राजनीति


ओली र नेपाल दुवैको निष्कर्ष : अब सँगै रहन सकिन्न

ओली र नेपाल दुवैको निष्कर्ष : अब सँगै रहन सकिन्न

मणि दाहाल
चैत १५, २०७७ आइतबार १६:४७,

आन्तरिक संघर्षमा रुमलिएका नेकपा एमालेका दुवै समूह अब सँगै अघि बढ्न नसकिने निष्कर्षनजिक पुगेका छन्।

अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरिरहेको असन्तुष्ट समूहले एक साथ अघि बढ्दा आगामी दिनमा आइपर्ने सम्भावित परिदृश्यको लेखाजोखा गरेरै एउटै पार्टीमा रहन नसकिने धारणा बनाएका हुन्।

‘अहिले दुवै पक्ष एकै साथ जान नसकिने निष्कर्षमा पुगेका छन्। आगामी दिनको पार्टीको राजनीतिलाई ध्यान दिँदै दुवै पक्षमा यस्तो धारणा निर्माण हुँदै गएको हो,’ एक स्थायी कमिटीका सदस्यले भने, ‘अहिलेको अवस्थामा नेकपा एमालेमा ओली र नेपालसँगै जान सक्ने देखिँदैन।’

असन्तुष्ट पक्ष स्थायी रुपमा पार्टीमा रहँदा आन्तरिक कलह भइरहने र त्यसले ठूलो नोक्सान गर्ने ओली पक्षको निष्कर्ष छ। त्यस्तै,समूहगत अस्तित्व नहुने हो भने अर्को पक्षले सधैँ पेलिरहने बुझाइ नेपाल पक्षको छ।

ओली पक्षले आगामी चुनावसम्ममा नेपाल समूहको शक्ति खिइँदै आधा कम हुने दाबी गरिरहेको छ।

‘अहिले पार्टीभित्र ६०–४० को अवस्था हो। विभाजन हुने अवस्थामा सूर्य चिन्ह र अन्य कारणले नेपालका १० प्रतिशत कार्यकर्ताले उनको साथ छाडने छन्,’ ओली निकट एक स्थायी कमिटीका सदस्यले भने, ‘नेपाल पक्षले माओवादीसँग एकता वा गठबन्धनको कुरा अघि बढाउँदा थप १० प्रतिशत घट्ने आकलन छ। त्यस्तो हुँदा नेपालले नयाँ पार्टी गठन गर्दा पनि २० प्रतिशत मात्रै कार्यकर्ता बाँकी रहन्छन्।’

नेपाल पक्षलाई पनि यतिबेला ओलीसँग झुकेर अघि बढे उनी झनै आक्रामक बन्ने र पार्टीमा आफूहरुको अस्तित्व नै संकटमा पर्ने भय छ।

‘अहिले कुनै सर्त नराखी जाने हो भने ओली झनै आक्रमक रुपमा आउँछन्। आगामी चुनावसम्ममा एक एक गर्दै किनारामा लैजान्छन्,’ नेपाल पक्षका एक नेताले भने, ‘रिङभित्रै बसेर लडौँ भन्ने साथीहरुको धारणा पनि यो विषयमा छलफल भएपछि परिवर्तन भएको छ।’

नेपालले आफ्नो पक्षका भेलाहरुमा आगामी चुनावमा टिकट वितरणलगायतका विषयमा एकलौटी गरेर ओलीले आफ्नो समूहलार्य सखाप पार्ने बताएका थिए।

नेपाल पक्षले २०७५ जेठ २ को पार्टी संगठनलाई ब्युँताउनुपर्ने माग गर्दै आएको छ। नेपाल पक्षको शुक्रबार र शनिबार राजधानीमा भएको केन्द्रीय सदस्यहरुको बैठकमा पनि जेठ २ गते अवस्थामा फर्किनु नै बटमलाइन भएको निष्कर्ष निकालिएको थियो।

तर अध्यक्ष ओलीले अब एमालेमा गुटगट अस्तित्व नरहने बताएका छन्।

‘नेपाल पक्ष निस्केर जाँदा हुने २० प्रतिशत स्थानको पूर्ति पूर्वमाओवादीबाट आएका र आउने तथा पार्टीप्रति आकर्षित भएका नयाँ पुस्ताबाट हुने ओलीको बुझाइ छ,’ ओलीनिकट ती नेताले भने, ‘त्यसपछि हामी नेकपा एमालेको पहिलेकै हैसियतमा पुग्छौँ।’

तर, तत्काल सत्ताको बलमा ओली शक्तिशाली देखिए पनि विभाजनको असर तल्लो तहसम्म पुग्दा ओली सम्हालिन नसक्ने स्थितिमा पुग्ने नेपाल पक्षको ठम्याइ छ।

‘पार्टी र राज्यसत्ताको कारण केहीलाई उहाँले आकर्षित गर्न सक्नु होला। तर जुन सामर्थ्यका साथ व्यवस्थित रुपमा पार्टी सञ्चालन भएको थियो, विभाजनपछि ओलीले त्यो अवस्थामा पु¥याउन सक्नु हुन्न,’ नेपालनिकट नेताले भने।

सोही निष्कर्षअनुसार नेपाल पक्षले विभिन्न तहमा आफ्ना समानान्तर कमिटी सक्रिय बनाउँदै लगेको छ। अनेरास्ववियु, युवा संघ र महिला संघको केन्द्रमा संरचना निर्माण भइरहेका छन् भने दोस्रो चरणमा प्रदेश कमिटीहरुको तयारी रहेको छ।

‘अहिले नयाँ पार्टी निर्माण गर्ने भन्दा पनि पार्टी पुनर्गठन गरेर अघि बढ्ने हो,’ ती नेता भन्छन्, ‘२०७५ जेठ २ गतेको कमिटीहरुलाई सक्रिय बनाएर त्यो काम अघि बढाउँछौ।’

शनिबार नेपालले बैठकमा पुनर्गठित पार्टीले अपनाउने सामाजवाद स्थापनाको कार्यदिशाबारे एक घण्टा धारणा राखेका थिए। त्यसैगरी बैठकले नेता नेपाललाई चैत ४ र ५ गते कार्यकर्ता भेलामा उठेको विषयलाई संश्लेषण गरेर आवश्यक दस्तावेज निर्माण कार्यको संयोजन गर्न जिम्मेवारी पनि दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .