ad ad

छापा खबर


प्रधानमन्त्री कार्यालय सार्ने तयारी

प्रधानमन्त्री कार्यालय सार्ने तयारी

नेपालखबर
माघ ८, २०७७ बिहिबार ०:१८,

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मोहडाको प्रबलीकरण सम्पन्न भएको छ । यो पहिलो चरणको प्रबलीकरण हो।

प्रबलीकरण सम्पन्न भएको भवनमा यसै महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

पश्चिमी मोहडाको प्रबलीकरण तीव्र गतिमा भइरहेको छ। सिंहदरबारस्थित ११७ वर्ष पुरानो मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा भइरहेको छ । वि.सं.१९६० मा सिंहदरबार निर्माण गरिएको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)को पहिलो चरणको प्रबलीकरण सम्पन्न भएको जानकारी दिए।

अहिले दोस्रो चरणमा सूचना प्रविधिसँग सम्बन्धित काम, मेटेनिकल, इलेक्ट्रोनिक र प्लम्बिङ (एमईपी)को काम, आधुनिक फर्निचर, इन्टेरियर डेकोरेसन, सुरक्षासँग सम्बन्धित उपकरण, फायर फाइटिङ जडान, बगैँचा निर्माणलगायतका कार्य अन्तिम चरणमा पुगेको सिंहले बताए। यसै महिनाभित्र प्रबलीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न हुने उनले जानकारी दिए।

भवनको पहिलो तलामा प्रधानमन्त्रीको कार्यालय रहने क्षेत्रलाई आधुनिकीकरण तथा सुरक्षाको दृष्टिकोणले ‘स्पेसल जोन’को रूपमा विकास गरिने आयोजना प्रमुख सिंहले बताए।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्मित सिंहदरबारको पश्चिमी खण्ड वि.सं. २०३० को आगलागीमा बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो जसको पछि पुनर्निर्माण गरिएको थियो।

२०३० सालमा भएको आगलागीपछि अङ्ग्रेजी अक्षर ‘सी’ आकारको यो भवनको जीर्णोद्धारमा सिमेन्ट, बालुवा, रडलगायतका सामग्री प्रयोग गरिएको थियो ।आवश्यक सामग्री बेलायतबाट झिकाई तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा सन् १९०३ मा युरोपेली शैलीमा सिंहदरबार निर्माण गर्न लगाएका थिए।

कुल एक अर्ब ५५ करोड रुपियाँको लागतमा अहिले सिंहदरबारको प्रबलीकरण भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .