छापा खबर


काठमाडौंमा जुवाडे श्रीमानबाट पीडित श्रीमतीहरूको कहालीलाग्दो कथा

काठमाडौंमा जुवाडे श्रीमानबाट पीडित श्रीमतीहरूको कहालीलाग्दो कथा

नेपालखबर
साउन ३२, २०७६ शनिबार ३:५,

‘नखेल्नु है जुवा र तास, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चर्चित थियो। जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेका दृष्टान्त धेरै छन्।

सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गर्छिन् ४० वर्षीया लक्ष्मी। उनी दिनको २ हजारदेखि २ हजार ५०० आम्दानी गर्छिन् तर यसरी दुःख गरी कमाएको पैसाले उनका श्रीमानलाई जुवा खेल्नै पुग्दैन।

उनका श्रीमान् रामकृष्ण वानु जुवा खेल्दै गरेको अवस्थामा पटक-पटक पक्राउ परिसकेका छन् तर पनि जुवाको लत हटेको छैन। श्रीमानको जुवाको लतबाट आजित लक्ष्मी भन्छिन्, “मैले एक छाक मीठो खान र एक सरो राम्रो लुगा लगाउन पाएको छैन। उहाँ जुवामा पैसा सक्नुहुन्छ।”

त्यस्तै पीडा छ अर्की महिला रामकलाको पनि। पकनाजोलमा किराना पसल सञ्चालन गरी दुई सन्तानलाई हुर्काउँदै आएकी छन्, उनले। काठमाडौंमा घर भएर पनि भाडामा बस्नुको पीडा सुनाउँदै रामकलाले थपिन्, “जुवाडे श्रीमान् राधेश्यामका कारण घर न टहराको बास भएको छ।”

“महिना नमर्दै घरको भाडा उठाएर जुवा अखडामा धाउँदा–धाउँदा श्रीमान् राधेश्यामले घरसमेत सहकारीको लिलामीमा पारिसकेको रहेछन्”, उनले भनिन्, “झगडा गरौँ आफ्नै बदनाम, पुलिसलाई भनौँ सात दिनमै छुटेर आउँछ।”

जुवाडे श्रीमानट प्रताडित लक्ष्मी र रामकला केही उदाहरण मात्र हुन्। यस्तो पीडा भोग्नेहरूको समस्या काठमाडौँ उपत्यकामा कहालीलाग्दो छ। यो खबर आजको गोरखापत्रमा देवबहादुर कुँवरले लेखेका छन्।

तबककाठमाडौँ, साउन ३२ गते ।विशेषगरी घर-जग्गा दलाल, अवकाशप्राप्त कर्मचारी, वैदेशिक रोजगार व्यवसायी र ढुकुटी खेल्नेहरू केहीमा जुवाको लत बढी देखिएको छ।

श्रीमतीको कमाइ खोसेर जुवामा उडाउने जुवाडेहरू बढी नै छन्। महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवाली घरकोठा, फ्ल्याट, होटल, क्याफे र रिसोर्टहरूमा मिनी जुवा घर सञ्चालन हुन थालेपछि जुवाडेको सङ्ख्या पनि बढ्दै गएको बताउँछन्।

अवैध जुवा अखडाले जुवाडे उत्पादन गर्नुका साथै घर परिवारमा विचलन, पारिवारिक द्वन्द्व, झैँझगडा र आर्थिक समस्या बढाएको भनाइ उनको छ। रमाइलोका नाममा लत नै बसेर जुवा खेल्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ।

महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा प्रत्येक हप्ता एक दिन प्रहरीले विशेष सुराकीका आधारमा अवैध जुवा अखडामा छापा मार्ने गरेको छ। यसरी प्रहरीलाई सुराकी दिनेहरूमा पीडित श्रीमतीको सङ्ख्या बढी छ। कतिपय महिला श्रीमान्को बेथिति सहन नसकेर गुनासो बोकेर प्रहरी कार्यालय आउने गरेका छन्।

वरिष्ठ प्रहरी उपरीक्षक ज्ञवाली भन्नुहुन्छ, “जुवासम्बन्धी कानुन पनि कमजोर भएकाले जुवा खेल्ने र खेलाउनेको मनोबल बढेको हो।”

पक्राउ परे पनि सात दिन हिरासत बसेर धरौटी तिरेर छुटिहाल्छु भन्ने भ्रमका कारण जुवा अखडा र जुवाडेको सङ्ख्या बढ्दै गएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad