छापा खबर


नेपाली श्रमिकलाई मलेसिया खुला, यस्ता छन् सेवासुविधा

नेपाली श्रमिकलाई मलेसिया खुला, यस्ता छन् सेवासुविधा

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार १:३,

१५ महिनादेखि नेपाली कामदारका लागि बन्द मलेसियाको रोजगारी आइतबारदेखि खुल्ने भएको छ ।

कुनै पनि शुल्क नतिरी रोजगारीमा जान पाउने व्यवस्थामा नेपाल र मलेसिया सरकारबीच बिहीबार सहमति भएसँगै नेपाली कामदार पुनः मलेसिया जान पाउने भएका हुन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

यसअघि स्वास्थ्य परीक्षण तथा भिसा प्रक्रियामा सिन्डिकेट कायम गरी कामदारमाथि ठगी गर्दै आएका संस्थालाई कारबाही गरेपछि नेपाली कामदार मलेसिया जाने क्रम रोकिएको थियो ।

‘स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रणालीमा सिन्डिकेट अन्त्य गर्ने तथा कामदार लैजान रोजगारदाताले नै सम्पूर्ण खर्च बेहोर्ने सहमति भएपछि मलेसियाको रोजगारी खुलेको छ,’ श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए ।

मलेसियाले शून्य लागतमा नेपाली कामदार लाने गरी दुई सरकारबीच गत वर्षको १२ कात्तिकमै श्रम सम्झौता भएको थियो । तर, सेक्युरिटी गार्डमा जाने कामदारका हकमा त्यो सहमति कार्यान्वयन नगर्ने अडान मलेसियाले लिएको थियो ।

सेक्युरिटी गार्ड पनि सोही सहमतिअनुसार लैजान तयार भएपछि कामदार मलेसिया पठाउने विषयमा सहमति भएको श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव घिमिरेले बताए । घरेलु श्रमिकका हकमा भने मलेसियामा यससम्बन्धी कानुन नभएकाले थप छलफल गरिने भएको छ ।

सम्झौताअनुसार कामदार आउजाउ हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँचलगायत सबै शुल्क रोजगारदाताले व्यहोर्नेछ । यसअघि नेपाली कामदारले भुक्तानी गर्दै आएको लेबी पनि नलाग्ने भएको छ । नेपाली कामदारको मलेसियामा करार अवधि दुई वर्षको हुनेछ ।

यसअघि तीन वर्ष तोकिएको थियो । नेपाली कामदारले पनि मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउनेछन् । साथै अतिरिक्त समय काम गरेबापत थप पारिश्रमिक तथा सेवा–सुविधा पनि पाउनेछन् ।

नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौताअनुसार रोजगारदाताले कामदारका लागि उचित कार्य गर्नुपर्ने, सही वातावरण र वासस्थानको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य तथा सुरक्षाको व्यवस्था गर्नुपर्नेछ ।

दुई सरकारबीच भएको सम्झौताअनुसार नेपाली कामदार मलेसियाको विमानस्थल पुगेको ६ घन्टाभित्र गन्तव्यस्थलमा लैजानुपर्नेछ । रोजगारदाता लिन नआउँदा अबदेखि नेपाली कामदार विमानस्थलमा नै अलपत्र पर्नुपर्ने छैन।

सहमतिअनुसार कामदार र रोजगारदाताबीच श्रमसम्बन्धी कुनै विषयमा विवाद भए सम्बन्धित निकायले मुद्दा किनारा नलगाएसम्म कामदार मलेसिया बस्न पाउनेछन्।

मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकटतम सदस्यहरू (बाबु, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने व्यवस्था मिलाइनेछ।

कार्यस्थलमा हुने कामदारको दुर्घटना बिमा र स्वास्थ बिमालाई मलेसियाको कानुनले लागू गरेको व्यवस्था नेपाली कामदारका हकमा पनि लागू हुनेछ । रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाता कम्पनीले व्यहोर्नुपर्नेछ।

सहमतिअनुसार कामदारले हरेक महिनाको ७ गतेसम्म बैंक खातामा आफ्नो तलब पाउनेछन् । कामदारले आफनो पासपोर्ट आफैँसँग राख्न पाउनेछन्, रोजगारदाता कम्पनीले कब्जा गर्न पाउनेछैन।

मेडिकल, सेक्युरिटी क्लियरेन्स र म्यानपावरको सेवाशुल्क रोजगारदाताले कामदारलाई पहिलो महिनाको तलब दिँदा नै रिफन्ड गर्ने समझदारीपत्रमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad