ad ad

छापा खबर


प्रदेश समीकरणमा कांग्रेस नेता भन्छन् : ओलीको छायालाई नजोगाऊँ

प्रदेश समीकरणमा कांग्रेस नेता भन्छन् : ओलीको छायालाई नजोगाऊँ

नेपालखबर
माघ ७, २०७७ बुधबार २३:१८,

संसद् विघटनपछि प्रदेशमा सत्तासमीकरणमा पार्टीको भूमिकालाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूसँग छलफल थालेका छन् ।

प्रधानमन्त्री केपी ओलीकै छायाका रूपमा रहेको प्रदेश सरकारलाई समर्थन गर्दा संसद् विघटनविरुद्धको आन्दोलन कमजोर हुने छलफलमा सहभागी नेताहरूको भनाइ छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।

सभापति देउवाले बुधबार प्रदेश १ बाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूसँग छलफल गरेका छन् । प्रदेश १ बाट प्रतिनिधित्व गर्ने नेताहरूले भने प्रदेशमा पनि ओलीको छायालाई जोगाएर जान नहुने तर्क राखेका छन् । छलफलमा सहभागी नेताहरूले कांग्रेसले अविश्वासको प्रस्तावका पक्षमा उभिनुपर्नेमा जोड दिएका छन्।

उपसभापति विजयकुमार गच्छदारले ओली नेतृत्वको सरकारले आफूमाथि मुद्दा चलाएको भन्दै ओलीकै छायाका रूपमा रहेको प्रदेश सरकारलाई समर्थन गर्न नसकिएको बताएका थिए। ‘म अहिले जिल्ला पनि कम गइरहेको छु । ममाथि मुद्दा पनि चलिरहेको छ । यस्तो अवस्थामा साथीहरूले नै धारणा राख्नुस् । तर, ओलीको छायाका रूपमा रहेको सरकारको समर्थन नगर्दा नै राम्रो हुन्छ,’ गच्छदारको भनाइ थियो

प्रदेश १ र बागमती प्रदेशमै नेकपाका प्रचण्ड–नेपाल समूहले ओलीनिकट मानिने मुख्यमन्त्रीविरुद्ध अविश्वासका प्रस्ताव दर्ता गराएका छन् । नेकपामा आएको विभाजनपछि प्रदेशको सत्तासमीकरणमा कांग्रेसको भूमिका बढेको छ । नेकपाको दुवै समूहले प्रदेशको सत्तासमीकरणमा कांग्रेसँग सहकार्यको प्रस्ताव गरेका छन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले ओलीको कदमविरुद्ध कांग्रेस सडकमा रहेकाले प्रदेश सरकारमा ओलीसँग सहकार्य गर्न नहुने बताएका थिए । ‘एकातर्फ हामी ओलीको कदमविरुद्ध सडकमा छौँ । अब ओली खेमाकै सरकारको पक्षमा उभिँदा राम्रो म्यासेज जाँदैन । अविश्वासको प्रस्तावका पक्षमा उभिनुपर्छ,’ सिटौलाले छलफलमा भने।

केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले पनि अविश्वासको प्रस्तावका पक्षमा उभिनुपर्ने धारणा राखेका थिए । केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने अविश्वासको प्रस्तावमा उभिने र आफ्नै नेतृत्वमा सरकार बनाउने गरी रणनीति तयार गर्नुपर्ने बताएका थिए।

 देउवापक्षीय नेता भीष्मराज आङ्देम्बेले समेत अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्नुपर्ने बताएका थिए । ‘अविश्वासको पक्षमा उभिनुपर्छ । केपी ओलीको कदमविरुद्ध हामी सडक संघर्षमा छौँ । त्यसैले सत्ताको पक्षमा उभिन हुँदैन,’ उनले भनेका थिए, ‘एकातर्फ संघर्ष गर्ने, अर्कोतर्फ केपी ओली समूहकै सरकारलाई बचाउन दोहोरो चरित्र हामीले देखाउन हुँदैन।’

छलफलमा कुनै निष्कर्ष भने ननिस्कएको केन्द्रीय सदस्य घिमिरेले बताए । ‘प्रदेश ३ सरकारको विषयमा पनि छलफल गर्नुपर्ने अवस्था छ, प्रदेश १ को हकमा मात्रै होइन, सबै प्रदेशलाई लागू हुने गरी एउटै नीति तयार गरेर त्यहीअनुसार जाऔँ भन्ने प्रस्ताव नेताहरूले सभापतिजीसँग राख्नुभएको छ, यसबारे थप छलफल हुन्छ,’ उनले भने।

छलफलमा नेताहरूले ओली समूहसँग खुलेरै सहकार्य गर्न नसकिने प्रस्ताव गरेका नेताहरूले प्रचण्ड–नेपालसँग नै सहकार्य गर्नुपर्ने विषयमा पनि प्रस्ट धारणा भने राखेका छैनन् । अहिले अविश्वासको प्रस्ताव दर्ता भइसकेको प्रदेश १ र बागमतीमा कांग्रेसको भूमिका निर्णायक हुने भएकाले दुवै प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाएर जानुपर्ने प्रस्तावसमेत उठेको केन्द्रीय सदस्य घिमिरेले जानकारी दिए।

‘यसबारे थप छलफल शुक्रबार या आगामी केन्द्रीय समितिमा होला, सभापतिजीले थप परामर्श लिने भन्नुभएको छ,’ नेता घिमिरेले भने।
तर, सहमहामन्त्री डा.प्रकाशशरण महत भने पार्टीले उपयुक्त समयमा निर्णय लिने बताउँछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .