छापा खबर


यस कारण निरास भएर फर्कियो चिनियाँ टोली

यस कारण निरास भएर फर्कियो चिनियाँ टोली

नेपालखबर
पुस १६, २०७७ बिहिबार १:५३,

चिरिएको नेकपालाई ‘जोड्न’ हौसिएर आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विशेष टोली निराशाजनक सन्देश लिएर बुधबार बेइजिङ फर्किएको छ।

चारदिने नेपाल बसाइका क्रममा टोलीले नेकपा मिलाउने हरतरहका प्रयास गर्‍यो। तर, दुवै खेमाका शीर्ष नेताले मिल्नेभन्दा फुटको कारक एकअर्कालाई देखाएर पन्छिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्।

जाँदाजाँदै टोलीले दुवै पक्षलाई मेलमिलापको सानो सन्देश भने दिएको छ, ‘तत्काल नमिले पनि प्रतिनिधिसभा पुनःस्थापना भएन र निर्वाचनमा जाने अवस्था आयो भने सहकार्य गर्नोस्। नत्र नेपालबाट कम्युनिस्ट शक्ति लामो समयका लागि पछाडि धकिएला।’

नेकपाकोे आन्तरिक कलहले प्रतिनिधिसभा विघटन भएको र पार्टीसमेत दुई चिरा भएको उनीहरूको ठम्याइ छ। प्रतिनिधिसभा विघटन र नेकपामा आएको फुटले नेपाललाई थप अस्थिरतातर्फ धकेल्नेमा कुनै सन्देह नरहेको चिनियाँ पक्षको बुझाइ रह्यो। सोही ठम्याइ लिएर चिनियाँ टोली फर्किएको विश्लेषकहरूले बताएका छन्।

कुनै पनि बहानामा नेकपालाई फुट्न दिन नहुने चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली आइतबार काठमाडौं ओर्लिएको थियो। उपमन्त्री येचौले शीर्ष नेताहरूलाई थप विभाजित नहुन आग्रह गर्दै निर्वाचन जित्न मिलेर जानुको विकल्प नरहेको बताएका थिए।

चिनियाँ टोलीले नेकपाका दुवै खेमाका अध्यक्ष सहितका शीर्ष नेताहरूसँग छलफल गरेको थियो। उपमन्त्री येचौसँगको छलफलमा दुवै खेमाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटन र नेकपा विभाजनको प्रमुख दोषी एकअर्कालाई देखाए। उपमन्त्री येचौ नेतृत्वको टोलीले दुवै खेमाका प्रभावशाली नेतालाई भेटी प्रतिनिधिसभा पुनःस्थापना र नेकपालाई फुटबाट जोगाउन सकिने सम्भावनाका विषयमा गहन छलफल गरेको थियो।

चिनियाँ टोलीले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र उनी समूहका नेता विष्णु पौडेल, सुवासचन्द्र नेम्बाङलगायतसँग छलफल गर्‍यो। अर्को खेमाका अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतसँग पनि भेट्यो।

सम्पूर्ण भेटपछि नेकपाभित्रकै किचलोका कारण यो अवस्था आएको र तत्काल नेकपा एक हुन नसक्ने निष्कर्षमा पुगेको निकट स्रोतले जनायो। पुनः एकताको आशालाग्दो ठाउँ नपाएपछि येचौ नेतृत्वको टोलीले दोस्रो वरीयताका नेताहरूसँग निर्धारित भेटघाट कार्यक्रम रद्द गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad