नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालको वरीयताक्रम हेरफेर भएको छ ।
यसअघि दुई अध्यक्षपछिको वरीयताक्रममा रहेका नेपाल अब तेस्रो क्रममा पुगेका छन् भने खनाल तेस्रोबाट दोस्रोमा उक्लिएका छन् । केन्द्रीय सचिवालयको आइतबारको बैठकले शीर्ष नेताको वरीयताक्रम हेरफेर गरेको हो।
गत वर्ष पार्टी एकताको समय आफू चीन भ्रमणमा रहेका वेला अन्याय हुने गरी वरीयतामा तल पारिएको भन्दै खनालले आपत्ति जनाएका थिए।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।
खनाललाई आफूभन्दा माथिल्लो वरीयतामा राख्ने प्रस्ताव स्वीकार गरे पनि निर्णय गर्ने विधि, प्रक्रिया ठीक नभएको र अध्यक्ष ओलीले त्यसमा गल्ती भएको स्विकारेर आत्मालोचना नगरेको भन्दै नेपालले असन्तुष्टि जनाएका थिए । आफ्नो धारणा राखिसकेपछि नेपाल बैठक छोडेर बाहिरिएका थिए।
नेपालको प्रस्ताव अस्वीकृत
बैठकमा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालनसम्बन्धी विधि र प्रक्रियाबारे गम्भीर प्रश्न उठाएको स्रोतले बतायो । साबिक एमालेबाट वरीयताका आधारमा तत्कालीन उपाध्यक्ष वामदेव गौतमलाई पुनः उपाध्यक्षमा प्रस्ताव गरेर अरूलाई सचिवालयबाटै बाहिर पारिएकोमा नेपालले आपत्ति जनाएका थिए।
नेपालले साबिक एमालेबाट सबैभन्दा बढी मतका साथ विजयी तत्कालीन उपाध्यक्ष भीमबहादुर रावलसहित अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा मनोनयन गर्नुपर्ने मत दर्ज गराएका छन् । तर, उनको प्रस्तावमा केन्द्रित रहेर छलफल भने भएन।
ओलीलाई नेपालको प्रश्न, ‘झलनाथलाई स्विकार्छु,
तपाईं गल्तीप्रति आत्मालोचना गर्नुहुन्छ?
पार्टी एकीकरणका वेला तपाईं जेएनलाई वरिष्ठ नेता पनि नबनाउने पक्षमा हुनुहुन्थ्यो । नबनाऊँ भनेर प्रस्तावै गर्नुभयो । त्यतिवेला मेरो मायाले होइन, जेएनलाई बदला लिन मलाई माथिल्लो वरीयतामा राख्ने निर्णय गराउनुभयो।
त्यसवेला मैले नै उहाँ (जेएन)लाई वरिष्ठ नेता राख्नैपर्छ भनेर जोड गरेको थिएँ । अहिले मलाई अपमान गर्न र बदला लिन जेएनलाई माथि राख्ने प्रस्ताव गर्नुभएको छ।
उहाँ मभन्दा माथि हो, यो कुरा त्यतिवेलै निर्णय भएको भए पनि स्वीकार गर्थेँ, अहिले पनि वैधानिक हिसाबले उहाँको माथिल्लो वरीयतालाई स्वीकार गर्छु । तर, केपी कमरेड, तपाईंले त्यतिवेला र अहिले दुईपटक गरेको गल्ती बैठकमा स्वीकार गरेर आत्मालोचना गर्नुहुन्छ कि गर्नुहुन्न?

प्रतिक्रिया