चिकित्सा शिक्षा ऐनले तोकेअनुसारको योग्यता नै नपुगेका प्रा.डा. श्रीकृष्ण गिरीलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलको जोडबलमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति गरिएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले गिरीलाई नियुक्त गरेको हो।
लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सिफारिस समितिले २९ साउनमा आयोग उपाध्यक्षका लागि गिरीसँगै डा. सुरेन्द्र शेरचन र डा. शम्भु पहारीको नाम सिफारिस गरेको थियो। तर, तीनैजनाको आयोग उपाध्यक्षका लागि आवश्यक योग्यता नपुगेपछि प्रश्न उठेको थियो। त्यसमाथि पनि गिरी तेस्रो नम्बरमा सिफारिस भएका व्यक्ति हुन्।
उपाध्यक्ष हुन मेडिकल शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरी २० वर्ष चिकित्साशास्त्रको अनुभव लिनुपर्छ। जुन अनुभव तीनैजना दाबेदारमा थिएन। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।
त्यस्तै, चिकित्सा शिक्षा अध्यापनमा कम्तीमा १० वर्षको अनुभव र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएका उम्मेदवार पनि उपाध्यक्षका लागि योग्य मानिने प्रावधान छ। यो मापदण्ड पनि कसैले पूरा गरेका छैनन्।
उपाध्यक्षमा नियुक्त गिरीको विशेषज्ञता सन् २००२ मा दर्ता भएको हो । तर, दश वर्ष मेडिकल कलेजमा पढाएको अनुभव उनीसँग पनि छैन। गिरीले एमएस गरेका छन् जो दुई वर्षको मात्र कोर्स हो।
मेडिकल शिक्षामा तीनवर्षे कोर्सलाई मात्रै स्नातकोत्तर मानिन्छ। सिफारिस तीनै व्यक्तिको योग्यतामाथि प्रश्न उठेपछि प्रधानमन्त्रीले उपाध्यक्ष नियुक्ति प्रक्रिया लम्ब्याउँदै आएका थिए । तर, गिरीलाई नियुक्त गर्न शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्रीलाई दबाब दिएको स्रोतको दाबी छ।

प्रतिक्रिया