छापा खबर


अब ‘सयौं थुँगा...’ गाएर मात्रै पशुपतिमा आरती !

अब ‘सयौं थुँगा...’ गाएर मात्रै पशुपतिमा आरती !

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार २३:४६,

चलचित्र हल र पशुपति मन्दिर परिसरमा साँझको आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउनुपर्ने सरकारको नयाँ नियम सुनेर राष्ट्रिय गान छनोट समितिका संयोजक सत्यमोहन जोशी छक्क परेका छन्।

उनी भन्छन्, ‘राष्ट्रसँग सम्बन्धित समारोहमा मात्र राष्ट्रिय गान गाउनु सान्दर्भिक हुन्छ । बिहे भोज, व्रतबन्ध, पास्नी जहाँसुकै बजाउन मिल्दैन।’

सरकारले आगामी संविधान दिवस (असोज ३) देखि चलचित्र हलमा चलचित्र र तत्कालै लागू हुने गरी पशुपति मन्दिर परिसरमा साँझको आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउनैपर्ने र राष्ट्रिय झन्डा फहराउनुपर्ने निर्णय गरेपछि अनेक टिप्पणी भइरहेका छन्।

सामाजिक सञ्जालमा यसलाई लोकतान्त्रिक गणतन्त्रमा पञ्चायती राजको झल्को भनेर टिप्पणी गरिएको छ। ‘पारि किनारमा राखिएको लासलाई श्रद्धाञ्जली र शोकाकुललाई समवेदना। त्यो वातावरणमा ‘सयौं थुँगा...’ राष्ट्रगानको यो जस्तो दुरुपयोग अरू के हो।’ सामाजिक सञ्जालमा प्रतिक्रिया छ, ‘राष्ट्रिय गानलाई नाचगान बनाउन खोजिँदै छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा पशुपति मन्दिरमा एक साताअघि प्रत्येक दिन साँझ हुने आरती अगाडि राष्ट्रिय गीत बजाउन थालिएको हो।

यो खबर आजको कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन्।

संविधान दिवसदेखि चलचित्र हलमा राष्ट्रिय गान बजाउने निर्देशन भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सबैजसो मन्त्री र सचिवसहितको बैठकले दुई साताअघि दिएको हो।

सरकारले संघीय संसद्मा पेस गर्न तयार गरेको ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक’ मा समेत सबै फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था छ ।

मानवशास्त्री सुरेश ढकाल राज्यसत्ताले आफू कमजोर भएका बेला मात्र नागरिकलाई आफूप्रति बफादार रहेको देखाउन यस्ता हतकण्डा गर्ने गरेको बताउँछन्।

‘राष्ट्र र नागरिकबीचको सम्बन्ध अन्योल भएका बेला हो यो, जग नभएको जस्तो,’ ढकालले भने, ‘राज्य बलियो भयो नागरिक स्वस्फूर्त नतमस्तक बन्छन्। पहिले प्रयोग गरेर छाडिसकेको परम्परा हो यो। राज्यको अधीनमा तिमीहरू छौ भनेर बल प्रयोग गरेजस्तो देखियो।’

दैनिक व्यवहारमा राष्ट्रिय गान गाउँदा राष्ट्रप्रति सम्मान कम हुने ढकालको तर्क छ। सडक पेटीका व्यापारी र राज्यको उच्च ओहदामा बसेका प्रधानमन्त्रीबीच राष्ट्रप्रतिको बुझाइ फरक पर्ने गरेको उनले बताए।

उनले भने, ‘राष्ट्रिय गान ख्यालठट्टाको विषय होइन। आरतीका बेला, फिल्म हल वा जुनसुकै बेला गाउने हो भने उल्टो परिणाम आउँछ।’ चलचित्र हल वा आरती गर्दैगर्दा राष्ट्रिय गान बजाउँदा सहभागी नउठे कारबाहीको भागीदार हुन सक्ने उनी बताउँछन्।

इतिहासविद् त्रिरत्न मानन्धर राष्ट्रिय गानप्रति सबैले सम्मान गर्नुपर्ने बताउँछन्। ‘राष्ट्रियता जनाउने समारोहमा राष्ट्रिय गान बजाउनु ठीक हो,’ उनले भने, ‘सिनेमा हल, आरती जताततै गाउँदा राष्ट्रिय गानको सम्मान हुन सक्दैन।’

राष्ट्रिय गानका रचयिता व्याकुल माइला सरकारको नीतिप्रति आफ्नो व्यक्तिगत टिप्पणी नरहेको बताउँछन्। ‘राष्ट्रिय गान बजाउने सरकारको नीतिप्रति मेरो टिप्पणी छैन, सकारात्मक रूपमा हेरेको छु,’ उनले भने, ‘राष्ट्रिय गान बज्दा सरकारको उपस्थिति देखिएला। राष्ट्रिय आदर्श संस्कृति निर्माण हुन सक्ला। तर सबै ठाउँमा गाउन कतिको सम्भव छ भन्ने महत्त्वपूर्ण पक्ष हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad