छापा खबर


सुनुवाइसमेत नभई ४१ वर्षदेखि भारतीय जेलमा बसेका दुर्गाप्रसाद तिम्सिना आज स्वदेश फर्कंदै

सुनुवाइसमेत नभई ४१ वर्षदेखि भारतीय जेलमा बसेका दुर्गाप्रसाद तिम्सिना आज स्वदेश फर्कंदै

नेपालखबर
चैत ६, २०७७ शुक्रबार २३:४४,

कसुर प्रमाणित नभईकन ४१ वर्षदेखि भारतीय जेलमा बन्दी बनाइएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले आज (शनिबार) खुला आकाश देख्दै छन् । पश्चिम बंगालको कोलकातास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त हुँदै छन्।

दुर्गाप्रसादविरुद्ध सन् १९८० मा दार्जिलिङ पुलिसमा हत्या आरोपको जाहेरी परेको थियो । दार्जिलिङका नैन घलेले आफ्नी श्रीमतीको हत्या गरेको भन्दै जाहेरी दिएका थिए । जेल पर्दा २० वर्षका दुर्गाप्रसाद अहिले ६१ वर्षका भएका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा झापाबाट चिरञ्जीवि घिमिरेले लेखेका छन्।

३९ वर्षसम्म उनीविरुद्धको मुद्दामा सुनुवाइ नै भएन, कसुर प्रमाणित नभईकनै दुर्गाप्रसादले जीवनका महत्वपूर्ण समय भारतीय जेलमा बिताउनुप¥यो । सुरुमा दार्जिलिङ, त्यसपछि अलिपुर हुँदै पछिल्लो १४ वर्षदेखि उनलाई कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ राखिएको थियो । कारागारमा उनलाई दीपक जैसीका नामले राखिएको छ । उनलाई घरमा बोलाउने नाम दीपक थियो।

मरे–बाँचेको पत्तो नभएका दुर्गाप्रसाद कोलकातास्थित कारागारमा रहेको जानकारी परिवारले केही महिनाअघि मात्रै पाएको थियो । गत १० फागुनमा भाइ (काकाको छोरा) प्रकाशचन्द्र तिम्सिनाले उनलाई कारागारमै गएर भेटेका थिए । उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी.राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार दुर्गाप्रसादलाई छाड्ने आदेश दिएका थिए । तर, केही कागजी प्रक्रिया बाँकी थिए।

शुक्रबार भाइ प्रकाशचन्द्रले अदालतको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘आज (शुक्रबार) नै छुट्ने भन्ने थियो । तर, अदालतमा कागज मिलाउँदा समय लाग्यो,’ दाइलाई लिन कोलकातामै रहेका प्रकाशचन्द्रले भने, ‘मैले सम्झौता पेपरमा हस्ताक्षर गरेको छु ।’

दाइलाई छुटाएर घर लैजान प्रकाशचन्द्र निकै उत्साहसहित कोलकाता आएका थिए । तर, अदालतको आदेशले उनलाई केही निराश बनाएको छ । किनभने उच्च अदालतले दुर्गाप्रसादको दिमागी हालत ठीक नभएकाले छाडेको बताएको छ । उनको मुद्दा किनारा लागेको छैन । कोलकातास्थित महावाणिज्य दूतावासमार्फत ६–६ महिनामा उनको अवस्थाबारे जानकारी गराउनुपर्ने सम्झौतामा उल्लेख छ।

दिमागी हालत ठीक नभएसम्म दुर्गाप्रसादले घरमा बस्ने सुविधा पाउनेछन् । त्यतिवेलासम्म उनको कुनै मुद्दा–प्रक्रिया अघि नबढ्ने दुर्गाप्रसादको तर्फबाट मुद्दा लडिरहेका वकिल हीरक सिन्हाले बताए।

‘उनको दिमाग नौ वर्षको बालकको जस्तो छ । आफ्नो, बुबा–आमाको र आफूले पढेको स्कुलको नाम मात्र भन्न सक्छन्,’ शुक्रबार उच्च अदालत परिसरमा सिन्हाले भने, ‘यहाँ (कोलकातामा) रहेको महावाणिज्य दूतावासमार्फत ६–६ महिनामा दीपक (दुर्गाप्रसाद)को अवस्था जानकारी गराउनुपर्छ । उनको दिमागी अवस्थाबारे डाक्टरको रिपोर्ट आएपछि मात्र मुद्दा अघि बढ्छ।’

कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार मुद्दाको सुनुवाइ नै नगरी चार दशकसम्म जेलमा राख्दा उनलाई परेको मानसिक, शारीरिक असर र समग्र जीवनको क्षतिपूर्ति माग–दाबी गरी भारतको सर्वोच्च अदालतमा मुद्दामा जान सकिने राय वकिलहरूले दिएका छन्।

यसरी पत्ता लागे दुर्गाप्रसाद, निःशुल्क बहस गरे वकिलले
केही समय दुर्गाप्रसादसँगै जेलमा बसेका राधेश्याम दासले उनको कुरा बाहिर ल्याएका हुन् । कोलकाताका लागि नेपालका महावाणिज्यदुत ईश्वरराज पौडेलका अनुसार उनी राजनीतिक बन्दी हुन् ।

जेलबाट छुटेपछि केही महिनाअघि दासले वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादका बारेमा बताएका थिए । क्लबले अधिवक्ता हीरक सिन्हालाई जानकारी गरायो।

अधिवक्ता सिन्हाले सन् २०२० को नोभेम्बरमा जेलमै पुगेर दुर्गाप्रसादलाई भेटे । ‘एउटा व्यक्ति ४१ वर्षदेखि जेलमा छ, उसको सुनुवाइ भएको छैन भनेर राधेश्यामले भनेपछि म जेलमा पुगेँ । त्यतिखेर उनी शारीरिक रूपमा ठीक थिए । मानसिक रूपमा बिरामी देखिन्थे,’ सिन्हाले भने, ‘मैले अलिअलि नेपाली जानेको थिएँ । नेपालीमा दाजु राम्रो छ भनेर सोधेँ । सकारात्मक भएर उहाँले ठीक छु भने । घर कहाँ हो भन्दा इलाम चियाबगान भन्ने ठाउँमा भने । बुबाआमाको नाम र स्कुलको नाम डायरीमा लेखे।’

त्यसपछि सिन्हाले दुर्गाप्रसादको मुद्दा आफैँ हेर्न थाले । उनीहरूकै पहलमा नेपालस्थित आफन्तको खोजी गरिएको थियो । हीरकसहित वकिल मालायी भट्टाचार्य, सूर्यज्योति घोष र स्वेकाट बेनर्जीको टिमले निःशुल्क मुद्दालाई हेरिरहेको छ । ‘एउटा व्यक्ति विनासुनुवाइ ४१ वर्ष जेल परेको छ । मानवीयताका नाताले हामीले यो मुद्दा हे¥यौँ,’ अधिवक्ता सिन्हाले भने, ‘उहाँ छुट्दै हुनुहुन्छ । धेरै खुसी छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad