ad ad

छापा खबर


कोरोना महामारीमा स्वास्थ्यमन्त्री फेरिएको फेरियै

कोरोना महामारीमा स्वास्थ्यमन्त्री फेरिएको फेरियै

नेपालखबर
असार ११, २०७८ शुक्रबार ०:१३,

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो । विज्ञहरूले संक्रमणको तेस्रो लहर पनि आउन सक्ने चेतावनी दिइसकेको छन्।

स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्य मन्त्रालय हाँक्ने मन्त्रीको जिम्मेवारी अलि बढी नै हुन्छ । तर, जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो मन्त्रालय हाँक्ने मन्त्री नै फेरिरहँदा कार्यसम्पादनमा समस्या आएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटकपटक मन्त्री परिवर्तन हुँदा अनेकन समस्या देखिएको छ । एक जना मन्त्रीले आफूले सारेको योजनालाई कार्यान्वयन गर्न नपाउँदै छिटोछिटो मन्त्री हेरफेर हुँदा कार्यसम्पादनमा समस्या देखिएको हो।

३ फागुन २०७४ मा प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्ति भएयता तीन वर्ष चार महिनाको अवधिमा ६ जना स्वास्थ्यमन्त्री फेरिएका छन् । ओली प्रधानमन्त्री भएयता पद्मा अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । बिहीबारदेखि भने मन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय पनि हेर्नेगरी जिम्मेवारी दिइएको छ।

कोरोना महामारीयता मात्रै चार स्वास्थ्यमन्त्री परिवर्तन भएका छन् । कोरोना महामारीयता ढकाल, त्रिपाठी र तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकोमा बिहीबारदेखि श्रेष्ठले जिम्मेवारी बहन गरेका हुन् । प्रधानमन्त्री ओलीले सुरुमा आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राखेर अर्याललाई राज्यमन्त्री बनाएका थिए । लगत्तै १८ जेठ २०७५ मा उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले । तर, उनी धेरै समय स्वास्थ्य मन्त्रालयमा रहन सकेनन् ।

४ मंसिर २०७६ मा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइयो । उनी पनि जेनतेन एक वर्ष टिके । लगत्तै, १० पुस २०७७ मा स्वास्थ्यमन्त्रीको जिम्मेवारी त्रिपाठीले पाए । उनी पनि पाँच महिना मात्रै टिके । लगत्तै शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालय सम्हाल्ने मौका मिल्यो । तर, सर्वोच्च अदालतले मन्त्री नियुक्ति बदर गरिदिएपछि बिहीबार कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयसहितको जिम्मेवारी पाएका हुन्।

मन्त्रीहरूले स्वास्थ्य क्षेत्रलाई उन्नयन बनाउने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा आउन सकेको छैन । मन्त्री परिवर्तन भए पनि आमनागरिकलाई खोपको सुनिश्चितता हुन सकेको छैन । कोरोना रोकथाम नियन्त्रणमा स्वास्थ्य सामग्री खरिदलगायत प्रकरणमा स्वास्थ्यमन्त्रीकै कारण पटकपटक विवादमा समेत आउने गरेको थियो।

मन्त्रीहरूले स्वास्थ्य मन्त्रालयमा प्राविधिकतर्फ सचिव नियुत्त गर्नेदेखि आमनागरिकलाई समयमा खोप लगाउने वाचा दिन भ्याए । तर, कार्यान्वयनमा सकस देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .