ad ad

छापा खबर


नेकपामा नयाँ समीकरण, यसरी एक्लिए नेता नेपाल

नेकपामा नयाँ समीकरण, यसरी एक्लिए नेता नेपाल

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ०:५३,

सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ।

नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन्। साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण भएको हो।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको छ।

सचिवालयकै नेता नारायणकाजी श्रेष्ठ कतै खुलेका छैनन्। अर्का नेता रामबहादुर थापाले ओली–दाहाल एकतामै जोड गरेका छन्।

नौ सदस्यीय सचिवालयको पछिल्लो समीकरणले वरिष्ठ नेता नेपाल एक्लो परेका मात्र छैनन्, १५ महिनादेखि पार्टीमा रहँदै आएको तेस्रो मर्यादाक्रम पनि खोसिएको छ।

‘पार्टीभित्रको शक्ति केन्द्रमा तरलीकृत हुने क्रम विगतदेखि नै भइरहेकै छ। पछिल्लो सचिवालय बैठकबाट पार्टीमा नयाँ समीकरण देखापरेको छ,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘सचिवालयको निर्णयबाट सिनियर नेताहरूले कोसँग मिल्दा पार्टीभित्र आफूलाई सहज हुन्छ, उतैतिर मिलेर पोजिसन बनाउन खोजेजस्तो देखिएको छ।’

अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालका अलगअलग तीन धार छन्। त्यसमध्ये पार्टी एकतायता नै ओली र नेपालका दुई धार अहिलेसम्म ‘परस्पर विरोधी’ देखिएका छन्।

अध्यक्ष दाहालले भने कहिले ओलीसँग त कहिले नेपालसँगको गठजोड गर्दै आएका छन्। पछिल्लो सचिवालय बैठकपछि नेपाल एक्ला देखिएका छन् भने ओली–दाहाल मिलेका छन्।

यो पटक नेकपाभित्रको समीकरण निर्माणमा नयाँ ढंगले धुव्रीकरणको विकास भएको छ। वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमकै नाफाघाटालाई लिएर धार बनाउने–भत्काउने क्रम चलेको छ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्ला दिनमा पार्टी सचिवालयमा आफू अप्ठ्यारोमा परेको ठानिरहेका थिए। अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहितका नेताहरूको एउटा धुव्र बनिरहेको विषयमा ओली जानकार थिए।

आफू विदेशमा रहेका बेलासमेत आफूइतर नेताहरूको भेटघाट र छलफलका विषयमा उनी ‘अपडेट’ भइरहेकै थिए। यस्तो बेला उनलाई सचिवालयमा साथ दिनेमा नेता पोखरेल र महासचिव पौडेल मात्र थिए। गृहमन्त्री रामबहादुर थापा आफू र अर्का अध्यक्षबीच रहेर ‘तटस्थ’ को भूमिका खेलिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .