छापा खबर


किशोरी बलात्कार घटनाः डेढ लाख दिएर मिलापत्र गराउने सात पक्राउ

किशोरी बलात्कार घटनाः डेढ लाख दिएर मिलापत्र गराउने सात पक्राउ

नेपालखबर
साउन २५, २०७६ शनिबार १:५०,

मोरङको रंगेलीमा सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको घटना आर्थिक प्रलोभन दिएर गाउँमै मिलापत्र गराउने सातजना पक्राउ परेका छन् ।

पीडित परिवारलाई डेढ लाख रुपैयाँ दिने कागज गराएर बलात्कारको घटना गाउँमै मिलापत्र गराउने १० जनामध्ये सातजनालाई इलाका प्रहरी कार्यालय रंगेलीले शुक्रबार पक्राउ गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका–९ सखुवाथानका ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाईं, ३३ वर्षीय दिलीप मुमूु र ३५ वर्षीय सुवास राजवंशी छन् । प्रहरीका अनुसार ३५ वर्षीय गणेशप्रसाद दाहाल ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर अझै फरार छन् ।

जघन्य अपराध मिलापत्र गराउनेलाई पक्राउ गरेर कानुनी कारबाही चलाउन जिल्ला न्यायाधिवक्ताले निर्देशन गरेपछि प्रहरीले उनीहरूको खोजी तीब्र बनाएको थियो ।

मिलापत्र गराउने दशजनाविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीले जिल्ला अदालत मोरङमा बलात्कार गर्न उक्साएको आरोपमा मुद्दा दर्ता गराइसकेको छ । फरार भएकाहरू पनि चाँडै पक्राउ पर्ने प्रहरीको दाबी छ ।

यता, बलात्कारमा संलग्न रंगेली–९ सखुवाथानका २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई प्रहरीले पक्राउ गरेर जबर्जस्तीकरणी आरोपमा मुद्दा दर्ता गराइसकेको छ । २३ वर्षीय सुनील चौधरी अझै फरार छन् ।

उनीहरूले २० असारको साँझ चुरोट सल्काउन आगो माग्ने निहुँमा गाउँकी अशक्त किशोरीलाई अपहरण गरेर सामूहिक बलात्कार गरेका थिए।

घटना सार्वजनिक भएपछि २६ असारमा गाउँमा स्थानीय अगुवाहरूले भेला राखेर बलात्कारमा संलग्नहरूको तर्फबाट जनही ५० हजार रुपैयाँ दिने र कतै उजुरबाजुर नगर्ने सर्तको कागजमा सहीछाप गराएर जघन्य अपराध मिलापत्र गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad