विचार


सोच्न सक्ने महिला

सोच्न सक्ने महिला

केही वर्षअघि म युवराजसँग भारतको कलकत्तामा नाट्य महोत्सव हेर्न गएकी थिएँ। महोत्सवको अन्तिम दिन आयोजित रात्रिभोजमा एक महिला छेउमा आइन् र सोधिन्, ‘निर्देशककी श्रीमती हौ?’

म मुस्कुराएँ र भनेँ, ‘हो, तर म कलाकार होइन।’

मैले आफ्नो जवाफमा थप स्पष्टीकरण किन जोडेँ, थाहा छैन। सायद म त्यस प्रश्न र त्यससँग जोडिएका मानिसका अनुमानसँग धेरै परिचित थिएँ।

युवराजले उनलाई सोधे, ‘कलाकार हौ?’

उनले व्यंग्यात्मक भावमा भनिन् ‘हो, घरमा पनि र थिएटरमा पनि।’

उनले हाँस्दै थपिन्, ‘मलाई लाग्छ– सबै श्रीमान् निर्देशक हुन्। थिएटरमा मात्रै हैन, घरमा पनि। श्रीमतीहरू उनीहरूद्वारा निर्देशित।’

त्यस्तो गह्रुँगो कुरामा कसरी प्रतिक्रिया जनाउने! मलाई त त्यतिखेर ठ्याक्कै थाहा भएन। तर अचानक तीनै जना हास्यौं। त्यो अप्ठेरो  स्थिति थियो। त्यस साँझ एकछिनका लागि भेटिएकी र गहिरो कुरा भनेर गएकी ‘निर्देशक श्रीमानकी कलाकार श्रीमती’लाई अचेल पनि बारम्बार सम्झिन्छु।

यो त भयो रंगमञ्चको कुरा। तर रंगमञ्च र अभिनयभन्दा हाम्रो सामाजिक परिवेश फरक छ र? वा कलकत्ताकी ती मसुर बंगाली अभिनेत्री पौलोमी बसुले बाँचेको समाजभन्दा हाम्रो सामाजिक संरचना फरक छ र?

‘मलाई लाग्छ– सबै श्रीमान निर्देशक हुन्। थिएटरमा मात्रै हैन, घरमा पनि।’

उनका श्रीमान् बत्य बसु कलकत्ताको प्रसिद्ध नाटक कम्पनी बत्याजोन थिएटरका निर्देशक हुन्। पौलोमीलाई मैले उनको आफ्नो परिचयबाट चिन्नै खोजिनछु। अहिले थकथक लागेर आउँछ। के कारणले मलाई त्यसो गरायो? 

आधुनिक रंगमञ्च र सिनेमामा कलाकारको स्थान उच्च छ भन्ने लाग्छ, मलाई। तर घरका कलाकार ७०/८० वर्ष अघिसम्मका ‘नाचगान गर्ने कलाकार’ जस्ता हुन्, जो हिजो राजा–महाराजाहरूलाई मनोरञ्जन दिन हाजिर हुनपर्थ्याे। आज पारिवारिक रंगमञ्चका निर्देशकहरूको पद फरक–फरक छन्। यसो भन्न सकिएला– निर्देशक बुवा, निर्देशक दाइ, निर्देशक भाइ, निर्देशक ससुरा वा पौलोमी बसुले इंगित गरेजस्तो सबैभन्दा ठूला हुन्– श्रीमान् निर्देशक।

त्यसो त यही कुरालाई हामी लैंगिक विभेद वा लैंगिक राजनीतिका दृष्टिले पनि व्याख्या गर्न सक्छौं। किन प्रायः थिएटर वा सिनेमामा निर्देशक पुरुष नै छन्। किनभने घर, समाज वा अनेकौं अन्य अधिकार-सम्पन्न संस्थामा पनि उनीहरू नै निर्देशक छन्। यो प्रतिकात्मक उदाहरण सुन्दा रमाइलो लाग्छ, तर भोगाइ निकै पिडादायी छ। 

कपालको लम्बाइ कति राख्ने? कस्ता किसिमका लुगा लगाउने? कसरी हाँस्ने? बोल्दा स्वरको मात्रा कतिसम्म ठूलो पार्न पाइने? साथी को बनाउने? कति पढ्ने? बिहे गर्ने कि न नगर्ने? गर्दा कोसँग गर्ने? बच्चा कहिले पाउने? कतिवटा पाउनेदेखि बच्चाको लिंग छान्नेसम्मका निर्णय कोही ‘महान्’ निर्देशकले गर्छन्। महिला कलाकार त्यसमा उस्तै भव्यसँग अभिनय गर्छिन् र यो समाजको रंगमञ्चमा उच्च सम्मानका साथ मञ्चन हुन्छ। रंगमञ्च वा फिल्ममै यस किसिमको अभिनय सजिलो काम पक्कै हैन, महान् शिल्प नै हो। तर समाजमा यस किसिमको निर्देशनअनुसार बाँच्नु आजको समयमा कहालीलाग्दो र एकदमै कुरूप अभिनय हो। आआफ्ना परिवेशअनुसार जिन्दगीका महान् अभिनेत्रीहरूले आफ्ना दुःख अनुभूत गरिरहेकै छन्। कोही कोही चेतनशील निर्देशक पनि होलान्, जसले अभिनेत्रीका स्थिति पनि बुझ्न सक्लान्; अपवाद। 

एउटा सामान्य उदाहरण यहाँ राख्छु– घरभित्रको हैन, सामाजिक व्यवहारको। नायिका प्रियंका कार्कीको गर्भावस्थाका तस्बिरलाई सामाजिक सञ्जालमा जसरी प्रस्तुत गरियो र त्यसप्रति पुरुषहरूबाट जे जस्ता टिकाटिप्पणी भइरहेका छन्– समाजको रंगञ्चमा पुरुष निर्देशक भएको र महिला कलाकार भएको तीतो यथार्थ हो यो। प्रियंका कार्की महिला हुन्। त्यसैले उनले के गर्न हुन्छ र के गर्न हुन्न, उनी आफैंलाई थाहा हुन्न। यो कुरा उनलाई अरूले भनिदिनुपर्छ। अरूले? केको अरूले? हरेक महिलालाई उसले के गर्ने वा नगर्ने भन्ने कुरा यस देशमा पुरुषले नै सिकाउनपर्छ। यस्तो कुरा पुरुषलाई मात्रै थाहा हुन्छ। किनकि समाजका निर्देशक त उनीहरू नै हुन्।

म कलाकारकी ‘नकलाकार’ श्रीमतीका रमाइला अनुभव धेरै छन्।  केही महिनाअघि मैले वर्षाैंदेखि भेटिरहेको र कुराकानी गरिरहेको एक जना बहिनीसँग भेट भयो। हालचालपछि सोधिन्, ‘थिएटरमा नाटक हुन थालेको हो अब? कुन गर्दै हुनुहुन्छ?’

कोरोना महामारीले लामो समय बन्द रहेको नाट्यघरमा फेरि नाटक सुरु भएकामा उनी खुसी देखिन्थिन्।

मैले भनें, ‘हुन थालेछ। मैले पनि हेरें, एउटा। अब कुन नाटक मञ्चन हुँदै छ त थाहा छैन।’ 

उनले अचम्म मान्दै भनिन्, ‘नजिस्किनु न!’

मैले भनें, ‘मलाई थाहा हुन्न, म त्यहाँ काम गर्दिनँ।’

उनी छक्क परिन् र भनिन्, ‘मलाई तपाईं नाटक गर्नुहुन्न भन्ने थाहा नै थिएन। तपाईंका श्रीमान् निर्देशक हुन्। त्यही पनि तपाईंले नाटक खेल्नुभएको छैन!’ 

कति बुझ्झकीहरूलाई लागेको होला– ती बहिनीले कस्तो बेवकुफ कुरा गरिन्! यति सामान्य कुरा पनि किन बुझिनन्! खासमा ती बहिनी त एउटा सामान्य उदाहरण मात्रै हुन्। यसभन्दा अति सामान्य कुराहरूमा हाम्रा बुझाइमा गडबडी छ। म निर्देशक श्रीमानकी श्रीमती अवश्य हुँ। तर मेरो आफ्नै काम छ। म आत्मनिर्भर छु। यो कुरा बुझाउन मलाई गाह्रो छ।

नाटकघर खोलेर नाटक निर्देशन गर्ने, नाटक सिकाउने, आफू पनि अभिनय गर्ने मानिससँग विवाह भएको यति लामो समय भइसक्दा हामीसँग परिचय गर्न आउने मनिसहरूले मलाई के काम गर्छौ भनेर सोधेको सम्झना छैन। मेरा कामबारे मसँग काम गर्ने मेरा केही साथी र परिवारका सदस्यबाहेक अन्य सबैजसोले मलाई ‘युवराजकी श्रीमती’ भनेर चिन्छन्। तीमध्ये धेरैले म ‘श्रीमानबाट निर्देशित’ एक कलाकार नै हो भन्ने सोच्छन्।

छोरी मान्छेका पनि आफ्नै याेग्यता र रुचिका काम हुन्छन् वा विवाहित महिला पनि आफ्नै क्षमताले कुनै इज्जतिलो काम वा पेसा गर्न सक्छे वा उसको आफ्नै परिचय हुन सक्छ भनेर हामी अझै स्वीकार गर्न सक्दैनाैँ। श्रीमान् र श्रीमतीका अलग अलग पेसा, रुचि, प्राथमिकता हुन्छन् वा हुन सक्छन् भन्ने बुझाइ नहुँदा आफ्नो लोकेसनबाट बाहिर निस्कनेबित्तिकै हामीलाई अपमानबोध हुन्छ। सार्वजनिक जीवनमा निस्कनासाथ फरक–फरक लोकेसनमा फरक–फरक पुरुषको पहिचानको ‘ट्याग’ आवश्यक परिहाल्छ। 

युवराज नाटक निर्देशक हुन्। मानिसहरू मलाई कलाकार ठान्छन्। म कहिलेकाहीँ यसलाई अर्को अवस्थासँग तुलना गरेर हेर्छु– म नाटक निर्देशक भएको भए मानिसहरूले युवराजलाई कलाकार ठान्थे होलान्? महिलामा पुरुष नियन्त्रण सचेत र अचेत दुवै प्रकारको हुन्छ। पुरुष आफूलाई महिलाभन्दा बढी क्षमतावान् र सक्षम ठान्छन्। यो कुरा खुलेर स्वीकार पनि गर्छन्।

‘प्राकृतिक रूपमै महिलाभन्दा पुरुष बलिया र सक्षम हुन्छन्’ भन्ने वर्षौंदेखिको गलत व्याख्या र बारम्बारको रटानले कति महिलालाई पनि ‘यस्तै हो कि’ भन्ने भ्रम भएको देखिन्छ। तर महिलालाई कमजोर बनाउने तत्त्व यो मात्रै हैन। आफूलाई शिक्षित र सचेत ठान्ने हामी पुरुष र महिला पनि आफूमा रहेको पुरुषप्रधान दृष्टिकोणबारे सचेत छैनौं। 

केही वर्षअघि म कामको सिलसिलामा म्यानमरको यङ्गुनमा थिएँ। त्यहाँ बाहिरबाट आएर विभिन्न संस्थामा काम गरिरहेका मानिसको सानो समुदाय थियो। नेपालबाट भने म मात्रै कामका लागि गएकी महिला थिएँ र युवराज मेरो ‘डिपेन्डेन्ट’ भिसामा थिए। पहिलोपटक हामीलाई भेट्ने नेपाली वा दक्षिण एसियालीले मलाई अरूजस्तै श्रीमानको डिपेन्डेन्ट भिसामा आएकी श्रीमती नै सोच्थे। उनीहरूलाई यो कुरामा आश्चर्य थियो– युवराज छोटै समयका लागि भए पनि मेरो ‘डिपेन्डेन्ट’ भएर यङ्गुन बसिरहेका थिए। अर्थात्, श्रीमतीको जागिरले उनी त्यहाँ पुर्याइएका थिए। यङ्गुनस्थित नेपाली समुदायका आक्कलझुक्कल हुने भेटघाटमा पुरुषहरू एक समूह बनाएर बस्थे। जहाँ देश, विदेश, राजनीति, साहित्य वा यस्तै ‘महत्त्वपूर्ण’ विषयमा गफगाफ चल्थे। महिलाहरूको अर्को समूह हुन्थ्यो, जहाँ खाना, लुगा, गहना र यङ्गुनका अन्य अनुभवबारे कुराकानी हुन्थे। म सोच्थें– यो समूहका सबै महिलालाई यी विषयमा गफगाफ गर्ने रुचि होला त? कि उनीहरू पनि राजनीति वा अन्य त्यस्तै विषयमा गफ गर्न वा अरूले गरेका गफ सुन्न चाहन्छन्?

अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा कसले जित्छ भन्ने विषयको गफ पुरुषले मात्र गर्नुपर्ने र मूलाको अचारमा कुन कुन मसला राख्दा मीठो हुन्छ भन्ने विषयको कुरा मात्र महिलाले गर्नुपर्ने नियमलाई समाजले जसरी स्वीकार गरेको छ– महिला–पुरुष विभेदको अचेत स्वरूप हो, जसलाई शिक्षित भनिने मानिसले पनि स्वीकार गरेका छन्। 

तर आज पनि ठूलो संख्यामा मानिसले यो अवस्थालाई एकदमै पश्चगामी वा हेलाका दृष्टिले हेरेको पाएकी छु।

‘महिलाहरूलाई नै लुगा, गहनाको कुरा गर्दा खुसी लाग्छ, नत्र कसले रोकेको छ त राजनीतिबारे कुरा गर्न?’

यस्ता धेरै प्रश्नले, दलनमा परेका महिलाहरूलाई अझै अपमान र निरुत्साहन गर्ने स्थितिमा पुर्याएको छ। किन यस्तो भइरहेको छ? सयौं वर्षदेखिको अभ्यासले महिलालाई मेरो ठाउँ भान्साकोठा नै हो भनेर स्वीकार्ने कसरी बनायोे? लुगाका किसिम, रङ छनोटदेखि नैतिकता र इज्जतका परिभाषासम्म महिलालाई पुरुषभन्दा कसरी फरक र कमजोर बनाउन प्रयोग गरियो?

यस्तो संरचना भत्काउन जरुरी छ।

एकखाले मानिसले महिलालाई अझै हेपिरहन प्रयोग गर्ने अर्को वाक्य हो– ‘हाम्रो संस्कृति र संस्कार संसारमै महान् छ। यसलाई नबिगारौं।’

कथित सभ्य संस्कृति जोगाइदिने ठेक्का महिलाहरूको मात्र हैन र उनीहरूले के गर्ने वा नगर्ने भन्ने फेहरिस्त पुरुषले बनाउन जरुरी छैन। महिलाहरूलाई सोच्ने ठाउँ दिऊँ। उनीहरूले आफ्नाबारे आफैं सोच्न सक्छन्। सयौं वर्षदेखि लैंगिक विभेदको जालोमा पारेर पुरुषले आफूलाई आम जीवनमा पनि निर्देशक ठान्ने र महिलालाई कठपुतलीजस्तो नियन्त्रणमा राख्न खोज्ने अभ्यासले गर्दा समग्र महिला वर्गमा पनि खासमा प्राकृतिक चलन नै यस्तै हो कि भन्ने भ्रम पर्नु स्वाभाविक हो। किनभने यो अन्धविश्वास र कुसंस्कार हटाउन सकिएको छैन। र, त्यति सजिलै हट्ने स्थितिमा पनि छैन। 

पीडकहरूले पनि सामाजिक–सांस्कृतिक अभ्यास जस्तो चलिरहको छ, त्यसलाई पृथ्वीको उत्पत्तिदेखिकै प्राकृतिक प्रक्रियाका रूपमा व्याख्या गर्न खोजेको देखिन्छ। मानौं, यस किसिमको विभेद हट्यो भने प्रकृति ध्वस्त हुनेछ! हावा चल्न छाड्नेछ! घुम्न छाडेर पृथ्वी टक्क रोकिनेछ! घाम उदाउन छाड्नेछ! अर्कातर्फ यस्तै धार्मिक समूह पनि छन्– प्रायः सबै धर्ममा। उहाँहरूको सोचअनुसार पनि यो विभेदकारी सामाजिक– सांस्कृतिक अभ्यास ‘ईश्वर’ले संसार चलाउन गरेका हुन्, त्यसैले यसविरुद्ध जानु भगवानकै खिलाफमा जानु हो। यस्ता भ्रमका भयद्वारा पुस्तौंदेखि नियन्त्रणमा राखिएका कारण छोरी मान्छेहरूले विद्रोह गर्न सकिरहेका छैनन्। तर खाँट्टी कुरा के हो भने समाजमा व्याप्त जति पनि विभेदकारी र लैंगिक हिंसात्मक अभ्यास छन्, सबै मानव-निर्मित हुन्। 

यस्ता संस्कार/चलन एकखाले मानिसको फाइदाका लागि बनाइए। जसलाई भत्काउनु भनेको समाजलाई विभेदरहित र सुन्दर बनाउने प्रयत्न गर्नु हो। सम्झनुस् त– छोरीहरू पनि उत्तिकै सम्मानित मान्छे भए समाज कति सुन्दर हुन्थ्यो होला! उनीहरूका पनि आफ्नै बौद्धिक काम/पेसा हुन्छन् भन्ने वास्तविकता स्थापित गर्न सके पुरुषलाई नै कति सजिलो हुन्थ्यो होला! यस्तो भयो भने पौलोमी बसुले जस्तै अन्य महिला रंगकर्मीहरूले सोच्नु पर्दैन थियो होला! 

साउन २२, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .