समिम मियाँ अन्सारी बिहीबार साँझ ना६ख ७४६९ सृष्टि डिलक्स चढेर व्यापारका सामान खरिद गर्न काठमाडौं जाँदै थिए ।
उनी सर्लाहीको मलंगवा–३ का स्थानीय व्यापारी हुन् । सदरमुकाम मलंगवाबाट ४० यात्रु बोकेर छुटेको गाडीमा हरिपुर नगरपालिकाबाट दुई यात्रु थपिए ।
१४ किमि वर हरिवनसम्म सवारीधनीले नै बस चलाए । हरिवनस्थित पेट्रोलपम्पमा तेल हालेपछि भने चालक जीवन विकले हाँक्न थाले।
‘बिहानीपख बसतीव्र गतिमा गुडिरहेको थियो, सायद म मस्त निदाएको थिएँ क्यारे,’ समिमले त्यो क्षण सम्झिए, ‘एक्कासि गड्याङगुडुङ आवाज आयो । के भयो, केही मेसो पाइनँ । आँखा खुल्दा पानीमा डुबिरहेको थिएँ । बसबाट बाहिर उछिट्टिसकेको रहेछु।’
गर्मी भएकाले उनले झ्यालको सिसा खुलै राखेका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा धादिङबाट हरिहरसिंह राठौरले लेखेका छन्।
‘खुला झ्यालका कारण आफू मात्र उछिट्टिएको होला, के भइरहेछ भनेर सोच्नसमेत नभ्याउँदै पानीले बगाउन थाल्यो,’ उनले सुनाए, ‘मलाई पौडन आउँथेन, तैपनि हातखुट्टा चलाइरहें । केही घुटको बालुवा मिश्रित पानी खाइसकेको थिएँ । बगेर करिब सय मिटर तल पुग्दा किनारा भेटें । अकस्मात रूखको बुट्यान समातें र गुहार माग्दै चिच्याउन थालें । केहीबेरमा प्रहरी आएर अस्पताल पठाए।’
समिमले के भएको भनेर पत्तो नपाउँदै उनी चढेको सृष्टि डिलक्स शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खसिसकेको थियो । दुर्घटनामा मृत्यु हुनेको संख्या साँझसम्म ६ पुगेको छ । २३ जना बेपत्ता छन् ।
उद्धार गरिएका १६ जनाको धादिङ र काठमाडौंमा उपचार भइरहेको छ । मृत्यु भएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मी तथा कन्डक्टर ऋषि उप्रेतीको मात्र सनाखत हुन सकेको छ ।
अन्य तीनको पहिचान हुन सकेको छैन । चरौंदी ज्यामिरे, मुग्लिन जुगेडी, कृष्णभीर र तनहुँको देवघाटमा एकरएक तथा गोरखातर्फका किनारमा २ वटा शव फेला परेका थिए ।
‘हातखुट्टा र अनुहारमा चोट लागेको छ । धेरै चोट त देखिएको छैन, तर ज्यान बेस्सरी दुखिरहेको छ,’ उद्धारपछि गजुरीस्थित राजमार्ग सामुदायिक अस्पतालको शय्यामा रहेका घाइते समिमले कान्तिपुरसँग भने, ‘बाँचेर अहिले यसरी बोलिरहँदा अचम्म लागिरहेको छ । गाडीका सिटभरि यात्रु थिए, उनीहरू बीचैमा झरे कि खोलाले बगायो, केही थाहा छैन । बाँच्न लेखेको रहेछ, बाँचें।’
उद्धारपछि समिमसँगै उपचार गराइरहेका मलंगवा–३ कै दिनेश ठाकुर पनि गाडीमा बिहानीपख मस्त निद्रामा थिए । ‘एक्कासि बस सडकबाट खस्यो, खस्दाखस्दै म झ्यालबाट उछिट्टिएँ,’ उनले सुनाए, ‘हेर्दाहेर्दै बस नदीमा डुब्यो । पाखामा उछिट्टिएकाको रुवाबासी चल्यो । साह्र्रै अत्तालिएर गर्ने के नगर्ने ठम्याउन सकिनँ ।’ किनारामै उछिट्टिएका उनको खुट्टा बेस्सरी दुखिरहेको थियो।
अँध्यारो भएकाले केही देखिएको थिएन । झारबुट्टा समाएर सडकमा उक्लिए । र, अरू बसलाई दुर्घटना भएको खबर दिने पहिलो व्यक्ति घाइते दिनेश नै थिए ।
‘केहीबेरमा प्रहरीहरू आएपछि मलाई अस्पताल पठाइयो,’ उनले सुनाए । धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयका अनुसार मलंगवाबाट चढेका ४० र हरिपुर नगरपालिकाबाट थपिएका २ यात्रुका साथै चालक दलका तीन गरी बसमा ४५ जना थिए ।
बेपत्ता यात्रुको स्थिति पत्ता लगाउन आधा डुबेको बसलाई क्रेनले तानेर बाहिर ल्याइएको थियो । बाहिर तानिएको बसमा कुनै यात्रु थिएनन् । बस झर्दै सबै यात्रु पानीमा उछिट्टिएको आशंका प्रहरीले गरेको छ । गजुरीस्थित जिल्ला ट्राफिक कार्यालयका निरीक्षक नेत्रप्रसाद भट्टले घाइते सर्लाही हरिपुर–७ का भोगेन्द्र चौधरीसँगको बयान उद्धृत गर्दै भने, ‘बस तीव्र गतिमा थियो ।’
बसधनीले पालो दिएको हरिवनबाट दुर्घटनास्थल धादिङको बेनीघाटसम्मको दूरी करिब २५१ किलोमिटरसम्म चालक एक्लैले हाँकेका थिए ।
कन्डक्टर मृतक उप्रेतीले पनि बीचमा यदाकदा चालकको सिटमा बसेर चलाउने, सिक्ने प्रयास गरेका थिए । सडक सजिलै भएको स्थानमा दुर्घटना भएकाले बिहानीपखको शीतलतामा चालक निदाएको हुन सक्ने अनुमान घाइतेहरूले गरेको निरीक्षक भट्टले बताए ।
जिल्ला प्रहरी सर्लाहीले उपलब्ध गराएको तथ्यअनुसार बसमा विष्णु गाउँपालिकाका खुस रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्मद मतलुङ, लक्ष्मीपुरका मनीष रायसहित दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रविकुमारसहित तीन जना, भारत मुजफ्फरपुरका आशिष कुमारसहित दुई जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारत अररियाका दिलीप दाससहित तीन जना, ब्रह्मपुरी गाउँपालिका त्रिभुवननगरका राजनारायण रौनियारसहित चार जना, मलंगवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिश राय, भूपेन्द्रकुमार, रोहित समिम, सुशील श्रीवास्तव, अनिल, मलंगवा गणेसियाका भाग्यनारायण महतोसहित तीन जना, भारतका लरकवाका रामबाबु यादवसहित तीन जना, भारतका कुवारीका अजय ठाकुरसहित दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा थिए ।
उद्धार गरिएकामध्ये चालक विक बेहोस छन् । सहचालक प्रमोद चौधरीलाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले बताए ।
उद्धार गरिएका १६ जनामा भूपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, समिम मियाँ अन्सारी, धीरेन्द्र ठाकुर, चालक जीवन भनिने लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल महतो रहेका छन् ।

प्रतिक्रिया