भारत रूपान्तरणको चेहरा थिए मनमोहन सिंह। १९९० को दशकमा अर्थमन्त्री र २००४ देखि एक दशक प्रधानमन्त्री हुँदा उनले व्यापक सुधार गरे। राज्यको अत्यधिक नियन्त्रण खुकुलो बनाए, अर्थतन्त्र वैदेशिक लगानीका लागि खुला गरे, करोडौँलाई गरिबीबाट बाहिर निकाले अनि आणविक शक्ति सम्पन्न भारतलाई एक सहयोगीका रूपमा स्वीकार गर्न पश्चिमलाई बाध्य बनाए।
कमसेकम विश्वमा उनको विरासतलाई यसरी सम्झिइने छ। तर, मेरो पुस्ताका भारतीयहरूका लागि सिंह सबैभन्दा बढी आशाको ज्योति थिए। जसको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भयो। बजार अर्थतन्त्रले काम गर्छ भन्ने विश्वास उनले हामीमाझ पैदा गराए। नयाँ दिल्ली र मुम्बईका मुठ्ठीभर सम्भ्रान्तहरूका लागि मात्र होइन, आर्थिक र शैक्षिक गरिबी अनि सामाजिक विभेदसँग जुधिरहेका भारतभरका ससाना सहर र गाउँका बासिन्दालाई पनि।
उनको आफ्नै कथाले पनि हामीलाई आत्मविश्वास दियो। भर्खर स्वतन्त्र भएको भारतमा १९४७ को विभाजनपछि शरणार्थीका रूपमा भित्रिएका एक १५ वर्षे किशोर अर्थशास्त्र अध्ययन गर्न अक्सफोर्ड र क्याम्ब्रिज पुगे अनि उच्चपदस्थ टेक्नोक्र्याटका रूपमा सफल करिअर बनाए। समाजवादी व्यवस्था अन्त्य गरेर सुरु भएको बजारमुखी अर्थतन्त्रमा हामी पनि आफ्नो सपना पूरा गर्न स्वतन्त्र हुनेछौँ भन्ने कुरामा सिंह र उनका सहकर्मीले हामीलाई विश्वास दिलाए। शिक्षा र मेहनतको बलमा हामी पनि आफ्नो जीवनलाई हाम्रा मातापिताको तुलनामा निकै राम्रो बनाउन सक्छौँ, सामाजको खुड्किलोमा माथितर्फको यात्रा अब सुविधासम्पन्नहरूको विशेषाधिकार मात्र हुने छैन भन्ने विश्वास दिलाए।
१९९० को दशकभरि सरकार फेरिँदा पनि सुधारको परियोजना कायम रह्यो। तर, त्यो वाचा सिंह दोस्रो कार्यकालका लागि प्रधानमन्त्री रहँदाको बखत भने टुट्न थाल्यो। २००९ देखि उनले चलाइराखेको कंग्रेस नेतृत्वको कमजोर गठबन्धन सरकार घेराबन्दीमा पर्यो। जसको एकातिर सरकारी ब्यांकबाट ऋण धुतेर आफ्नो स्विस ब्यांकको खातामा पुर्याइरहेका आसेपासे पुँजीपतिहरू थिए। अर्कोतिरबाट विपक्षीले आक्रमण गरिरहेको थियो। चौतर्फी भ्रष्टाचार बढ्नु, मुद्रास्फिति उच्च हुनु, वृद्धि मन्द हुनु र रूपियाँ कमजोर हुनुमा तिनले सिंहको कमजोर नेतृत्वलाई दोष दिए।
‘मलाई लाग्दैन, म कमजोर प्रधानमन्त्री हुँ,’ सिंहले कार्यकालको अन्तिमतिरको एक पत्रकार सम्मेलनमा भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा मलाई लाग्छ, अहिलेको सञ्चारमाध्यम र संसदका विपक्षीको तुलनामा इतिहास मप्रति ज्यादा दयालु हुनेछ।’
त्यसको केही महिनापछि नै हिन्दु दक्षिणपन्थी नेता नरेन्द्र मोदीको भारतीय जनता पार्टीले २०१४ को आम चुनावमा जित हासिल गर्यो।
उनको भविष्यवाणी सही साबित हुन लामो समय लागेन। नोभेम्बर २०१६ मा प्रधानमन्त्री नरेन्द्र मोदीले रातारात भारतको ८६ प्रतिशत नोटमा प्रतिबन्ध लगाए। सो कदमलाई सिंहले ‘संगठित लुट र वैधानिक चोरी’ नाम दिँदै त्यसले आर्थिक वृद्धिलाई मन्द तुल्याइदिने बताए। उनको अनुमान सही थियो।
उनको निधनसँगै भारतले एक बुद्धिमान सल्लाहकार गुमायो। त्यो पनि यस्तो समयमा, जतिबेला वृद्धि पुनः कमजोर भएको छ, नीतिनिर्माणमा मनपरी चलेको छ, थुप्रै उद्योगहरूले आर्थिक शक्तिको अत्यधिक केन्द्रीकरण झेलिरहेका छन्, मध्यम वर्ग करको भारीले थिचिएको महसुस गर्दैछ र चुहावट रोक्ने नाममा गरिबहरूलाई सरकारी कार्यक्रमबाट वञ्चित गरिँदै छ। धार्मिक तनाव बढ्दै छ, सबैखाले राजनीतिक नेताहरू राष्ट्रिय स्रोतसधानलाई विकासका लागि कसरी उपयोग गर्ने भन्ने नसोची सत्ता हत्याउन मतदातालाई घुस खुवाउँदै छन्।
प्रधानमन्त्री पदमा रहेको १० वर्षपछि मोदीको व्यक्तिपूजा मत्थर हुँदैछ। तर, उनका समर्थकहरूका लागि भारत समृद्ध हुनेछ भन्ने विश्वास प्रश्नभन्दा बाहिरको आस्था बन्न पुगेको छ।
यो सिंहले चाहेकोजस्तो नतिजा होइन। १९९१ मा आफ्नो पहिलो बजेट भाषणमा सिंहले भिक्टर ह्युगोलाई उधृत गर्दै भनेका थिए, ‘जुन विचारको समय आएको छ, त्यो विचारलाई पृथ्वीको कुनै पनि तागतले रोक्न सक्दैन,’ उनले भनेका थिए, ‘विश्वमा एउटा प्रमुख आर्थिक शक्तिका रूपमा भारतको उदय त्यस्तै विचार हो।’
खैर, भारत अहिले विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्र बनेको छ। केही वर्षमै तेस्रो ठूलो बन्दैछ। तर, त्यो संख्यात्मक बनोट मात्र हो : चरम असमान वृद्धि र १.४ अर्ब जनताको सानो हिस्सा धनी बन्दाको परिणाम। औसतमा हेर्दा भारत अझै पनि न्युन आएको मुलुक हो। जसको प्रतिव्यक्ति आय गत वर्ष २५ सय डलर थियो। त्यो भनेको ३५ हजार प्रतिव्यक्ति आय भएको दक्षिण कोरियाको तुलनामा साह्रै कम हो।
१९६० को दशकमा कोरिया भारतजत्तिकै गरिब थियो। सोही मुलुकले सिंहको विचारलाई प्रेरित गरेको थियो। उनले आफ्नै जीवनकालमा ‘हान नदीको चमत्कार’ नक्कल गर्न त सकेनन्। तर, नयाँ दिल्लीका लागि अहिले ठूलो चिन्ताको विषय के हो भने पुनः सरंक्षणवादी व्यापार नीतितर्फ ढल्किँदै गरेको भारत त्यो लक्ष्य हासिल गर्ने बाटोमा धरी छैन।
र, यदि तर्कसंगत विश्लेषणको सट्टा खोक्रो नारा र वास्तविक सुधारको ठाउँमा राष्ट्रवादी अहंकारलाई रोजेर मुलुकले यी मौन अन्तर्राष्ट्रियवादी नेताको विरासत खराब गर्छ भने त्यो लज्जाको विषय हुनेछ।
(ब्लुमबर्गबाट)
Shares

प्रतिक्रिया