छापा खबर


काष्ठमण्डप पुनःनिर्माणमा नातिदेखि बाजेसम्म

काष्ठमण्डप पुनःनिर्माणमा नातिदेखि बाजेसम्म

नेपालखबर
साउन २५, २०७६ शनिबार २:६,

काठैकाठले बनेको विश्वप्रसिद्ध सत्तल काष्ठमण्डप पुनःनिर्माणमा भक्तपुर डिबुछो, गलसीको एउटा राजचल परिवार एक वर्षदेखि निरन्तर खटिइरहेको छ।

सात पुस्तादेखि काठका बुट्टा कुँद्ने काम गर्दै आएको राजचल परिवारको तीन पुस्ता अहिले काठमण्डप पुनःनिर्माणमा जुटेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

हनुमानढोकास्थित पुरानो प्रहरी कार्यालयको भवन परिसरमा राँवो, बसिला, रन्दा र आरासँग दैनिकी बिताइरहेका ७३ वर्षे लक्ष्मीभक्त राजचलले भने, “जानेकै यही त हो, अरू के काम गर्ने? स्कुल बिदा भएको बेला त नातिसमेत आएर सघाउँछ।”

काष्ठमण्डपको दोस्रो तहको थाममाथि राख्ने निदालको गास बनाउन तल्लीन लक्ष्मीभक्तले दाउराको फेरले पसिना पुछ्दै भने, “ऐतिहासिक सम्पदा संरक्षणमा पसिना बगाउन पाउँदा गर्व लाग्छ । एउटा इतिहासमा इँटा थपेजस्तो हुन्छ।”

लक्ष्मीभक्तका दुई छोरा लक्ष्मीप्रसाद र कृष्णप्रसादसहित भाइ, भान्जा र भतिजा गरी १० जनाको समूहले काष्ठमण्डपको थाम, निदाल, मेठ, झ्यालका बुट्टा बनाइरहेका छन्।

पुनःनिर्माणमा सम्भव भएसम्म पुरानै काठ प्रयोग गर्नुपर्ने भएकाले पुराना बुट्टालाई दुरुस्त उतार्न र जडानमा विशेष ध्यान दिनुपर्ने लक्ष्मीभक्तको अनुभव छ।

बाबुबाजेसँगै काममा हिँड्दाहिँड्दै नौ वर्षको उमेरदेखि काम जानेका लक्ष्मीभक्तले भने, “विश्वविद्यालयमा गएर जानिने सीप हो र यो? त्यही भएर आठ कक्षामा पढ्दै गरेको नातिलाई पनि बेलाबेलामा ल्याएर काममा लगाउँछु । चिनो लगाएको ठाउँमा उसले पनि प्वाल खोप्छ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad