नबस्नुहोला।

‘प्रिजनर्स अफ जियोग्राफी’ मा आजको दुनियाँको राजनीतिक, आर्थिक, कूटनीतिक जटिलताहरूको गजबसँग वर्णन गरिएको छ, जहाँ नेपालको पनि केही कुरा छ। शीर्षक नै हेर्नुस् न कस्तो रोचक छ– ‘भूगोलका कैदीहरू’।

कृष्णमूर्ति को ‘रिफ्लेक्सन्स अन दि सेल्फ’ को त म के वर्णन गरूँ र? यो पुस्तकको एउटा वाक्य मात्रै अहिलेलाई तपाईंसँग सेयर गर्न चाहन्छु– ‘तुलना र निन्दाले समझ ल्याउँदैन, बरु त्यसले समझलाई रोक्छ।’

बुझिसक्नुभयो होला– आजका दिनमा तपाईंका लागि यी पुस्तक किन असाध्यै महत्वपूर्ण छन् म भनिहेको छु।

प्रधानमन्त्रीज्यू,
मलाई थाहा छ, लामो भाषण वा पत्र तपाईंको रुचिकर विषय होइन। यसैले एउटा आग्रह गरेर अब म यो पत्र टुंग्याउँछु।

आग्रह के भने, मैले माथि जे–जस्ता प्रश्नहरू उठाएको छु, तिनलाई अन्यथा नलिनुहोला।

मेरो विचारमा– कोही एक व्यक्तिको खानाको स्वाद, गीत–संगीतको स्वाद, सुन्दरताको स्वाद र धार्मिक आस्था वा विश्वासको स्वादबाहेक सबै कुरामा जति तर्क वा प्रश्न गर्न सकिन्छ, त्यति राम्रो हुन्छ।

इलोन मस्कले एउटा अन्तर्वार्तामा भनिरहेका थिए– हामीलाई यस्ता प्रश्नहरू सोध्ने मान्छे चाहिएको छ, जसले गजबका जवाफहरू खोज्न प्रेरणा दिऊन्।

मस्कको त्यही भनाइ सम्झेर यो पत्रमा तपाईंमाथि पनि केही प्रश्न गरेँ, अन्यथा नलिनुहोला।

सफलताको शुभकामना छ!
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad