छापा खबर


कांग्रेससँग ओली आक्रोसित, मध्यावधि निर्वाचनमा जाने संकेत

कांग्रेससँग ओली आक्रोसित, मध्यावधि निर्वाचनमा जाने संकेत

नेपालखबर
चैत २२, २०७७ आइतबार २:३६,

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ। सरकार परिवर्तन गर्न दलहरूबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंकगणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन्।

माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएका प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका छन्। प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ।

‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हो तर उहाँको भर छैन’, समर्थन फिर्ता लिने संकेत गर्दै माओवादी स्थायी कमिटी सदस्य पम्फा भुसालले भनिन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई हटाउन माओवादी केन्द्रलाई साथ दिने र नयाँ सरकार बनाउन अग्रसरता लिने जनाएपछि ओली निकै आक्रोशित बनेका छन्।

प्रधानमन्त्री ओलीले सत्ता सहकार्यका लागि जनता समाजावादी पार्टी (जसपा) सँग प्रस्ताव गरे पनि त्यो सार्थक बन्न सकेको छैन। सत्ता सहकार्य कोसँग गर्ने भन्ने विषयमा जसपाभित्र आन्तरिक विवाद भएपछि उसले ओली नेतृत्वको सरकारलाई समर्थन गर्न सकेको छैन। जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र नेता डा.बाबुराम भट्टराई ओली नेतृत्वको सरकारलाई समर्थन नगर्ने र अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महत्तो समर्थन गर्ने कित्तामा देखिएका छन्।

जसपाभित्रको विवाद, आफ्नै पार्टी एमालेभित्र उत्पन्न विवादका कारण माधव नेपाल पक्ष समानान्तर कमिटी निर्माणमा लागेकाले ओली अप्ठेरोमा परेका छन्। उनी अप्ठेरो फुकाउन तत्काल अर्ली निर्वाचन घोषणा गर्न चाहन्छन्। ‘भरसक संसद्मा म्यानेज गर्न खोज्नुपर्छ। संसद्मा व्यवस्थापन भएन भने ताजा जनादेशमा जानुपर्छ। ढिलोचाँडो जनादेशमार्फत अहिलेको संसदीय अंकगणितमा हेरफेर नगरी देश अगाडि बढ्ने म देख्दिनँ’, उनले भने।

तर एमालेभित्र नेता नेपाल पक्षका केन्द्रीय सदस्य विष्णु रिजालले ‘प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र सरकार गठनका लागि पहल गर्ने’ नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दबाब मत्थर पार्न र सार्वजनिक खपतका लागि मात्रै भएको टिप्पणी गरेका छन्।

‘अहिले सरकार परिवर्तन सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होइन, बल जसपासँग छ। जसपाचाहिँ प्रधामन्त्री ओलीसँग सघन संवादमा छ। त्यसैले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न सक्दैन। फेरि त्यही प्रश्न आउँछ, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने, सरकार परिवर्तनको गुन्जायस छैन’, रिजालले भने। सरकार परिवर्तन भए पार्टीभित्रै आन्तरिक संघर्ष गरेर अघि बढ्ने योजनामा नेपाल पक्ष छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad