छापा खबर


नेपाल-चीन अब रणनीतिक साझेदार

नेपाल-चीन अब रणनीतिक साझेदार

नेपालखबर
असोज २७, २०७६ सोमबार १:५१,

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणले राजनीतिक र कूटनीतिक अर्थमा महत्त्वपूर्ण संकेत छाडेको छ।

दुई देशबीच विकास र समृद्धिमा साझा रणनीति तय गर्नु उपयुक्त हुने धारणा राख्दै ‘बाचा गरेका प्रतिबद्धताहरू पूरा गर्नैपर्ने’ अडान दोहोर्‍याएर सीले राजनीतिक वृत्तमा पनि गतिलो सन्देश दिएका छन् ।

सीको भ्रमणपछि आइतबार अपराह्न परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपाल–चीनको द्विपक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको र दुई देश विकास र समृद्धिको रणनीतिक साझेदार बन्न सक्ने साझा अभिमत अभिव्यक्त भएको छ।

साझेदार बन्न सकिने सूत्र भनेर राष्ट्रपति सीले ‘हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल’ को प्रस्तावनालाई दह्रिलो रूपमा विभिन्न बहुपक्षीय समझदारीमार्फत अघि बढाएका खबर आजको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन्।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा नेपाल निकै महत्त्वको छिमेकी हो भनेर चीनले बाहिरी विश्वलाई देखाएको छ,’ पूर्वराजदूत केदारभक्त माथेमाले सी भ्रमणको मूल्यांकन सुनाउँदै भने, ‘कतैबाट पाइने सहयोग रकम अथवा सम्झौताका बुँदाभन्दा पनि आफ्ना लागि नेपाल महत्त्वपूर्ण छ भन्ने चीनको यो सन्देश आफैंमा ठूलो कुरा हो।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक स्थिरतासँगै नेपाल बाहिरी विश्वमा ‘देखिँदै र सुनिँदै गएको’ उदाहरणका रूपमा चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणलाई लिन सकिने प्रतिक्रिया दिए ।

सडक, बन्दरगाह, नाका, हवाई सम्पर्क र रेलवे सञ्जालमार्फत विकास(समृद्धिको अभियानलाई अघि बढाउने राष्ट्रपति सीको घोषणालाई तात्कालिक होइन, दीर्घकालीन रूपमा अर्थपूर्ण मान्नुपर्ने चीन मामिलाका जानकार मदन रेग्मीले बताए ।

‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउनु नै यो युगको महत्त्वपूर्ण घटना हो,’ उनले थपे, ‘नेपाललाई विकास र समृद्धिको रणनीतिक साझेदार बनाउने भन्ने चिनियाँ प्रतिबद्धताले हाम्रो मैत्री र सम्बन्धको पुनर्व्याख्या भएको छ । अझ नेपाललाई दक्षिण एसियाको गेटवे बनाउने भनेर आएको चिनियाँ धारणा कूटनीतिक अर्थमा उत्तिकै महत्त्वपूर्ण छ।’

‘राष्ट्रपति सीले बाचा पूरा गर्नुपर्छ भनेर कुनै अलौकिक कुरा गरेका होइनन्, बरु यो हाम्रो पद्धतिका लागि एउटा गतिलो सुझाव हो,’ उनले भने, ‘यो अहिलेको सरकारलाई मात्रै भनिएको होइन, जनतालाई आशा र सपना बाँडेर काममा कहींकतै नदेखिने पद्धतिमाथि प्रहार गरिएको हो । यसलाई विशेषतस् राजनीतिक पंक्तिले बुझ्न सक्नुपर्छ।’

यसैगरी राष्ट्रपति सीले ‘अब नेपाल भूपरिवेष्टित रहँदैन, भूजडित अवस्थामा जानेछ’ भनेर विकास र समृद्धिको सकारात्मक सन्देश दिएको उनको बुझाइ छ । यो बलशाली सन्देशका कारण सीको भ्रमण अर्थपूर्ण रहेको उनले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad