बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना त दर्ता नै भएका छन् । सबैभन्दा डरलाग्दो तथ्य, पीडितमध्ये पाँच हजार बालिका छन्।
बलात्कारविरुद्ध संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला पन्त प्रकरणपछि हो । तर, अहिलेसम्म न उनको अपराधी भेटिएको छ न बलात्कारको अत्यासलाग्दो शृंखला रोकिएको छ ।
बरु साउन ०७५ मा कञ्चनपुरकी निर्मला पन्तदेखि माघ ०७७ मा बैतडीकी भागरथीसम्म आइपुग्दा देशमा तीन हजार तीन सय ४७ बालिका बलात्कृत भएका छन् । अपराध लुकाउन १७ जना पीडितको हत्या भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
यो अढाई वर्षमा बलात्कारबाट पीडित तीन हजार तीन सय त बालिका मात्र हुन् । योबीचमा ६ हजार आठ सय ४४ जनाको बलात्कार भएको छ । यसरी कुल बलात्कारमध्ये आधा त बालिका नै छन् ।
पछिल्लो साढे दुई वर्षमा बलात्कारपछि १७ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । बलात्कारको अपराध लुकाउन गत साउनयता मात्रै चारजनाको हत्या भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा दुई तथा ०७५÷७६ मा ११ जनाको हत्या भएको थियो ।
पछिल्लो अवस्थामा बलात्कार वा प्रयासका दैनिक सात घटना प्रहरीमा दर्ता हुने गरेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्मका ६ महिनामा बलात्कार तथा प्रयासका एक हजार दुई सय ६० वटा घटना दर्ता भएका छन् । पीडितमध्ये आधा बालिका छन् ।

प्रतिक्रिया