छापा खबर


प्रोटोकल मिचेर भट्टराई र देउवाले भेटे जयशंकरलाई

प्रोटोकल मिचेर भट्टराई र देउवाले भेटे जयशंकरलाई

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ०:२१,

पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरलाई कूटनीतिक मर्यादाविपरीत उनी बसेको होटेलमै पुगेर भेट गरेका छन्।

उनीहरूको यस्तो कदमको कूटनीतिक वृत्तले मात्र नभएर सर्वसाधारणले पनि सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्।

‘भ्रमणरत भारतीय विदेशमन्त्री जयशंकरसँग आपसी हितका विषयमाथि राम्रै विचारविमर्श भयो,’ दिउँसो एक बजे जयशंकरसँग भेटेलगत्तै तस्बिरसहित भट्टराईले ट्विवट गरेका छन्, ‘वर्तमान भारतीय सरकार नेपालसँग कनेक्टिभिटी र आर्थिक साझेदारी विस्तार गर्न इच्छुक छ भन्ने थाहा पाउँदा खुसी लाग्यो।’

त्यसलगत्तै सामाजिक सञ्जालमा कूटनीतिक मर्यादा लत्याएर भेट गर्न गएको भन्दै भट्टराईको चर्को आलोचना भएको थियो। ‘उहाँ बसेको होटलमा जानुभएछ,’ एक महिलाले ट्विट गरेकी छन्, ‘तपाईंलाई आफ्नो प्रोटोकलले भेट्न जाने सुविधा दिएको छ कि छैन?’

भट्टराईका साथ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि जयशंकरलाई भेट्न पुगेका थिए। त्यस्तै देउवाका साथमा कांग्रेस महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य नारायण खड्का र पूर्वप्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा। दिनेश भट्टराई पनि होटल पुगेका थिए।

पूर्वराजदूतसमेत रहेका भट्टराईले देउवाको बचाउ गर्दै उक्त भेटबाट कूटनीतिक मर्यादा उल्लंघन नभएको जिकिर गरेका छन्।

‘देउवा पूर्वप्रधानमन्त्री मात्रै नभएर विपक्षी दलको प्रमुख पनि हुनुहुन्छ,’ उनले भने, ‘एउटा विपक्षी दलको प्रमुखले भ्रमणमा आएका छिमेकी देशका मन्त्रीसँग शिष्टाचार भेट गर्न सक्छ, यसमा प्रोटोकल मिचिएको भन्न मिल्दैन।’

उनका अनुसार भेटमा देउवाले डुबान र बाढीको समस्या उठाउँदै त्यसको तत्काल निराकरणका लागि भारतले चासो देखाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

‘पञ्चेश्वर परियोजना यतिका वर्षसम्म अघि बढ्न सकेको छैन, यसलाई भारतले तत्काल अघि बढाओस्,’ देउवालाई उद्धृत गर्दै भट्टराईले भने, ‘अर्को सवाल भनेको कनेक्टिभीटी हो, यसलाई बढाउन दुवै देश अघि बढ्न जरुरी छ।’

घरेलु मामिलामा विचार विमर्श दलैपिच्छे फरक हुने गरेपनि वैदेशिक मामिलामा भने एक हुनुपर्ने कुटनीतिक मान्यता जयशंकरसँग देउवाले गरेको प्रश्नले चरितार्थ गरेको भट्टराईको दाबी छ। यो खबर आजको कान्तिपुरमा घनश्याम खड्काले लेखेका छन्।

स्रोतका अनुसार जयशंकरले पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पनि भेटका लागि आफू बसेको होटलमा बोलाएका थिए। होटलमै गएर भेट्नु कूटनीतिक मर्यादा विपरीत हुने भन्दै दाहाल र नेपालले उनलाई भेटेनन्।

नेपाल आएको पहिलो दिन बुधबार जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमै भेट गरेका थिए। बिहीबार फर्केका उनले जानुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेको भारतीय दुतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad