छापा खबर


सिंगापुरबाट फर्किनासाथ ओलीको सक्रियता तीव्र

सिंगापुरबाट फर्किनासाथ ओलीको सक्रियता तीव्र

नेपालखबर
साउन २९, २०७६ बुधबार १:२०,

प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका छन्।

उपचारका लागि १० दिन सिंगापुर बसेर सोमबार फर्कनेबित्तिकै नेकपा अध्यक्षसमेत रहेका ओली सचिवालय बैठकको तयारीमा जुटेका हुन्।

यस क्रममा उनले सचिवालय सदस्यहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल गरेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

प्रधानमन्त्री ओलीले सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग बालुवाटारमा भेटघाट गरेका थिए। उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए।

‘प्रधानमन्त्री आफ्नो दैनिक काममा सक्रिय भइसक्नुभएको छ। उहाँले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट थालिसक्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्री फर्केलगत्तै उपप्रधानमन्त्री, पार्टी अध्यक्ष, महासचिवलगायत नेताहरूसँग भेटघाट गर्नुभएको छ। मंगलबार पनि बिहानैदेखि पार्टी नेताहरूसँग सचिवालय बैठकको गृहकार्यका लागि भेटघाट गर्नुभएको छ।’ सचिवालय बैठक बुधबार बस्दैछ।

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाल र महासचिव पौडेलसँग सोमबार नै छलफल गरी पूर्वनिर्धारित सचिवालय बैठक एक दिनपछि सारेर आन्तरिक गृहकार्यमा छलफल थालेका थिए।

ओलीले मंगलबार बिहान पूर्व एमालेका सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, विष्णु पौडेल र ईश्वर पोखरेलसँग सामूहिक भेट गरे। दिउँसो अध्यक्ष दाहाल, रामबहादुर थापासँग महासचिव पौडेलसहित राखेर छलफल गरे। साँझ फेरि उनले संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत पूर्वएमालेका नेताहरूसँग छलफल गरे।

सरकारका मन्त्रीसमेत रहेका नेताहरूसँग सरकारको कामका विषयमा पनि उनले बिफ्रिङ लिएका छन्। यस्तै अन्य नेताहरुसँग भने पार्टीको कार्यविभाजन प्रस्तावका विषयमा छलफल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad