छापा खबर


सम्बन्धविच्छेदलगत्तै एक बच्चाकी आमाले अदालतमै गरिन् अर्काे बिहे!

सम्बन्धविच्छेदलगत्तै एक बच्चाकी आमाले अदालतमै गरिन् अर्काे बिहे!

नेपालखबर
भदौ ७, २०७६ शनिबार १:२८,

ओखलढुंगा जिल्ला अदालतमा ०७६ वैशाख अन्तिम साता सम्बन्छविच्छेद गर्न आएका जोडीसँग अर्का एक पुरुष पनि हाजिर भए।

उनी मुद्दाका साक्षी वा पक्षका आफन्त थिएनन्। पत्नीले सम्बन्धविच्छेदको मुद्दा हालेपछि सुनुवाइ क्रममा आएका भारतीय सुरक्षा फौजमा कार्यरत महिलाका पतिसँग अर्का पुरुष पनि देखेपछि अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले उनलाई मुद्दाका पक्षसँग आउनाका कारण सोधे।

ती पुरुषले सहज रूपमा जवाफ फर्काए, ‘म बिहे गर्न आएको।’ जवाफ सुनेपछि अदालतका कमृचारी छक्क परे। सम्बन्धविच्छेद गर्ने महिलासँग आफूले बिहे गर्न आएको बताएपछि ती पुरुष अदालत आउनुको रहस्य खुल्यो।

जारी तिरनेर अर्काकी पत्नी लैजान पाउने चलन गाउँघरमा अझै जिवित छ।

‘भागेर जाने र ल्याउने त धेरै छन्। छाड्ने र लाने एकैसाथ अदालतमा हाजिर भएर त्यहींबाट अर्काेसँग बिहे गरेर हिँडेको चाहिँ पहिलोपटक देखियो,’ अधिवक्ता गुरुबहादुर बस्नेतले भने, ‘एकातिर तोड्ने र अर्कातिर सहज रूपमा जोड्ने अनौठो घटना देखियो।’ याे खबर आजको  अन्नपूर्ण पाेस्टमा शिवप्रसाद ढुंगानाले लेखेका छन्। 

जागिर पतिसँगको सम्बन्धविच्छेदको प्रक्रिया पूरा हुनासाथ एक बच्चाकी आमा ती महिलाका खोटाङका सडक मजदुरसँग हिँडिन्।

उनले पूर्वपतिसँग कुनै सम्पत्ति वा अंश दाबी गरिनन्। मुद्दाका पक्षका कसैको पनि पहिचान नखुलाउन आग्रह गर्दै उनले भनिन्, ‘सम्बन्ध नै नरहेपछि अर्काको सम्पत्तिमा के आँखा लाउनु? जे पर्छ त्यही बेहोरौंला!’

अदालतका श्रेस्तेदार पौडेलले भने, ‘यो अचम्मको घटना पहिलो पटक देखियो, अंश छाडेर सम्बन्ध बिच्छेद गर्ने त कति छन्, कति।’ प्रतिवदी ती पुरुषले ‘दुवैजना बिहे गर्न राजी भएका रहेछन्, गरुन्’ भनेर सहज जवाफ दिए। ती महिलाले कुनै सम्पत्ति दाबी नगरेको श्रेस्तेदार पौडेलले जानकारी दिए। सम्बन्ध बिच्छेद गर्ने अधिकांश महिलाले पुरुषबाट अंश दाबी गर्न छाडेका छन्।

ओखलढुंगा जिल्ला अदालतमा आव ०७४/७५ मा दर्ता भएका ४८ सम्बन्ध बिच्छेद मुद्दाका अधिकांश वादी महिलाले अंश दाबी नगरी सम्बन्ध बिच्छेद गरेका छन्। ४८ मध्ये ४५ जना महिलाले सम्बन्ध विच्छेद दर्ता गरेकोमा सोधपुछ गर्दा अधिकांशले अंश नलिने बताएका थिए। ‘

ठ्याक्कै संख्या चाँही टिपेका छैनौं, तर हिसाब निकाल्दा सम्बन्ध बिच्छेदको मुद्दा हालेका ७० प्रतिशत बढी महिलाले अंश लिन अस्वीकार गरेको छन्’, श्रेस्तेदार पौडेलले भने, ‘हामीले बालबच्चाको रेखदेख, सम्पत्ति र भविश्यका बारेमा समेत छलफल गरेर मात्रै निर्णय गर्छौं। अधिकांशले अंश अस्वीकार गर्छन्।’

सम्बन्ध बिच्छेदमा महिलाले अंश दाबी नगर्नुमा अंशमा आउने बारी जग्गामा काम गरेर जिविकोपार्जन गर्न छाड्नु र अंश लिने प्रक्रियामा झन्झट र तत्कालै सम्बन्ध बिच्छेद नहुनेलगायतका कारण रहेको अधिवक्ता टुकराज निरौला बताउँछन्। उनले भने, ‘खेतबारीको महत्त्व नै छैन, आजभोलि। अंश लिने प्रक्रिया पनि लामो छ, कतिपयले अंश वापत रकम लिने गर्छन, कतिले दोस्रो बिहे गर्ने योजना बनाएकाले नलिएका हुन्छन्।’

सम्बन्ध बिच्छेद गरेका महिलाले प्रायः एउटै जवाफ दिन्छन्, ‘सम्बन्ध नै नरहने भएपछि सम्पत्तिले के गर्छ ? ’ अधिकांश अंश नलिएका महिलाले अर्को बिहे गर्ने गरेको पाइएको छ। ‘अंश नलिइ सम्बन्ध बिच्छेद गरेका धेरैले अर्को बिहे गरेको सुनिन्छ’, नेपाल बार एसोसिएसन जिल्ला बार इकाइका अध्यक्ष टेकबहादुर राईले भने, ‘सबैलाई आरोपित गर्न मिल्दैन, तर सम्बन्धमा गडबढी आएर उमेरमै सम्बन्ध बिच्छेद गरेकाले दास्रो बिहे गरेका छन्।’

मुलुकी ऐनको विहेबारी महलमा सम्बन्ध बिच्छेद गर्न महिलाले मात्रै सिधै अदालतमा मुद्दा गर्न पाउने र अंश पाउने व्यवस्था थियो। पुरुषले गर्न परे वडा कार्यालयमा निवदेन दिएर प्रक्रिया सुरु हुने प्रावधान थियो। यो ऐन कार्यान्वयनमा हुञ्जेल अदालतमा अपवाद वाहेक महिलाका मात्रै मुद्दा आउने गरेका थिए। मुलुकी ऐन विस्थापित गर्दै मुलुकी संहिता भदौबाट कार्यान्वयनमा आएपछि पुरुषलाई समेत अदालतमा सम्बन्ध बिच्छेद मुद्दा दर्ता गर्न पाउने अधिकार छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad