छापा खबर


एसईई दिनासाथ १७ वर्षीया किशोरीले भागी विवाह गर्दा ....

एसईई दिनासाथ १७ वर्षीया किशोरीले भागी विवाह गर्दा ....

नेपालखबर
भदौ १५, २०७६ आइतबार ३:१२,

“रातभर सुत्न पाउँदिनँ, अनिँदो रहनुपर्दा दिनमा नि काम गर्न सक्दिनँ अनि सुरु हुन्छ सासूको कचकच,” यी भनाइ हुन् १६ वर्षमै भागी विवाह गरेपछि १७ को उमरमै आमा बनेकी सवनम स्याङ्तानको।

नुवाकोट तादी गाविस, अमारे–६ निवासी आफैँ खेल्ने उमेरकी स्याङ्तानले बच्चा जन्माएपछि पाएको सास्ती बयान गर्दै भन्नुहुन्छ, “मैले स्याहार्न नजानेर हो कि, के भएर हो, बच्चा धेरैजसो रातभर रोइरहन्छ, बच्चालाई रुवाएको भन्दै घरका सबैले गाली गर्छन्।”

सवनमले २०७४ सालको एसईई परीक्षा दिएपछि नतिजा पनि नकुरी प्रेमीसँग भागेर विवाह गरिन्। त्यसको एक वर्षपछि नै आमा बनिन्।

“विवाह छिटो गर्नुहुन्न भनेर नजानेको पनि होइन, परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ भन्ने पनि थाहा थियो तर श्रीमानलाई छिट्टै बच्चा चाहियो, उहाँले पढ्नुभएको छैन, विवाह र बच्चा पाउने उमेरबारे मैले जानेर पनि व्यवहारमा लागू गर्न नसक्दाको परिणाम म झेल्दैछु,” उनले भनिन्।

हाल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना भई बच्चा जन्मने दिनको पर्खाइमा रहेका सुवास थिङको जोडीको वास्तविक कथा पनि सानै उमेरमा गर्भवती हुनुको बेफाइदासँगै जोडिएको छ।

सुवासकी श्रीमती डोल्मा पनि कक्षा ८ मा पढ्दै थिइन्। कक्षा १० मा पढ्ने सुवाससँगको प्रेम सफल बनाउन भागेर विवाह गरिन्। १७ वर्षको उमेरमा आमा बन्न लाग्दा पेटमा बच्चा नबढ्ने समस्या भएकाले अस्पताल नै भर्ना भएर उपचार गराउँदैछिन्।

कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यस्तो सन्देश दिने जिङ्गल सुने पनि व्यवहारमा भने कार्यान्वयन भएको छैन । सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या भने अहिले पनि कम छैन।

सानै उमेरमा आमा बन्नेको सङ्ख्या धेरै रहेको अस्पतालको तथ्याङ्कले पनि देखाउँछ । यो खबर आजको गोरखापत्र दैनिकमा नुवाकोटबाट शिवा तामाङले लेखेकी छन्।

पनौती नगरपालिका–१० खोपासीस्थित प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्याङ्कअनुसार ६२ जनाले सुत्केरी सेवा लिएकोमा १२ जना त २० वर्षभन्दा कम उमेरका किशोरी छन् ।

किशोरी आमा बन्दा पर्न सक्ने जोखिम र त्यसको दीर्घकालीन असर धेरै छन् । पहिलो कुरा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुन्छ।

पाठेघरको विकास नहुँदै आमा बन्दा बच्चा सानो, पाठेघरलाई असर पर्ने, बच्चा जन्मिहाले पनि आमा र बच्चा दुवैको शारीरिक र मानसिक विकासमा अवरोध आउँछ।

किशोरी आमा शिक्षाबाट वञ्चित हुन्छिन् । त्यसबाट उनी आत्मनिर्भर बन्ने सम्भावना समाप्त हुन्छ । आमा र बच्चाको आवश्यकता परिपूर्तिका लागि अरूको मुख ताक्नुपर्ने बाध्यता हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad