ad ad

छापा खबर


काठमाडौँ आएर नक्कली आमा बन्‍ने बेलायती महिलाको प्रयास यसरी भयो विफल

काठमाडौँ आएर नक्कली आमा बन्‍ने बेलायती महिलाको प्रयास यसरी भयो विफल

नेपालखबर
साउन २८, २०७६ मंगलबार ०:२६,

अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ।

पर्यटक प्रवेशाज्ञा (भिसा) मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन्।

ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता गरिदिएको थियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्।

प्रमाणपत्रमा शिशुको जन्म साउन १२ गते भएको लेखिएको छ। जन्मदर्ता प्रमाणपत्रमा ती शिशुको नाम ‘आन्ना बेला लक्ष्मी श्रेष्ठ स्मिथ’ छ।

अध्यागमन विभागको अनुसन्धानपछि गैरकानुनी ढंगले शिशुलाई बेलायत लैजाने स्मिथले गरेको प्रयास विफल भएको हो। नेपालस्थित बेलायती दूतावासले स्मिथकै छोरी भन्दै ती शिशुको राहदानी (नम्बर ७९२१५९३१४) बनाइदिएको छ।

दूतावासले हचुवाका भरमा नेपाली शिशुको राहदानी बनाइदिएपछि उसको भूमिकासमेत शंकास्पद देखिएको अधिकारीहरूले बताए। आवश्यक कागजपत्रै नभई दूतावासले राहदानी बनाइदिएको पाइएको छ।

दूतावासले साउन २७ गतेसम्म ती शिशुलाई बेलायत भित्र्याइसक्नुपर्ने ‘इमरजेन्सी’ राहदानी बनाइदिएको थियो। अनुसन्धान सुरु भइसकेकाले स्मिथले उनलाई तोकिएको मितिमा बेलायत लैजान सकिनन्।

त्यसपछि पुनः बेलायती दूतावासले ती शिशुको अर्को राहदानी बनाइदियो। स्रोतका अनुसार दुवै राहदानीमा ती शिशुको नाम भिन्न छ। ती शिशु कसको हो भन्ने खुलेको छैन। स्मिथले ती शिशुलाई आफंैले जन्म दिएको जिकिर गर्दै आएकी थिइन्। उनले हठ नछाडेपछि अध्यागमन विभागले उनको स्वास्थ्य परीक्षण गर्ने निर्णय गर्‍यो।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले ती शिशुलाई स्मिथले जन्माएको कुनै आधार नभेटिएको बताए। पौडेलले भने, ‘हामीले स्मिथको स्वास्थ्य परीक्षण गर्‍यौं। मेडिकल रिपोर्टले नै स्मिथको दाबी गलत साबित गरिदियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .