छापा खबर


तीनवटा लौकाको विषादी परीक्षण शुल्क ८७ हजार !

तीनवटा लौकाको विषादी परीक्षण शुल्क ८७ हजार !

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ३:४५,

तरकारीमा रहेको विषादी परीक्षण गर्न शुल्क कति लाग्ला? जोकोही पनि अनुमान गर्ला, केही सय वा बढीमा हजार रुपैयाँसम्म ।

तर, यहाँ एक सरकारी निकायमै भएको तरकारीको विषादीमा परीक्षणको शुल्क ८७ हजार रुपैयाँ निर्धाण गरिएको छ । यति ठूलो रकमको बिल आएपछि परीक्षण गर्न पठाउने अर्को सरकारी निकायका पदाधिकारी पनि चकित भएका छन्।

केही दिनअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारबाट संकलन गरिएको लौकाको विषादी परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाएको थियो।

खाद्य विभागले पनि वाणिज्यबाट आएको तीनवटा लौकाको विषादी परीक्षण गर्न राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला पठाएको थियो ।

परीक्षणपछि खाद्य विभागले ८७ हजारको शुल्कसहितको बिल वाणिज्य विभागलाई पठाएको हो। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

परीक्षण रिपोर्टमा प्रयोगशालामा ३ वटा लौकामा २९ किसिमका विषादी अवशेष रहे-नरहेको परीक्षण गरिएको उल्लेख छ । प्रतिपरीक्षण १ हजारका दरले ८७ हजार रुपैयाँ शुल्क लागेको व्यहोरासहितको पत्र खाद्य विभागले वाणिज्य विभाग पठाएको हो ।

वाणिज्य विभागले पठाएका ३ वटा लौकाको परीक्षण गरेको शुल्क खाद्य तथा गुण नियन्त्रण विभागले ८७ हजार रुपैयाँ लियो।

तीन लौकाको विषादी परीक्षण शुल्क ८७ हजार रुपैयाँ आएपछि वाणिज्य विभागका अधिकारी आत्तिएका छन् ।

‘उपभोक्ताले लौका खाँदा अस्वस्थ भएको उजुरी गरेपछि परीक्षणका लागि पठाएका थियौँ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘परीक्षणबापतको शुल्क तिर्छौँ भनेरै पठाएका थियौँ, तर यति ठूलो रकम तिर्नुपर्ला भन्ने सोचिएको थिएन।’

उनले सरकारी निकायकै प्रयोगशाला प्रयोग भएकाले आपसी छलफल गरेर शुल्क भुक्तानी गर्ने बताए । यता, खाद्य विभागका निमित्त महानिर्देशक मतिना वैद्यले सरकारबाट स्वीकृत दररेटकै आधारमा शुल्क निर्धारण गरिएको बताइन्।

‘एउटा विषादी अवशेषको परीक्षण शुल्क १ हजार रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भनिन्, ‘तीनवटा लौकामध्ये प्रत्येकको २९ वटा विषादी अवशेष परीक्षण गरिएको छ । जसकारण कुलशुल्क ८७ हजार रुपैयाँ हुन पुगेको हो ।’ उनले प्रयोगशाला शुल्क परिमार्जनका क्रममा रहेको जानकारीसमेत दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad