छापा खबर


कार्यकर्तालाई प्रशिक्षण दिन गएका कांग्रेस नेता बाझाबाझ गरेर फर्किए

कार्यकर्तालाई प्रशिक्षण दिन गएका कांग्रेस नेता बाझाबाझ गरेर फर्किए

नेपालखबर
साउन ३२, २०७६ शनिबार १:२७,

प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक द्वन्द्वमा रुमलिरहेको छ।

पार्टीमा विभिन्न गुट–उपगुटका कारण संसद्मा समेत प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचित हुन थालेको छ। कांग्रेस आन्तरिक रूपमा कति विभाजित भइसकेको रहेछ भन्ने बुझ्न शुक्रबार पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम नै काफी छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा पोखराबाट गोविन्द सुवेदीले लेखेका छन्।

करिब चार सय महाधिवेशन प्रतिनिधिकै अगाडि शीर्ष नेताहरू बाझाबाझ गर्न थाले । प्रशिक्षण भेलामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, तारानाथ रानाभाटलगायत सहभागी थिए ।

 पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र तारानाथ रानाभाटले अब कांग्रेस हिजोको ढंगले चलेर नहुने बताए ।

‘पार्टी नयाँ ढंगले अघि बढ्न जरुरी छ । नयाँ चेतनाको झन्डा बोकेर अघि बढ्न सक्नुपर्छ । अब हिजोका दिनमा जस्तो रुमलिएर गन्तव्य भेट्न सकिन्न । नयाँ ढंगको सञ्चार आमपार्टी कार्यकर्तामा ल्याउनुपर्छ,’ सिटौलाले भने ।

त्यसपछि बोलेका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नीति तथा प्रशिक्षण प्रतिष्ठानले विगतमा देशव्यापी प्रशिक्षण गर्दा पार्टीको नीतिविपरीत प्रशिक्षण दिएको आरोप लगाए ।

विगतमा प्रशिक्षणपछि भएको पार्टीको महाधिवेशन, स्थानीय निर्वाचन र संघीय निर्वाचनमा पार्टीको पराजय त्यसैको कारण रहेको उनको आरोप थियो ।

‘यस्ता खालका प्रशिक्षण हिजो पनि चलेकै हुन् । देशव्यापी रूपमा नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण चलाएको थियो । त्यसलगत्तै पार्टीको महाधिवेशन भयो । स्थानीय तहको निर्वाचनमा सिंगल–सिंगल लडेकै हो । त्यसमा पराजित भयौँ । पछिल्लो निर्वाचनमा दुई कम्युनिस्ट मिलेर मात्र चुनाव हारिएको होइन,’ उनले भने, ‘टिकट पाउनेलाई नपाउनेले हराए । प्रशिक्षणको पनि मूल्यांकन गर्नुपर्ने भयो । किन यसरी हारियो? कतै प्रशिक्षण नै गलत भएर त होइन । नत्र यस्तो अवस्था नआउनुपर्ने हो । अब प्रशिक्षण कार्यक्रम चलाउँदा यस्ता कुरामा ख्याल गरियोस् । सहयोग गर्ने भनेर सिकाइयोस्।’

श्रेष्ठलगत्तै बोल्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना धारणा राखे । उनले एक लाइनमै श्रेष्ठको प्रश्नप्रति जवाफ फर्काए । ‘विगतमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी मैले सम्हालेको थिएँ,’ उनले भने, ‘मेरो भन्नु यति छ, मैले विगतमा प्रशिक्षण विभागको नेतृत्व सम्हाल्दा पार्टीलाई पहिलो बनाएँ, अबको नेतृत्वले पनि त्यही गरोस् ।’

नेता पौडेलले देशमा कम्युनिस्टको संगठनले चुनाव जिते पनि कांग्रेसको सिद्धान्त विजयी भएको तर्क गरे । तर, पार्टीले संसद्मा सशक्त भूमिका खेल्न नसकेको उनको आरोप थियो ।

संसद्मा सही एजेन्डामा पार्टी प्रस्तुत हुन नसकेको र अरूका एजेन्डामा बहकिएको उनले बताए । ‘अरूको एजेन्डामा हामीले संसद् अवरुद्ध गर्ने कि हाम्रै एजेन्डामा ?’ उनले प्रश्न गरे, ‘संसद्मा हाम्रा एजेन्डाले प्राथमिकता पाउनुपर्छ, जनताको एजेन्डाले प्राथमिकता पाउनेमा अर्कै भएको मलाई महसुस भएको छ।’

नेता पौडेलले प्रमुख प्रतिपक्षी दलको भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको आरोप लगाएपछि सभापति शेरबहादुर देउवाले आफूले खेलेको भूमिकाको बचाउ गरे । उनले संसद्मा सशक्त भूमिका निर्वाह गरेको दाबी गरे ।

गुठी विधेयक, मानव अधिकारसम्बन्धी र प्रेस काउन्सिलसम्बन्धी विधेयकको विरोध गरेको, गिरिजाप्रसाद स्वासप्रश्वास केन्द्र र सुशील कोइरालाका नाममा रहेका अस्पतालबाट नाम झिक्नेजस्ता सरकारी रबैयाको डटेर सामना गरेको उनले प्रष्टीकरण दिए ।

‘तपाईंकै तनहुँको जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्र र बर्दियाको सुशील कोइराला क्यान्सर अस्पताल जोगाउन हामीले संसद्मा कस्तो भूमिका खेल्यौँ,’ उनले भने, ‘गुठी विधेयक, प्रेस काउन्सिल विधेयकलगायतका विषयमा हामीले सशक्त अवाज उठाएका छौँ । हामीले संसद्मा सही र सशक्त भूमिका खेलेका छौँ, प्रजातान्त्रिक पार्टी भएकाले भूमिका यस्तै हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad