ad ad

छापा खबर


नेकपा-चिनियाँ कम्युनिस्ट पार्टीबीच पुरानाे सम्बन्धः गुरिल्ला तालिमदेखि ६ बुँदे समझदारीसम्म

नेकपा-चिनियाँ कम्युनिस्ट पार्टीबीच पुरानाे सम्बन्धः गुरिल्ला तालिमदेखि ६ बुँदे समझदारीसम्म

नेपालखबर
असोज २५, २०७६ शनिबार २:१५,

सन् १९२१ मा स्थापित चिनियाँ कम्युनिस्ट पार्टी र सन् १९४९ (२००६) सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीबीच करिब सात दशक पुरानो सम्बन्ध छ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा सैन्य आयोगका प्रमुखसमेत रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई पार्टीबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आज नेपाल भ्रमणमा आउँदै छन्।

गत ७ असोजमा काठमाडौंमा सम्पन्न नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) बीचको वैचारिक अन्तरक्रियालाई सी भ्रमणकै गृहकार्यको एउटा कडिका रूपमा हेरिएको थियो।

६ बुँदे सम्झौतामार्फत नेताहरूले दुई पार्टीबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उद्घोष गरेका थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

माओ त्सेतुङको नेतृत्वमा क्रान्ति सम्पन्न भएपछि चिनियाँ अनुभवको नक्कल गर्दै नेपालमा पनि जनवादी क्रान्ति गर्ने उद्देश्यले नेकपाका तत्कालीन महासचिव पुष्पलालले नेता गौरीभक्त प्रधानलाई गुरिल्ला तालिमका लागि चीन पठाएका थिए।

मुस्ताङको बाटो हुँदै चीन पुगेका प्रधान तीन वर्ष गुरिल्ला युद्धको तालिम लिएर स्वदेश फर्किए । चीनमा रहँदा विभिन्न तालिम र प्रशिक्षण लिएका उनले ‘मेरा सम्झनाहरू’ नामक पुस्तकमा त्यसको अनुभव उल्लेख गरेका छन्।

त्यस्तै, नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य ०१४ मा मजदुर दिवसमा भाग लिन चीन पुगेका थिए।

दोस्रो महाधिवेशनबाट महासचिवमा निर्वाचित तत्कालीन महासचिव मनमोहन अधिकारी करिब साढे तीन वर्ष चीन बसेर फर्किएका थिए।
उनी चीनमै रहेका वेला तत्कालीन महासचिव केशरजंग रायमाझीको नेतृत्वमा पुष्पलाल ०१५ मा चीन भ्रमणमा गएका थिए।

महासचिव माओत्सेतुङले मनमोहनलाई विमानस्थलमै लिन गएर नेकपासँगको सम्बन्धलाई उच्च महत्व दिएको केन्द्रीय सदस्य सूर्य थापा स्मरण गर्छन्। ‘साढे ६ दशकअघि मनमोहनलाई माओले विमानस्थलमै पुगेर स्वागत गर्नुले दुई कम्युनिस्ट पार्टीबीच लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको पुष्टि हुन्छ,’ थापाले भने

भूमिगत कालमा तीन साता पैदल हिँडेर चीन भ्रमण
३० को दशकमा भूमिगत कालमा माले (०३५) गठन भएपछि महासचिव सिपी मैनाली, जीवराज आश्रित, माधव नेपाल, ईश्वर पोखरेल, अमृत बोहराले राज्यको आँखा छल्दै हिमाली बाटो छिचोलेर तिब्बत हुँदै दुईपटक चीन भ्रमण गरेका थिए।

दोलखाको बिगु हुँदै तीन सातामा मैनाली र पोखरेल (०३८) तथा नेपाल, आश्रित र बोहरा (०३९)मा दुई चरणमा चीन पुगेर फर्किएका थिए । त्यतिवेला उनीहरूले विचार, अनुभव आदान–प्रदान गर्नुका साथै कार्यनीतिमा केन्द्रित रहेर छलफल चलाएका थिए । ‘घाँस विशेषज्ञ बनेर लेक चहारेँ, उपयुक्त छोटो बाटो फेला परेपछि नेताहरूको भ्रमण गराउने कामको अगुवाइ गरेको थिएँ,’ बोहोरा स्मरण गर्छन्।

टाइमलाइनः नेकपा नेताहरूको चीन भ्रमण

 मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमर शाह (०१३ भदौ)

नरबहादुर कर्माचार्य (सन्२०१४ मे दिवस)

पुष्पलाल, केशरजंग रायमाझी, पिबी मल्ल (०१६)

सिपी मैनाली र ईश्वर पोखरेल (०३८)

माधवकुमार नेपाल, जीवराज आश्रित, अमृत बोहरा (०३९)

मदन भण्डारीको भ्रमण (०४९)

माधव नेपालको भ्रमण (०५० पछि तीनपटक)

प्रचण्ड प्रधानमन्त्रीका रुपमा दुईपटक (०६५ र ०७३)

झलनाथ खनाल (०७१)

केपी ओली (०७६)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .