ad ad

छापा खबर


भागरथी हत्या प्रकरण : प्रहरीले देखाएको घटनास्थलमै स्थानीयले व्यक्त गर्न थाले शंका

भागरथी हत्या प्रकरण : प्रहरीले देखाएको घटनास्थलमै स्थानीयले व्यक्त गर्न थाले शंका

नेपालखबर
फागुन ३, २०७७ सोमबार २:६,

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन।

प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका बारेमा ठोस प्रमाण फेला पार्न सकेको छैन। बलात्कार र हत्यामा संलग्न एकजनामात्र हो कि एकभन्दा बढी थिए भन्ने पनि अझै खुल्न सकेको छैन।

बाटोबाट स्पष्ट देखिने ठाउँमा भागरथीको शव फेला परेको थियो। हत्याको भोलिपल्ट घर फर्किरहेका तीन विद्यार्थीले सडकबाटै उनको शव देखेका थिए।

चडेपानी गाउँ र सिल्ल गाउँका मान्छे हिँडडुल गरिरहने बाटोबाट स्पष्ट देखिने स्थानमा दिनदहाडै बलात्कार र हत्या कसरी भयो? यो प्रश्नले स्थानीय बासिन्दालाई रन्थन्याएको खबर आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र बिरा गडालले लेखेका छन्।

शव फेला परेको भन्दा केही मिटर तल घंघारुसहितको झाडी छ। ‘बलात्कार र हत्या गर्ने भए सडकबाट देखिने ठाउँमा नगरेर यो झाडीमा गर्नुपर्ने थियो’, आइतबार घटनास्थलको अवस्था देखाउँदै स्थानीय बलदेव भट्टले भने, ‘यही ठाउँमा बलात्कार र हत्या गरेको भन्ने कुरामा हामीलाई शंका लागेको छ।’

कच्ची बाटोबाट घिसार्दै भागरथीलाई शव फेला परेको ठाउँसम्म लगेको स्थानीय बताउँछन्। कच्ची सडकबाट शव फेला परेको ठाउँसम्म बनमारा झाडीमा घिसारेको जस्तो अवशेष पनि देखिएको उनले बताए। शव भेटिएको स्थान र सडकबीचको एक ठाउँमा ढुंगामा लागेर खसेको भागरथीको शरीरको छालाको टुक्रा प्रहरीले फेला पारेको छ।

माघ २१ गते हराएकी भागरथीको शव भोलिपल्ट साँझ ५ बजे फेला परेको थियो। माघ २३ गते तालिम प्राप्त कुकुरले शव भएको स्थानभन्दा करिब २५ मिटर पूर्व भागरथीको मोबाइल, ब्याट्री र कभर अलगअलग गरेर फालेको अवस्थामा भेटेको थियो। कुकुर अझै सय मिटरअघि कच्ची बाटोसम्मै पुगेको थियो।

‘भागरथीलाई घिसार्दै घटनास्थलमा ल्याएको ठाउँबाटै कच्ची बाटो नगएर अपराधी सामुदायिक वनको झाडी भएर कच्ची बाटोमा पुग्नुले उसमा भूगोलको राम्रो जानकार भएको देखिन्छ’, भट्टले भने। हत्याराले चलाखी गरेकाले प्रहरीलाई पत्ता लगाउन जटिल भएको छ।

‘प्रहरीले अनुसन्धान साँघुरिएको भनेको पनि एक साता भइसकेको छ तर अझै हत्यारा पत्ता नलाग्दा निर्मला पन्तले जस्तै छोरीले पनि न्याय पाउँदिन कि भन्ने चिन्ता बढ्दै गएको छ’, भागरथीको काका शंकरदत्त भट्टले भने। अघिल्लो राति पानी परेकोले कुकुरले अपराधी भागेको बाटो पछ्याउन नसकेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख उत्तम सुवेदीले बताएका छन्। अपराधी जंगलको बाटो हुँदै कच्ची सडकमा पुगेर कुनै सवारीसाधनमा भागेको हुन सक्ने देखिएको छ।

बुधबार करिब पौने ३ बजेतिर भागरथीको मोबाइल स्विचअफ भएकाले प्रहरीले अढाई बजेतिर हत्या भएको अनुमान गरेको छ। प्रहरी शव फेला परेकै स्थानमा बलात्कार र हत्या भएको निष्कर्षमा पुगेको छ। कच्ची बाटोबाट भागरथीलाई घिसार्दै करिब ५० मिटर तल जंगलमा लगेर बलात्कार गरी हत्या गरेको प्रहरीको बुझाइ छ। पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाएको छ।

प्रहरीले भागरथीको मोबाइलको कल डिटेल, सामाजिक सञ्जालमा जोडिएका र त्यो बाटो हुँदै आवतजावत गर्ने धेरैजनासँग सोधपुछ गरिसकेको छ। निर्मलाको मोबाइल थिएन भने अन्य प्रमाण पनि प्रहरीको कमजोरीले जोगाउन सकिएको थिएन। भागरथीको केसमा भने घटनास्थलमा फेला परेका तथ्य र प्रमाणको जाँचपछि हत्यारा पत्ता लगाउन सकिने विश्वासमा प्रहरी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .