ad ad

छापा खबर


जसले दिन्छ भूकम्प आउनुपहिल्यै सूचना

जसले दिन्छ भूकम्प आउनुपहिल्यै सूचना

नेपालखबर
साउन १८, २०७६ शनिबार ३:४२,

बाँकेका कोहलपुर र वैजनाथवासीले भूकम्प जान लागेको सूचना पाउने भएका छन्। भूकम्पको पूर्वसूचना दिने सेन्सर मुलुकमै पहिलो पटक दुवै स्थानीय तहका ६/६ स्थानमा जडान गरिएको छ।

‘सेन्सरले भूकम्प आउनुभन्दा ५० सेकेन्डअगावै जानकारी दिन्छ’, ताइवानको नेसनल साइन्स एन्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसीडीआर)का महासचिव डब्लू लीले भने, ‘यस्तो जानकारी भूकम्पको इपिसेन्टरको दूरीमा निर्भर हुन्छ। इपिसेन्टरमै रहेको सेन्सरले भने भूकम्पबारे पूर्वजानकारी दिन सक्दैन। यो सूचनाका आधारमा व्यक्तिले सावधानी अपनाउन सक्छ।’

भूकम्प आउनुभन्दा पहिले इपिसेन्टरको दूरीका आधारमा २० देखि ५० सेकेन्डको बीचमा सेन्सरले जानकारी दिँदै साइरन बजाउने कोहलपुर नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन अग्नि आचार्यले बताए। ‘३ रेक्टर स्केलभन्दा माथिको भूकम्पका बेला मात्र साइरन बज्नेछ’, फोकल पर्सन आचार्यले भने, ‘हामी घना बस्ती भएका स्थानमा साइरन फिट गर्दै छौं। सर्वसाधारणले मोबाइल एपमार्फत पनि भूकम्पको सूचना पाउनेछन्।’

महासचिव ली स्थानीय जनप्रतिनिधि तथा कर्मचारीलाई विपद् जोखिम व्यवस्थापन कार्ययोजना निर्माण तालिम दिन आएका हुन्। सेन्सर जडान गर्न एनसीडीआरले आर्थिक सहयोग गरेको छ।

वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) बाँकेले यसमा समन्वय गरेको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा शंकरप्रसाद खनालले लेखेका छन्।

पूर्व–पश्चिम राजमार्गको उत्तर–दक्षिणमा रहेका यी दुई स्थानीय तह भूकम्पीय दृष्टिले जोखिमपूर्ण मानिन्छन्। विपद् व्यवस्थापन विज्ञ गोविन्द वाग्लेका अनुसार पोखराबाट पश्चिममा चुरे भावर क्षेत्रको दक्षिणमा ५ सय वर्षभन्दा लामो समयदेखि ठूलो भूकम्प आएको छैन।

‘जति धेरै ठूलो भूकम्प गयो। त्यो ठाउँमा जोखिम कम हुँदै जाने हो’, उनले भने, ‘पश्चिम क्षेत्रमा ठूलो भूकम्पै नआएकाले शक्ति सञ्चय भएको छ। जुनसुकै बेला भूकम्प जाने खतरा हुन्छ। इपी सेन्टर जहाँ पनि पर्न सक्छ।’

कोहलपुर नगरपालिकाका तीन वडा कार्यालय, दुई विद्यालय र एक मध्यवर्ती सामुदायिक वन अनि वैजनाथ गाउँपालिकाका सामुदायिक विद्यालय र सार्वजनिक स्थलमा सेन्सर राखिएको छ। यसले हावापानीको अवस्था पनि मापन गर्छ।

कोहलपुर र वैजनाथ गाउँपालिकाका बासिन्दाले जल तथा मौसम विज्ञान विभागको तथ्यांक पर्खिनु पर्दैन। कति वर्षा हुँदा मान खोलामा बाढी आउँछ भन्ने पूर्वसूचना सेन्सरबाटै थाहा हुनेछ। कति वर्षालाई खतराको संकेत मान्ने भन्ने सेटिङ गरेपछि भारी वर्षा हुँदा र ठूलो हावा चल्दा सेन्सरले साइरन बजाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .