छापा खबर


चियापानमा देउवाले भने -सीले निम्तो दिनुभएको छ, चीन जान्छु !

 चियापानमा देउवाले भने -सीले निम्तो  दिनुभएको छ, चीन जान्छु !

नेपालखबर
असोज २७, २०७६ सोमबार १:४१,

प्रमुख प्रतिपक्षी दल कांग्रेसले विजयादशमी, तिहार, छठ तथा नेपाल संवत्लगायत चाडपर्वको अवसरमा आइतबार चियापान कार्यक्रम आयोजना गरेको छ ।

विगतका वर्षभन्दा निकै व्यवस्थित देखिएको कांग्रेस चियापानमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चर्चा पाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, राजपा नेपालका संयोजक महन्थ ठाकुरलगायतले सम्बोधन गरे।

नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा संस्थागत विकासमा नेपालका राजनीतिक दलबीच रहँदै आएको एकता र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेसको चियापानमा पार्टीका सबै शीर्षस्थ नेता तथा केन्द्रीय सदस्यको उपस्थिति थियो ।

०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बिपी कोइरालाले ०३४ सालको दसैँको कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेका थिए ।

त्यसयता कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाकै दिन शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ।

चियापानमा कसले के भने?
कांग्रेससँगको सम्बन्ध सुध्रिन्छ
केपी ओली, प्रधानमन्त्री
कांग्रेसले आयोजना गरेको यस प्रकारको चियापान कार्यक्रमले राजनीतिक दलहरूबीचको कटुता हटाउँछ । सम्बन्ध बिग्रियो भने पनि यस्ता कार्यक्रमले सुधार गर्छ । म निम्ता मान्न आएपछि सम्बन्ध बिग्रेको भए पनि सुध्रिन्छ।

सीले भ्रमणको निम्तो दिनुभएको छ, चीन जान्छु
शेरबहादुर देउवा, सभापति, कांग्रेस
चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको छ । नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण छ, अझ घनिष्ट हुनेछ । नेपालको विकासमा चीनले सहयोग गर्दै आएको छ ।

आगामी दिनमा पनि गर्नेछ भन्ने आशा लिएको छु । राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिनुभएको छ, म जान्छु । कांग्रेसले गर्दै आएको चियापान कार्यक्रमले राजनीतिमा भएको मतभेद हटाउने, भेटघाट र सँगै चिया खाने संस्कृतिको विकास भएको छ । राजनीतिक समस्या पनि छलफल र वार्ताबाट समाधान हुन्छ भन्ने देखाएको छ ।

कांग्रेससँग फेरि सहकार्य हुन सक्छ
पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष, नेकपा
चियापान राष्ट्रिय राजनीतिक संस्कृतिजस्तै भएको छ । मलाई कांग्रेसको चियापान नेपालका परिवर्तनका सहयात्रीको चियापानजस्तो लाग्छ ।

यसले कांग्रेसको मनोबल विगतभन्दा बढ्दै गएको देखेको छु । राजनीति यस्तै हो, असम्भव भन्ने केही छैन । शान्तिप्रक्रिया, संविधानसभाको घोषणालगायत महत्वपूर्ण उपलब्धि स्वर्गीय गिरिजाप्रसाद कोइराला र मबीचको सहकार्यले पनि यसलाई प्रमाणित गरेको छ ।

हेर्दै जाऊँ, अब राजनीतिले कस्तो कोल्टे फेर्छ, कांग्रेससँग फेरि सहयात्रा र सहकार्य हुन सक्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad