छापा खबर


जसपाका तीन माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक

जसपाका तीन माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १:३१,

सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ देखिएको छ। सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको हो।

जसपाका शीर्ष नेता दिनभर आन्तरिक छलफल गरी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

प्रधानमन्त्री ओलीसहित एमाले शीर्ष नेताहरूसँगको वार्तामा तीनबुँदे प्रस्ताव राखिएको जसपा नेता अशोक राईले बताए। ‘हामीले तीनबुँदे प्रस्ताव राख्यौं, सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनका विषयमा कुरा गर्‍यौं’, नेता राईले भने, ‘प्रधानमन्त्रीले हाम्रा मागप्रति सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ।’

जसपाका नेताहरूले विगतमा पनि आफ्ना मागका विषयमा पटक–पटकका छलफलमा सरकारको तर्फबाट जवाफ सकारात्मक आउने तर कार्यान्वयन नभएको प्रसंग उठाएका थिए। त्यसपछि उनीहरूले आफ्ना मागप्रति सरकारको प्रस्ट धारणा र कार्यान्वयनको खाका आउनुपर्ने बताएका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले भने आफू जसपाको माग सम्बोधन गर्न तयार रहेको र यसको व्यावहारिक पक्षबारे छलफल गर्न कार्यदलस्तरमा मोडालिटीबारे अगाडि बढ्न आग्रह गरेका थिए।

जसपाकै नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको र अब कार्यदलस्तरमा मोडालिटीका विषयमा केन्द्रित रहेर छलफल हुने बताए।

‘हामीले उहाँहरूसँग संविधान संशोधन, रेशम चौधरीको रिहाइ, मधेस र थरुहट आन्दोलनको मुद्दा सम्बोधन र पक्राउ परेकाहरूको रिहाइबारे माग राखेका थियौं’, नेता कर्णले भने, ‘प्रधानमन्त्रीले माग सम्बोधन गर्नेप्रति सकारात्मक छु भन्नुभयो। माग सम्बोधन कसरी गर्ने भन्ने सम्बन्धमा मोडालिटी तयार गर्ने समझदारी बनेको छ। अब त्यहीअनुसार कार्यदलस्तरमा छलफल हुन्छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जसपासँगको छलफल सकारात्मक भएको भन्दै अब कार्यदलस्तरमा अनौपचारिक छलफल हुने बताए। ‘प्रधानमन्त्री र जसपाका नेताबीचको भेटघाट सकारात्मक रहेको छ। शुक्रबार फेरि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ’, प्रेस सल्लाहकार थापाले भने।

एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्बाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।.राजन भट्टराई रहेको कार्यदल छ। प्रधानमन्त्री र महन्थ ठाकुरबीच फागुन २४ गते भएको भेटपछि यस विषयमा छलफल गर्न जसपाबाट पनि सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको कार्यदल बनेको छ। अब जसपाले उक्त कार्यदलमै केही सदस्य थप गरी छलफललाई अगाडि बढाउने तयारी गरेको छ।

जसपाले उठाउँदै आएको रेशम चौधरीको रिहाइका कानुनी प्रक्रिया, मुद्दा फिर्ता र संविधान संशोधनका विषयमा कार्यदल स्तरका छलफलमा अब मोडालिटी कस्तो बनाउने भन्नेमा छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad