ad ad

छापा खबर


बुवाको मृत्यु भएको एक महिनापछि १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या

बुवाको मृत्यु भएको एक महिनापछि १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या

नेपालखबर
माघ २४, २०७७ शनिबार २:२७,

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ।

भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयबाट झन्डै दुई किमि दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा शव फेला भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी बिहीबार राति नै घटनास्थल पुगेका थिए। जिल्ला सदरमुकाम गोठलापानीबाट मोटर चढेर झन्डै डेढ घण्टामा घटनास्थल पुगिन्छ।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा बैतडीबाट शिवराज भट्टले लेखेका छन्।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीसहित सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोली शुक्रबार बिहान घटनास्थल पुगेका छन्। प्रमुख जिल्ला अधिकारी जोशीले किशोरीको बलात्कारपछि हत्या भएको अनुमान गरिएको जानकारी दिए। ‘फरेन्सिक टिम बोलाएका छौं। घटना मुचुल्का गरी किशोरीको शव जिल्ला अस्पताल लगिएको छ’, प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘त्यहाँ चिकित्सको टोलीले पोस्टमार्टम गरेपछि मात्रै विस्तृतमा भन्न सकिन्छ।’

किशोरीको बलात्कारपछि हत्यामा संलग्न दोषी चाँडै पत्ता लगाई कानुनी दायरामा ल्याइने जोशीले बताए।

प्रहरीले किशोरीको मोबाइल ब्याट्री झिकेर फालिएको अवस्थामा घटनास्थलमै फेला पारेको छ। मोबाइलका सूचना केलाउने कार्य पनि प्रहरीले गरिरहेको छ।

खोचलेक–चडेपानी कच्ची सडकको लवलेक (स्थानीय भाषामा लडालेक)को बीच जंगलमा सडक आसपास बलात्कार गरी घिसारेर ५०–६० मिटर तल झाडीमा शव फालिएको फेला परेको स्थानीय शिवराज भट्टले बताए।

‘घरमा आमा एक्लै भएको भन्दै अभिभावकविहीन भएको मौका छोपेर बलात्कार गरेको हुन सक्छ’, आफन्त भट्टले भने। भागरथीका बुवाको एक महिनाअघि धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो। उनका दाइ केही दिनअघि किरिया सकेर भारततिर लागेका थिए।

सनातन धर्म माविका विद्यार्थीले शुक्रबार घटनामा संलग्न अपराधीलाई अविलम्ब पत्ता लगाउनुपर्ने माग गरेका छन्। विद्यालयबाट निस्केर इलाका प्रहरी कार्यालयनजिकै रहेको खोचलेक बजारमा विद्यार्थीले प्रदर्शन गरेका हुन्। उनीहरूले कुनै पनि बहानामा बलात्कारपछि हत्यामा संलग्नलाई खोज्न लापरवाही नगर्न चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .