छापा खबर


खोप लगाएका काठमाडौँका केही व्यक्तिमा कोरोना संक्रमण, खोपको प्रभावकारितामा आशंका

खोप लगाएका काठमाडौँका केही व्यक्तिमा कोरोना संक्रमण, खोपको प्रभावकारितामा आशंका

नेपालखबर
चैत १६, २०७७ सोमबार ०:२,

२३ फागुनमा खोप लगाएका ७२ वर्षीय एक पुरुषमा कोभिड पोजिटिभ देखिएपछि ९ चैतमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आइसोलेसनमा भर्ना गरेको छ।

अस्पतालका अनुसार उनमा निमोनिया, खोकीलगायतका लक्षण देखिएको छ । उनले खोप लगाएको पाँच दिनपछि अर्थात २७ फागुनमा परिवारका सदस्यमा कोभिड पोजिटिभ देखिएको थियो।

चिकित्सकहरूका अनुसार सामान्यतया कोभिड संक्रमण भइसकेपछि लक्षण देखिन १४ देखि २८ दिनसम्म लाग्ने गर्छ । अर्थात् खोप लगाएपछि कोभिड संक्रमण देखिएका वृद्धमा खोप लगाउनुभन्दाअघि नै संक्रमण भइसकेको हुन सक्ने उनीहरूको भनाइ छ । अस्पतालमा भर्ना भएका अर्का एकजना पुरुषमा पनि खोपपछि कोभिडका लक्षण देखिएकाले उपचाररत छन्।

भारतको राजधानी नयाँदिल्लीस्थित एक अस्पतालमा कार्यरत नर्समा कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको एक महिनापछि कोरोना पोजिटिभ देखिएको छ । उनले खोपको पहिलो डोज १८ जनवरीमा र दोस्रो डोज १७ फेब्रुअरीमा लगाएकी थिइन् । भारतकै उत्तर प्रदेशको लखनउस्थित अस्पतालमा कार्यरत चिकित्सकमा भ्याक्सिनको पूर्ण डोज लगाइसकेपछि पनि कोरोना संक्रमण देखिएको छ।

संक्रमणको दर फेरि बढ्दै गएको र कोभिडविरुद्धको खोप लिएका व्यक्तिमा पनि संक्रमण भएकाले सर्वसाधारणमा त्रास बढ्न थालेको खबर आजको नयाँ पत्रिका दैनिकमा मञ्जु टेलरले लेखेकी छन्।

नेपालमा मात्र नभई विश्वभरि नै खोप लगाएका व्यक्तिहरूमा कोरोना पोजिटिभ देखिएका घटनाहरू सार्वजनिक पनि भइरहेका छन् । खासगरी ‘म्युटेड’ भाइरसहरू तीव्र गतिमा फैलिन थालेपछि अस्पतालका आइसोलेसनहरू फेरि कोभिडका बिरामीले भरिन थालेका छन्।

नेपालमा बुधबार मात्रै एक सय ४५ जनामा कोरोना पोजिटिभ देखिएको छ । खोप लगाइसकेका व्यक्तिमा संक्रमण देखिनुले आममानिसमा खोपको प्रभावकारितामाथि शंका बढाइरहेको छ । तर, विश्वभरका अन्य देशको तंथ्याक हेर्दा खोपपछि संक्रमण हुने दर भने निकै न्यून छ।

क्यालिफोर्निया स्यान डिगो स्कुल अफ मेडिसिन युनिभर्सिटीले गरेको एक अध्ययनअनुसार खोपपछि एक प्रतिशतमा पुनः कोभिड संक्रमणको सम्भावना रहन्छ । द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनले मंगलबार प्रकाशित गरेको रिपोर्टअनुसार युनिर्भसिटीले १६ डिसेम्बरदेखि ९ फेब्रुअरीसम्म (मोडर्ना र फाइजर) खोपको पहिलो डोज लगाएका करिब ३७ हजार र दोस्रो डोज लिएका २८ हजारमाथि अध्ययन गरेको थियो।

पहिलो डोज लगाएको दुई सातासम्ममा तीन सय ७९ जनामा कोरोना पोजिटिभ देखिएको थियो भने दोस्रो डोज पनि लिएकाहरूमध्ये ३७ जनामा मात्रै संक्रमण देखिएको थियो । अर्थात् हालसम्म कोभिडविरुद्धको खोप लगाइसकेकामध्ये अधिकतम १.१९ प्रतिशतमा मात्र संक्रमण भएको छ । टेक्सास साउथवेस्टर्न मेडिकल युनिभर्सिटीले गरेको अर्को अध्ययनले पनि खोपपछि न्यून संख्यामा मात्रै संक्रमण देखिएको उल्लेख गरेको छ।

आपत्कालीन प्रयोगमा आइरहेका अधिकांश खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा बढी छ । जसलाई चिकित्सा क्षेत्रमा शतप्रतिशत मान्ने गरिन्छ। तर, खोप लगाइसकेपश्चात् पनि संक्रमण देखिँदा आममानिसमा डर सिर्जना गरेको चिकित्सकहरूको बुझाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad