छापा खबर


शीतलहर पीडित गरिब भन्छन्-अब भोट माग्न आए दुबै औँठाको छाप!

शीतलहर पीडित गरिब भन्छन्-अब भोट माग्न आए दुबै औँठाको छाप!

नेपालखबर
माघ ४, २०७७ आइतबार १:३६,

सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्।

तिनैमध्ये एक हुन्, लक्ष्मीनिया मण्डवानन्कारकट्टी गाउँपालिका–४ की सुकुमबासी ७० वर्षीया लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्मागर्मीभन्दा पनि भ्वाङ परेकोे ओढ्ने कम्बलको चिन्ताले सताएको छ। पुस लागेसँगै बढेको चिसो र एक सातादेखि परेको शीतलहरले कठ्यांग्रिएर मरिन्छ कि भन्ने डरले उनलाई सताएको हो।

‘गुर्दी (फाटेको लुगा जोरजार पारेर बनाइएको ओढ्ने) आइढ क जार काटैत एल छेली तेसरा साल सरकार कमर देलक (गर्दी ओढेर जाडो काट्दै आएको हामीले तीन वर्षअघि कम्बल पाएका थियौं),’ उनले भनिन्, ‘अखनी ओही कमरमे भुरेभुर भक फाइट गेलै (अहिले त्यही कम्बल भ्वाङै भ्वाङ भएर फाटेको छ)।’

जाडोका कारण कष्टकर जीवन बाँचिरहेको यहाँको विपन्न वर्गलाई मनकारीले तीन वर्षअघि कम्बल बाँडेका थिए। अहिले तिनै कम्बल ओढ्नै नमिल्ने गरी फाटेका छन्। कम्बल मात्र होइन, लक्ष्मीनियाको मन पनि फाटेको छ।

उनी भन्छिन्, ‘अतके सरकारके अपना स उबारे नै होइछै त गरिबके कथी देतै, भोट लैला एतै त दुनु औठा बाइर देबै (यहाँको सरकारलाई हामी गरिबको कष्ट बुझ्ने फुर्सद कहाँ छ, अब भोट माग्न आए दुवै औठाले छाप लगाइदिउँला)।’ यो खबर आजको नागरिक दैनिकमा सिरहाबाट मिथिलेश यादवले लेखेका छन्।

मनकारीले दिएको कम्बलको तातोमा धेरै रात काटेकी उनले भनिन्, ‘अखनी कमरसँगे मनो फाइट गेल अछि (अहिले कम्बलसँगै हाम्रो न्यानो मात्र होइन मन पनि फाँटेको छ)।’

लहरै तीनवटा छाप्रोमा आफ्नो गरिबीलाई ओत लगाएका छन् लक्ष्मीनिया, प्रमिला र गुलावदेवी मण्डलले। ओढ्नेको अभावमा आगो तापेर रात कटाउने गरेको बताउँछन् उनीहरू। बगैंचाबाट बढारेर ल्याएको पातपतिङ्गर बालेर आगो ताप्न बाध्य लक्ष्मीनिया भन्छिन्, ‘धैनके भगवान् जे जान बचल छैन (धन्न भगवान् छ र हाम्रो ज्यान बाँचेको छ)।’

भूमिहीन सुकुमबासी गुलावदेवी यस टोलकी एकल महिला हुन्। गरिबीका कारण उपचार गराउन नसक्दा उनले कलिलै उमेरमा पति राजनलाई गुमाइन्। राजनको तीन वर्षअघि मृत्यु भयो। उनको घरमा कमाउने कोही छैनन्। पाँच वर्षीय छोरा दुर्गेशको दायाँ हात चल्दैन।

उनी भन्छिन्, ‘गरिब के जान भगवान् बचादेने छै (हामी गरिबको ज्यान भगवान्ले जोगाइदिएको छ)। कमाएर–मागेर ल्याएको अन्नबाट साँझबिहान खाइन्छ। काम नपाएको दिन चुलो बल्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad