ad ad

छापा खबर


कलिलैमा बिहे, कानुनी झमेला

कलिलैमा बिहे, कानुनी झमेला

नेपालखबर
भदौ ३, २०७६ मंगलबार १:३७,

९ महिनाअघि मोरङको रंगेली नगरपालिकाका १७ वर्षीया एक किशोरी र १९ वर्षीय एक किशोर गाउँबाट हराए ।

गाउँमा खैलाबैला मच्चियो । किशोरीका आमाबुबाले इलाका प्रहरी कार्यालयमा छोरी हराएको भन्दै निवेदन दिए । प्रहरीले दुवैलाई एकै स्थानबाट फेला पार्‍यो।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू सँगै भागेका थिए । कानुनतः २० वर्ष नपुगी विवाह गर्न नमिल्ने भएकाले प्रहरीले दुवैलाई आ–आफ्नो अभिभावकको जिम्मा लगायो ।

तर केही दिनपछि किशोरीका आमाबुबाले किशोरविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गराए । किशोर पक्राउ परे । अदालतबाट धरौटीमा छुटेपछि दुवै किशोरकिशोरी भागेर भारत गए । यो खबर आजको कान्तिपुर दैनिकमा विराटनगरबाट विनु तिम्सिनाले लेखेका छन्।

विराटनगर महानगरपालिकाका १८ वर्षीया किशोरी र २१ वर्षीय युवा एक महिनाअघि हराए । परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गरायो । प्रहरीले खोजतलास गर्दा उनीहरू सँगै बसेको फेला पर्‍यो । किशोरीको उमेर २० वर्ष पूरा नपुगेकाले उनीहरूलाई पनि छुटाएर प्रहरीले आफ्नो अभिभावकको जिम्मा लगायो ।

केटी पक्षका आफन्तले ती युवाविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलाउन प्रहरीलाई दबाब दिए । ‘तर किशोरीले जाहेरी दिन नमानेपछि हामीले मुद्दा दर्ता गरेनौं,’ प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले भने, ‘केटीको उमेर १८ वर्षभन्दा कम भएको भए कानुनतः नाबालिग हुने हुँदा अभिभावकको जाहेरीका आधारमा जबर्जस्ती करणीको मुद्दा लाग्ने थियो ।’ प्रहरीले अहिले दुवै जनालाई ‘काउन्सिलिङ’ मा राखेको छ ।

मोरङकै १९ वर्षकी पहाडे मूलकी किशोरी र २२ वर्षका ऋषिदेव समुदायका युवाले गत चैतमा भागेर विवाह गरे । तस्बिर सामाजिक सञ्जालमा पोस्टसमेत गरे । अभिभावकले उजुरी गरेपछि प्रहरीले उनीहरूलाई फेला पारेर अभिभावकको जिम्मा लगायो । लगत्तै किशोरीले जबर्जस्ती करणीको निवेदन दिइन् । ती युवा जेलमा छन् ।

मोरङ प्रहरीका डीएसपी श्रेष्ठ राजीखुसी बिहे गरेर भाग्ने र पछि अभिभावकको दबाबमा जबर्जस्ती करणीको जाहेरी दिने घटनाले केही वर्षयता प्रहरीलाई हैरान बनाएको बताउँछन् ।

‘महिला तथा नाबालिग किशोरीसँग सम्बन्धित मुद्दामा जाहेरी नलिँदा पनि समस्या हुन्छ,’ उनले भने, ‘केटाकेटीले राजीखुसी बिहे गरेको थाहा पाए पनि कानुनले त्यसलाई मान्यता दिँदैन । त्यसैले समस्या हुन्छ ।’

जिल्ला प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेल प्रमुख जमुना बस्नेतले हराएको भनी निवेदन परेपछि खोजी गर्दा भागेर विवाह गरेको अवस्थामा भेटिएकाहरूको संख्या उल्लेख्य रहेको बताइन् ।

‘कानुनले २० वर्षभन्दा कम उमेरको विवाहलाई मान्यता नदिने हुँदा सँगै फेला परेका उनीहरूलाई हामी अभिभावकको जिम्मा लगाउँछौं,’ उनले भनिन् ।

उनका अनुसार कतिपय अभिभावकले छोरी फेला परेपछि जबर्जस्ती करणीको मुद्दा चलाउने गरेका छन् । ‘केटी पक्षले जबर्जस्ती करणीको मुद्दा दर्ता गराएपछि राजीखुसीले केटासँग भागेको हामीलाई थाहा भए पनि कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भनिन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .