ad ad

विचार


पेन्टागनको चाहना खोतल्ने, दिल्ली-बेइजिङका स्वार्थ वास्ता नगर्ने?

पेन्टागनको चाहना खोतल्ने, दिल्ली-बेइजिङका स्वार्थ वास्ता नगर्ने?

सन्जय घिमिरे
माघ १२, २०७६ आइतबार १३:४१,

म आज एउटा खास मोडमा उभिएर यो ‘टाढाबाट’ स्तम्भ लेखिरहेको छु।

केही दिनदेखि म दुविधामा थिएँ– यसबारे लेखुँ कि नलेखुँ?

कर्मभूमिबाट जन्मभूमिका बारेमा लेख्नु त्यति नै जटिल काम हो, जति घरका कुरा माइतीमा गएर गर्नु।

म अहिले ‘घरमा’ छु। नेपाल ‘माइती’ जस्तो भएको छ। माया माइतीको लाग्छ। घर यसैपनि घर भइगयो।

माइतीबाटै कुरा सुरु गर्छु, जहाँ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत एउटा अमेरिकी अनुदान लिने कि नलिने भन्ने विषयमा जोडतोडले बहस भइरहेको छ। कतिपयले यसलाई राष्ट्रियता र स्वाभिमानसँग जोडेर विश्लेषण गरिरहेका छन्। पक्ष र विपक्षमा अनेक तर्क र तर्कना सुनिँदैछ, मानौँ, बाह्य मुलुकको सहयोग नेपालले पहिलो पटक लिँदैछ।

एमसीसी सम्झौताको भाषा र त्यसका साइड इफेक्टका बारेमा म त्यति स्पष्ट छैन। यति मात्र जान्दछु, उहिलेदेखि नै मेरो माइती देश नेपाल दाताका यस्ता अनेक सर्तहरुसँग अभ्यस्त छ। त्यसका साइड इफेक्टहरुसँग पनि उत्तिकै परिचित छ। यसैले एमसीसीका सर्त नेपालका लागि नौलो होइनन्। यसअघि पनि हामीले एसियाली विकास बैंक, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष वा डानिडाका सर्तबारे बहस गथ्र्यौँ।

दाताहरुका सर्तहरु औषधिका साइड इफेक्टजस्तै हुन्। जसको परिणाम कहिले असाध्यै नराम्रा पनि निस्किन सक्छन्, कहिले औषधिले रोग चट्टै निको पनि पार्छ।

नेपालमा औषधि किन्दा त्यसका साइड इफेक्टका बारेमा बिरामीलाई लिखित जानकारी दिने चलन त्यति छैन। अमेरिकामा भने औषधिसँगै एउटा लिखित पत्र पनि थमाइन्छ, जहाँ त्यो औषधि र त्यसका साइड इफेक्टहरुका बारेमा विस्तृत विवरण उल्लेख हुन्छ।

ती विवरण पढ्यो भने औषधि खानै डर लाग्छ। तर्साउँछन् तिनले। मृत्य हुन सक्नेसम्मका साइड इफेक्ट लेखिएका हुन्छन्। तैपनि बिरामीका अगाडि जम्मा दुई विकल्प मात्र हुन्छन्– जेसुकै होस् भनेर औषधि खाने वा सम्भावित साइड इफेक्टसँग तर्सेर औषधि नै नखाने।

तर, ध्यान दिनुपर्ने पक्ष के हो भने औषधि नखाई रोग निको हुँदैन। बिरामी औषधिदेखि तर्सनु हुन्न।

हो, सम्भावित साइड इफेक्टका बारेमा सचेत हुनु वा हुन खोज्नु स्वाभाविक हो। तर औषधिकै निन्दा गर्नु बुद्धिसम्मत होइन। औषधिका साइड इफेक्टहरुसँग डराएर समस्या समाधान हुन सक्दैन।

यसो भनिरहँदा विकाससम्बन्धी सम्पूर्ण रोगको औषधि एमसीसी होइन। तर, त्यसले केही हदसम्म नेपालको सो रोगको उपचारमा सघाउँछ। कुरो पैसाको मात्र होइन, त्यसले सिकाउने अनुशासनको पनि हो। कार्यशैलीको पनि हो, त्यसले स्थापित गर्ने मान्यताको पनि हो।

मेलम्ची ‘मिथ’ बनिरहेको नेपाली समाजमा पाँच वर्षभित्र कडिकडाउसाथ निश्चित योजना पूरा गर्ने एमसीसी परियोजना एउटा राम्रो प्रेरणादायक पाठ बन्न सक्छ।

त्यसले के कस्ता दुष्प्रभाव निकाल्छ, भोलिपर्सि हेरौँला।

औषधि ग्रहण गर्दा त्यसका साइड इफेक्टलाई सहन गर्ने अलिकति क्षमता पनि नेपालमा विकास गर्नुपर्छ।

हो, नेपाल विकासको मामिलामा अन्यत्रबाट औषधि नै लिनु पर्नेगरी बिरामी छ कि छैन, त्यो नेपालले नै तय गर्ने विषय हो। यो रोग उपचार गर्न नेपाल आफैँ सक्षम छ कि छैन, त्यो पनि उसैले तय गर्ने विषय हो।

नेपालभित्रै प्राकृतिक उपचार निस्कन्छ भने त्यसलाई अवलम्बन गर्नु नेपालका लागि बुद्धिमानी हुनसक्छ। यो अरुका लागि टाउको दुःखाइको विषय होइन। तर, बाह्य सहयोग आवश्यक पर्ने अवस्था छ भने यसमा धेरै किचलो गर्नु हुँदैन।

उसो त एमसीसीका साइड इफेक्ट धेरै छन् भन्ने पनि होइन। यद्यपि, अमेरिकी सैन्य रणनीति एउटा मुख्य चिन्ताको विषय हो भन्ने कतिपय नेपाली राजनीतिकर्मी र विश्लेषकको तर्क स्वभाविक हो। तर यस्ता चिन्तालाई एमसीसीसँग मात्र जोडेर हेर्नु हुन्न। भारत, चीन, बेलायत वा युरोपेली युनियनका पनि आफ्नै खाले स्वार्थ हुनसक्छन्। त्यसैले यस्ता सबै सहयोगलाई समग्रमा विश्लेषण गर्न उपयुक्त हुन्छ। पेन्टागनको चाहना के छ भनेर खोतल्ने तर दिल्ली र बेइजिङका स्वार्थ जे भएपनि वास्ता नगर्ने तरिका घातक हुनसक्छ।

कस्तो, कत्रो र कसरी सहयोग लिने भन्ने विषयमा बहस हुनसक्छ। तर, त्यो बहस एमसीसीमा मात्र गर्ने विषय होइन। नेपालले वर्षौँदेखि बाह्य दाताहरुको सहयोग ग्रहण गर्दै आइरहेको छ। कतिले त आफ्नै देशको हिस्सा जस्तो गरी सोझै गाउँगाउँ पसेर स्कुल, एम्बुलेन्स र चर्पी बाँडिरहेका छन्। कस्तो सहयोग कसरी लिने भन्ने बहस त्यहाँबाटै सुरु गर्नुपर्छ। विश्व बैंक, एडीबी, डानिडालगायत दाताले उहिलेदेखि राख्ने सर्त कस्ता थिए भन्नेबाट बहस सुरु गर्नुपर्छ।

बहस गर्ने नै हो भने भारतीय राजदूतलाई नेपालका गाउँगाउँमा स्कुल बाँड्न दिने कि नदिने भन्नेबाट सुरु हुनु पर्छ। यो बहस भारतीय र बेलायती सेनामा नेपाली पठाउने कि नपठाउने भन्नेबाट सुरु गर्नुपर्छ।

यो बहस त सांसदहरुले प्रयोग गर्ने गाडी अन्यत्रबाट लिन हुने कि नहुने भन्नेबाट सुरु हुनुपर्छ। ती ठिक थिएनन् भने यी पनि ठिक छैनन्।

सहयोग लिने कि नलिने आवश्यकताले निर्धारण गर्छ। आवश्यकता छ, लिने हो। छैन, नलिने। आवश्यकता छ भने सर्तसँग तर्सिने होइन, भिड्ने हो। छैन भने पन्छिए भइहाल्छ।

नेपाल यसैपनि स्वार्थहरुको चेपुवामा छ। र, त्यो चेपबाट बाहिर निस्कन अहिलेको जस्तो कुटनीतिक अपरिपक्वताले भ्याउँदैन। दशरथ रंगशालाजस्तो सानो र कमसल छैन, दुनियाँको कुटनीतिक रंगशाला।

ममा कुनै भ्रम छैन, अमेरिका वा कुनैपनि देशले निस्वार्थ रुपमा ठूलो सहयोग दिन्छन् भन्ने। स्वार्थका स्वरुप फरक हुन सक्छन्। मान्छेको जस्तै देशको पनि अनेक चाहना हुन्छन्।

तर, एउटाको चाहना अर्कोले हुबहु मानिदिनुपर्छ भन्ने छैन। कसैको चाहना अन्याथा छन् भने तीमाथि धेरै बहस गर्नुहुँदैन। नेपाल वा अरु कसैले पनि अरुका रणनीतीहरुसँग तर्सिने होइन, त्यसमा आफ्नो पनि रणनीति घुसाउने हो। चलाखहरु यसै गर्छन्।

टाढाबाट फेरि भन्छु, बिरामीले औषधिका साइड इफेक्टबाट तर्सेर औषधि नै खान छोड्ने होइन। साइड इफेक्टसँग लड्ने शारीरिक क्षमता विकास गर्ने हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .