छापा खबर


एक साताको फरकमा एसइई र कक्षा १२ को परीक्षा सञ्चालनको तयारी

एक साताको फरकमा एसइई र कक्षा १२ को परीक्षा सञ्चालनको तयारी

नेपालखबर
फागुन १२, २०७७ बुधबार ०:५८,

एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ।

बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

बोर्डका उपाध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा निर्णय गरिने जानकारी दिए।

हाल दुवै तहको परीक्षाका लागि बोर्डले विभिन्न चरणको काम गरिरहेको छ । बोर्डको यो तयारी कार्यान्वयन हुन सके विद्यार्थीको शैक्षिक सत्रमा दुई÷तीन महिनाको हाराहारीमा मात्र क्षति हुनेछ । विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरिएको थियो।

एसईईका लागि देशभरका विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने म्याद फागुन ६ गते सकिएको छ । हाल जिल्ला–जिल्लामा विद्यार्थीको अभिलेखीकरण गर्ने कार्य भइरहेको जानकारी बोर्डले दिएको छ । सबै विद्यार्थीको विवरण यकिन गर्न चैतसम्म लाग्ने आकलन गरिएको छ।

त्यसपछि मात्र आगामी वर्ष एसईई दिने विद्यार्थीको सङ्ख्या यकिन हुनेछ । यस पटक कोरोना भाइरस सङ्क्रमणका कारण विद्यार्थीको सङ्ख्या घट्न सक्ने प्रारम्भिक आकलन गरिए पनि त्यसको निधो हुन सकेको छैन । सरकारले एउटा विद्यालय छोडेर अर्को विद्यालय गएको विद्यार्थीलाई लक्षित गरी यस पटक कक्षा १० मा समेत स्थानान्तरणको सुविधा दिने निर्णय यसअघि नै गरिसकेको छ।

हाल कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीको रजिस्ट्रेसन भर्ने काम भइरहेको छ । बोर्डले फागुनभित्र रजिस्ट्रेसन फाराम भर्ने समय विद्यार्थीलाई उपलब्ध गराएको छ। फारम भरेपछि सबै खालका तयारी पूरा गरी जेठमा कक्षा १२ को समेत परीक्षा लिन सकिने आकलन बोर्डका पदाधिकारीले गरेका छन्। कक्षा ११ को अन्तिम परीक्षा भने सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad