नेपाली सेनाले नियमित अभ्यास भन्दै सोमबार राति १० वटा बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको छ ।
०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको सीतापाइलास्थित युद्धकवच गणले बख्तरबन्द गाडी चक्रपथमा निकालेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।
सेनाका पूर्वअधिकृतहरूले सेनाका बख्तरबन्द गाडीले यसअघि काठमाडौंको चक्रपथमा यसरी फन्को लगाएको विषयमा थाहा नभएको बताएका छन् । १९ माघकै दिन रोजेर किन यसरी सेनाले बख्तरबन्द गाडी सडकमा निकाल्यो? यो संयोग हो कि सन्देश? विश्लेषकहरूले प्रश्न गरेका छन्।
सेनाले सोमबार राति चक्रपथ परिक्रमा गर्ने र बुधबार आठै पृतनामा रहेका बख्तरबन्द गाडी बाहिर निकाल्ने सूचना आइतबार नै सार्वजनिक गरेको थियो ।
‘नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको, त्यसैगरी ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौँ,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले आइतबार ट्विटरमा लेखेका थिए ।
‘आमरूपमा भ्रम नपरोस् भन्ने हिसाबले मात्रै हामीले सूचना जारी गरेका हौँ । यो नितान्त नियमित अभ्यास हो,’ सोमबार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी पदम बुढाले भने, ‘हाम्रा बख्तरबन्द गाडीहरू सातामा दुईपटक सीतापाइलाबाट चोभारसम्म नियमित रूपमा अभ्यासका क्रममा जाने–आउने गरिरहेका छन् । यो धेरैलाई थाहा छैन । अहिले अलिकति लामो रुटमा अभ्यास गर्न लागिएको मात्रै हो।’
सामरिक तथा भूराजनीतिक मामिला जानकार गेजा शर्मा वाग्लेले भने अहिलेको परिस्थितिमा सेनाले गर्ने अभ्यासले आशंका र संशय पैदा गरेको टिप्पणी गरे ।
‘प्रतिनिधिसभा विघटनपछि सिर्जना भएको अत्यन्त तरल, जटिल र अन्योलपूर्ण राजनीतिक घडीमा सेनाले राजधानीलगायत देशका विभिन्न स्थानमा गर्ने अभ्यासले आशंका र संशय सिर्जना गरेको छ,’ वाग्लेले भने, ‘सेनाले नियमित अभ्यासको संज्ञा दिएको छ, तर यो संयोग मात्रै नहुन सक्छ । विकसित राजनीतिक तथा सुरक्षा परिस्थितिको विश्लेषण गर्दै सेनाले मनोवैज्ञानिक सांकेतिक सन्देश दिन चाहेको देखिन्छ, जुन अर्थपूर्ण छ।’
वाग्लेले राष्ट्रिय तथा व्यावसायिक सेनाले राष्ट्रिय स्वार्थ र सुरक्षामाथि संकट सिर्जना भएको वेलामा मात्रै संविधानको भावना र राष्ट्रिय आवश्यकताअनुरूप भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘तर, राजनीतिक परिस्थिति जटिल हुँदै जाँदा सरकारले संकटकालीन अवस्थासमेत घोषणा गर्न सक्ने आशंका भइरहेको पृष्ठभूमिमा सरकारको घोषित–अघोषित राजनीतिक स्वार्थअनुरूप प्रकारान्तरले सेना उपयोग भयो भने दुर्भाग्य हुनेछ,’ वाग्लेले भने, ‘राष्ट्रिय र व्यावसायिक सेनाले सरकारको राजनीतिक स्वार्थअनुरूप परिचालित हुन्छ वा भएको छ भन्ने विश्वास मलाई छैन।’
सेनाका एकजना अवकाशप्राप्त रथीले पनि अहिलेको परिस्थितिमा सेनाले सडकमा बख्तरबन्द गाडी उतारेर राम्रो सन्देश नगएको टिप्पणी गरे । उनले भने, ‘नियमित अभ्यास नै हो, तर समय र परिस्थितिको छनोटले दिने सन्देश महत्वपूर्ण हुन्छ । सेनाको नियत अन्यथा छैन भन्नेमा म स्पष्ट छु, तर समयको छनोट ठीक भएन।’
संसद् विघटनपछि चौतर्फी आलोचनामा परेका प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीले विपक्षीहरूलाई सन्देश दिन सेनाको दुरुपयोग गर्न लागेकोसमेत कतिपयको आशंका छ । रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमन्त्रीको कार्यालय सारिएपछि रक्षा मन्त्रालय प्रधानमन्त्रीकै मातहत छ।
Shares

प्रतिक्रिया