छापा खबर


नेकपा विभाजन : स्थानीय तहका जनप्रतिनिधिको पद के हुन्छ?

नेकपा विभाजन : स्थानीय तहका जनप्रतिनिधिको पद के हुन्छ?

नेपालखबर
पुस २०, २०७७ सोमबार ०:१,

नेकपाको (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला पुगेर आफूहरूले नेतृत्व गरेको नेकपा मूल पार्टी भएको दाबी गर्दै स्थानीय जनप्रतिनिधिलाई भने, ‘तपाईंंहरूले आचरणअनुसार काम गर्नुभएन भने मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष वा उपाध्यक्षबाट पार्टीले हटाउन सक्छ।’

नेता भट्टराईले शनिबार झापामा आयोजित कार्यक्रममा बोल्दै संस्थापनतिर नलागे स्थानीय तहका जनप्रतिनिधिसभा पद नै धरापमा पर्ने बताए।

‘म स्थानीय तहका जनप्रतिनिधि साथीलाई भन्न चाहन्छु, पार्टी विभाजन भयो भने तपाईं कुन पार्टीको हो? सूर्य चिह्न हामीसँग हुन्छ, पार्टीको नाम हामीसँग हुन्छ, हँसिया–हथौडा चिह्न हामीसँग हुन्छ,’ भट्टराईले भने, ‘तपाईंले दलसम्बन्धी कानुन पढ्नुभएको छैन भने स्थानीय तहका साथीहरू गएर पढ्नुहोला । यदि तपाईंले दलको आचरणविपरीत काम गर्नुभयो भने पार्टीले हटाउन सक्छ । पार्टी सदस्यबाट मात्रै होइन, फलाना ठाउँको मेयरबाट, फलाना ठाउँको गाउँपालिकाको अध्यक्षबाट पनि हटाउन सक्छ।’

नेकपाको आधिकारितालाई लिएर निर्वाचन आयोगमा दुवै पक्षका दाबी छन् । तर, भट्टराईले विभाजनमा ओली समूहमा लागेका जनप्रतिनिधिको पद धरापमा पर्न सक्ने चेतावनी दिए । ‘तपाईं सूर्य चिह्नबाट लडेको हो भने सूर्य चिह्नको पार्टीमा आउनुस् । होइन, हामी भड्खालोमा जान्छौँ भन्नुहुन्छ भने जानुस् । तपाईंको ठाउँमा उपमेयर होलान्, उहाँले गरिहाल्नुहुन्छ नि १ तपाईंको ठाउँमा उपाध्यक्ष होलान्, उहाँले गर्नुहुन्छ नि १ त्यो पनि हुनुभएन भने सिनियर वडाध्यक्ष उम्मेदवार छन्, के फरक पर्छ १’ भट्टराईले चेतावनी शैलीमा भने, ‘तर, यो कानुन तपाईंहरू धेरैलाई थाहा छैन है । आजै गएर पढ्नुहोला । मैले धम्की दिएको होइन, सम्झाएको हुँ । मेरो दायित्व तपाईंहरूलाई सम्झाउने हो । कतिपय ठाउँमा उपमेयर साथी तयार भएर बस्नुस्, मेयर हुँदै हुनुहुन्छ छिटै।’

भट्टराईको यो अभिव्यक्तिले झन्डै डेढ वर्ष कार्यकाल बाँकी रहेका स्थानीय जनप्रतिनिधि पद सुरक्षाको बहस सिर्जना गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा किरण दहालले लेखेका छन्।

नेकपा विभाजन हुँदा स्थानीय तहका जनप्रतिनिधिको हैसियत के हुने भन्न प्रश्न उठेको छ । कानुनविद् खिमलाल देवकोटा पार्टी विभाजित हुँदा स्थानीय पदाधिकारीको पद खुस्किन सक्ने देख्छन् । उनको भनाइ छ, ‘पहिलो कुरा पार्टी एकात्मक छन्, संघात्मक छैनन् । त्यसो भएको हुनाले केन्द्रमा पार्टी फुटेपछि तलसम्मै पार्टी फुट्छन् । केन्द्रमा आधिकारिकता जसले पाउँछ उसका पक्षमा भएको स्थानीय तहदेखि प्रदेशसम्मको प्रतिनिधि कायम हुन्छन्, बाँकी जान्छन् । जुन पार्टीबाट टिकट लिएर चुनाव लडेर जितेको हो त्यो पार्टी परित्याग गरेमा वा त्योसम्बन्धी पार्टीले निष्कासन गरेमा निर्वाचित पदसमेत जान्छ भन्ने व्यवस्था छ।’

राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ६ मा दल त्यागसम्बन्धी व्यवस्था छ । यस ऐनको दफा ३१ (१) मा छ, ‘कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्नेछैन ।’

दल त्याग के हुन्छ भन्नेबारेमा दफा ३१ (२) मा छ, ‘उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ।’

राजनीतिक दलसम्बन्धी ऐनकै दफा ३२ मा कस्तो अवस्थामा दल त्याग गरेको मानिने भन्ने सन्दर्भ व्याख्या छ । ३२ (१) ले भन्छ, ‘देहायको अवस्थामा सदस्यले दल त्याग गरेको मानिनेछ-(क) निजले सम्बन्धित दलको सदस्यबाट लिखित रूपमा राजीनामा दिएमा, (ख) निजले अर्को दलको सदस्यता लिएमा वा (ग) निज आफैँले वा निजसमेत संलग्न भई अर्को दल गठन गरेमा।’

निर्वाचन आयोगका एक अधिकारीले भने, ‘अहिले पार्टी फुटिसकेको अवस्था छैन । पार्टी फुटेपछि त्यहाँको पदाधिकारी कता लाग्छन् भन्ने उनीहरूमा भर पर्ने भयो । उनीहरू लागिसकेपछि पार्टीको हैसियतमा रहने कि नरहने त्यो पार्टी बैठकले निर्धारण गर्छ । उनीहरूको पद स्वतन्त्र भए पनि, पार्टी परिवर्तन गरे पनि आयोगले हटाउने, खारेज गर्ने सन्दर्भ होइन । पार्टी परिवर्तन गरेको हकमा पनि आयोग आफैँले खारेज गर्दैन उसको पद । पार्टी परिवर्तन गर्दाचाहिँ सम्बन्धित पार्टीले हाम्रो पार्टीको मान्छे अर्कोमा गयो र यो–यो नियमअनुसार हटाइदेऊ भनेर विधिवत् रूपमा आएपछि मात्रै हटाउने हो।’

पार्टी फुटे पनि स्थानीय पदाधिकारीलाई असर नपर्ने एक पूर्वनिर्वाचन आयुक्तले बताए । उनले भने, ‘माथि फुट्दा तलैसम्म फुट्छ । स्थानीय तहका पदाधिकारीको पद जाँदैन । पार्टी परिवर्तन ग¥यो भने पद जान्छ । तर, निर्वाचन आयोगबाट नै दलको मान्यता प्राप्त गरेर दुई भागमा बाँडिसकेपछि आ–आफ्नो दलमा जान पाउँछन् । पद त रहिरहन्छ, दल विभाजन भएर फरक पर्दैन।’

०७४ को निर्वाचन परिणामअनुसार नेकपाका स्थानीय तहमा १९ हजार पाँच सय ४० पदाधिकारी छन् । स्थानीय चुनावमा तत्कालीन एमाले र माओवादी भिन्दाभिन्दै लडेका थिए । उनीहरूबीच ३ जेठ ०७५ मा पार्टी एकीकरण भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad